बुद्ध पोखरा नेपालगन्ज उड्ने

समाधान संवाददाता २०७८ साउन ८ गते २२:०५

पोखरा, ८ साउन
बुद्ध एयरले १७ साउनबाट पोखरा–नेपालगन्ज सीधा उडान गर्ने भएको छ । सुरूआतमा साताको तीन दिन, आइतबार, बुधबार र शुक्रबार उडान भर्ने कम्पनीले जनाएको हो । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलोपटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो ।

बुद्धले पोखराबाट बिहान ९ बजेर १० मिनेटमा र नेपालगन्जबाट पोखरा १० बजे उडान भर्नेछ । बुद्ध एअरले कोरोना महामारी रोकथामका लागि संक्रमण रहित उडानमा प्रतिबद्ध रहेको जनाएको छ । कोरोना फैलिन नदिन बुद्धले यात्रुको सुरक्षाको लागि ‘कोभिड विरुद्ध सुरक्षा निर्देशिका’ पालना र पिपिई अनिवार्य गरेको छ । त्यस्तै, जनशक्तिलाई नियमित तालीम दिइँदै आएको जनाएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले पोखरा, नेपालगन्ज दुवै गन्तव्यका लागि ‘होलिडी प्याकेज’ पनि ल्याउने तयारी गरेको छ । बुद्ध एअरसँग हाल ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।
उडानबाट दुवै सहरका जनता लभान्वित हुनेछन् । उडानबाट यी दुवै ठाउँको पर्यटकीयस्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताएका छन् ।

Advertisement

उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने विश्वास छ ।

साथै, नेपालगन्जका बासिन्दा पनि पर्यटकीय सहर पोखरा तथा वरिपरिका तालतलाउ तथा हिमाल शृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट नेपालगन्जनजिक रहेका भारतीय सहरहरू लखनउ, कानपुर लगायत गन्तव्यका पर्यटक पनि लाभान्वित हुने बुद्ध एयरले जनाएको छ ।

Advertisement

केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयरले जनाएको छ । पछिल्लो समय बुध्द एयरले काठमाडौं केन्द्रित उडानलाई क्रमशः प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया