सम्पादकीय-अक्सिजन प्लान्ट दिनेलाई साधुवाद

समाधान संवाददाता २०७८ साउन ११ गते १४:५५

कोभिड १९ को दोस्रो लहर सुरु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकै दिन ६ जनाले ज्यान गुमाएका थिए । त्यो जेठ २० गतेको घटना हो । उक्त घटनालाई लिएर नेपाल सरकार संवेदनशील भएन । प्रदेश सरकारले केही गर्न सकेन । अस्पतालका पदाधिकारी स्वयं अनेक तर्क गरेर घटनामा आफूहरुको कमजोरी नरहेको प्रष्टीकरण दिनमात्रै लागे ।

त्यसपछि पनि कुनै पहल कदमी लिएनन् । तर विदेशमा बस्ने नेपालीहरुको एउटा समूहलाई निकै छोयो । उनीहरुको मुटुमात्रै दुखेन, साँच्चीकै केही गर्ने आँट गरे । र अक्सिजन प्लान्ट किनेर यो अस्पताललाई पठाएका छन् । नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि ठूलो क्षमताको अक्सिजन प्लान्ट पठाएको छ ।

जुन शनिबार अस्पताललाई हस्तान्तरणसमेत भयो । मञ्चका हङकङ अध्यक्ष भक्त गुरुङले प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको रोहबरमा प्लान्ट अस्पताललाई सुम्पिए । हस्तान्तरणपछि भक्तले जे भने त्यो साह्रै मर्मस्पर्शी कुरा थियो ।

Advertisement

उनले नेपाल र नेपालीको दुखमा हामी साथै छौं भन्ने सन्देश दिन चाहेको उनले सुनाए । हो, धेरै आपतविपतमा विदेशका नेपालीले यसरी नै नेपाल र नेपालीलाई अनेकखाले सहयोग गर्दै आएका छन् । त्यसैमध्येको एउटा उदाहरणीय पुण्यकर्म अक्सिजन प्लान्ट हो ।


४० देशमा छरिएको छ, एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्च । ती सबै देशका पदाधिकारी, सदस्य र शुभेच्छुकबाट पैसा संकलन गरी प्लान्ट किनिएको मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले बताएका छन् । पोखरा स्थायी घर भएका बेलायत बस्ने अध्यक्ष भक्त गुरुङका अनुसार पूर्वमुख्यमन्त्री गुरुङको समेत विशेष पहलले प्लान्ट पोखरा ल्याउन सम्भव भएको हो ।

Advertisement

सरकारका अधिकारीहरु भने प्लान्ट काठमाडौंमै राख्ने योजनामा थिए । काठमाडौंमा हुनु पनि नेपालकै लागि हो, तर गण्डकी प्रदेशको राजधानीलाई स्वास्थ्यमा सुविधा सम्पन्न गराउनचाहिँ त्यो मेसिन पोखरामा आइदिनु सुखद हो । प्रवासी नेपाली मञ्च वास्तवमा राजनीतिक संगठन हो । थुप्रै देशमा नेपालीका अरु पनि संघसंस्था खुलेका छन् । तिनको बिडम्वना के छ भने नेपालमा जस्तै त्यहाँ पनि नचाहिँदो मात्राको राजनीति हुन्छ ।

तर राजनीतिक आस्थाकै आधारमा खुलेको संस्था प्रवासी नेपाली मञ्चले राजनीतिका नाममा केवल भाषणमात्रै गर्ने राजनीतिभन्दा माथि आफूलाई उठाएको छ, त्यो साँच्चीकै अनुकरणीय छ । आखिर राजनीतिको मुख्य मक्सद सेवा हो । मञ्चले सेवालाई प्राथमिकता दिएर जसरी अक्सिजन प्लान्ट पठायो यो अरु संघसंस्थाले मात्रै होइन नेपालका राजनीतिक दल र तिनका नेताहरुले प्रेरणा लिनुपर्ने पाठ हो ।
दिनमै २०० सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट चीनमा बनेको भए पनि जर्मनी प्रविधिको हो ।

जसमा बुस्टर पनि छ र त्यसबाट सिलिन्डर भर्न पनि मिल्छ । क्षेत्रीय अस्पतालका बेडबेडमा सिधै अक्सिजन आपूर्ति गर्नुको साथै सिलिन्डर भरेर अरु सरकारी अस्पतालमा पनि पठाउन मिल्छ । आफैंले अक्सिजन प्लान्ट किन्न गरेर प्रक्रियाको बारेमा अस्पताल प्रशासन तातेन । पोखराको निजी क्षेत्रले समेत यो अस्पताललाई प्लान्ट किन्ने अभियान चलायो । त्यो पनि प्रशंसनीय कर्म हुँदै हो । त्यसअघि भने मञ्चले पठाएको प्लान्ट आइपुग्यो ।

मञ्च र त्यसमा आवद्ध नेपालीले जुन दुखले प्लान्ट पठाएका छन्, त्यसको हेरचाह र रेखदेख राम्ररी गरी बिरामीको सेवामा लगाइदिनु अस्पतालको धर्म हो । शंका छ कि एमआरआई र सिटी स्क्यान मेसिन बेलाबेला बिग्रने वा बिगारिने गरी बिरामी अन्त धाउनुपरे जस्तै अक्सिजन प्लान्ट पनि छिटै बिग्रेर वा बिगारेर बिरामीले दुख पाउने अवस्था नआओस् । फेरि पनि प्रवासी नेपाली मञ्चलाई साधुवाद ।

अस्पतालका अधिकारीहरुलाई बिरामीको हितमा अक्सिजन प्लान्ट वर्र्षाैं प्रयोगमा ल्याउने सफलता मिलोस् भन्ने शुभकामना ।

तपाईको प्रतिक्रिया