नयाँबजारमा युवा संघ गण्डकी कार्यालय

समाधान संवाददाता २०७८ साउन ९ गते १९:१३

पोखरा,९ साउन
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले शनिबार पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रअगाडि कार्यालय खोलेको छ ।

२०७७ फागुन १२ गते कमिटी निर्माण भएपछि युवा संघले पहिलोपल्ट प्रदेश स्तरको कार्यालय खोलेको हो । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालय उद्घाटन गरे । नेता गुरुङले युवा परिचालन, संगठन निर्माण र व्यवस्थापन गरी मातृ पार्टीलाई स्थापित गर्न लाग्न निर्देशन दिए ।

हरेक राजनीतिक आन्दोलनमा युवा अग्रमोर्चामा खटिएको उल्लेख गर्दैे नेकपा (एमाले) गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका गुरुङले देशको युगान्तकारी परिवर्तनमा युवाको उल्लेखनीय योगदान रहेको चर्चा गरे ।

Advertisement

नेपालका अरु पार्टीले नेकपा एमाले जस्तो पार्टी बनाउने अपेक्षा राख्ने गरेको स्मरण गर्दै उनले सबैको अनुकरणीय पार्टीलाई आन्तरिक संकटमा पारेर राष्ट्रिय राजनीतिलाई अन्यत्र मोड्ने प्रयास भएको दाबी गरे । उनले आम युवालाई रचनात्मक तवरले वर्तमान राजनीतिक चलखेलको प्रतिकार गर्नसमेत सुझाए ।

‘सभ्य समाज निर्माणमा लाग्ने युवा आफै शिष्ट र अनुशासित बन्नु पर्छ,’ उनले भने, ‘युवा शत्रुका लागि आगोको झिल्को र सिंह जस्ता शक्तिशाली बन्न र जनताका लागि घाम जस्तो चम्किलो बन्नुपर्छ ।’ नेता गुरुङले राष्ट्रिय राजनीतिक मूल्यांकनमा नेपालका ७ प्रदेशमध्ये गण्डकी प्रदेश सरकार १ नम्बरको भएको दाबी गरे ।

Advertisement

पार्टीको गण्डकी प्रदेशसमेत व्यवस्थित रुपमा चलेको उल्लेख गर्दै उनले पार्टीको मार्ग निर्देशन अनुसार युवा संघलाई सबै प्रदेश कमिटीभन्दा अब्बल बनाउन सुझाव दिए । फरक प्रंसगमा नेता गुरुङले नेपाली कांग्रेसलाई भोको बाघको संज्ञा दिए । उनले कांग्रेसले शासन सत्ता चलाएपछि विकास, निर्माणको काम ठप्प भएर भ्रष्टाचारको युग सुरु हुने दाबी गरे ।

गण्डकी प्रदेश सरकारले कांग्रेसका जिल्ला सभापतिलाई बोलाएर १६ करोड रुपैयाँ रकमान्तर गरेको दाबी गरे । कांग्रेस र माओवादीको गठबन्धन १ सय दिन पनि नटिक्ने दाबी गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउन नसकेर अर्को खिलराज जन्मन सक्ने अनुमान गरे ।

उनले प्रधानन्यायाधीश चेलेन्द्रशम्शेरको पुत्ला जलाउने भन्दा पनि सर्वोच्चले गरेको संविधानको अपव्याख्या, संसदीय शासन व्यवस्थाका खिलाफको सैद्धान्तिक चिरफार गर्दै जनतासमक्ष जाने बताए ।

वर्ग शत्रु नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई मात हाल्ने प्रचण्ड र मोहनविक्रम सिंहलाई प्रतिगमनकारीको संज्ञा दिँदै नेता गुरुङले आफ्नै पार्टीको प्रगतिशील सरकार गिराएर वर्ग शत्रु पार्टीका नेतालाई भोट दिने सांसदलाई गल्ती स्वीकार गरेर आए एकीकृत पार्टी निर्माणमा सामेल गरिने जनाए ।

युवा शत्रुका लागि आगोको झिल्को र सिंह जस्ता शक्तिशाली बन्नुपर्छ
पृथ्वीसुब्बा गुरुङ, एमाले सचिव

एमाले कास्की अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले सवै युवालाई संगठित गर्दै पाार्टीको नीति तथा योजनालाई जनतासमक्ष पु¥याउन निर्देशन दिए । भ्रष्टाचार, कमिशनतन्त्र, संघीयता र गणतन्त्रको विरुद्धमा हुने गतिविधि भण्डाफोर गर्न आग्रह गर्दै उनले पार्टीभित्रका अराजक तथा अवसरवादी विरुद्ध लागेर सिंगो पार्टीलाई एकताबद्ध गर्न आग्रह गरे ।

राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले संगठनलाई चुस्त, दुरुस्त र गतिशील बनाएर आम युवाको आसा र भरोसाको केन्द्र बनाउन सुझाव दिए । उनले हरेक पार्टी कमिटीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे ।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले संगठन विस्तार र आन्दोलनको कार्ययोजना निर्माण गर्ने बताए । उनले सिरानीमुनि राखेको खुकुरी जस्तो युथ फोर्सलाई ब्यूताउने घोषणा गरे । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङले गण्डकी प्रदेशमा १५ हजार युवालाई संगठित गरेर युवा संघलाई सशक्त बनाउने घोषणा गरे ।

युवा भेला आन्दोलन लगायतका रचनात्मक काम गरेर धेरै युवालाई संघमा आकर्षित गर्ने योजना सुनाउँदै उनले संघमा संगठित युवाको धेरै विकल्प भएकाले कोही निरास हुने अवस्था नभएको दाबी गरे । संघले बन्द, हडताल तथा टायर बाल्ने काम नगर्ने जानकारी दिँदै उनले पर्यटकीय सहर पोखरामा नकारात्मक सन्देश जाने कार्यक्रम नगर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा युवा संघ नेपालका स्थायी कमिटी सदस्यहरु हरि लम्साल र विकास अधिकारी, युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया