पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई मागे खोप

समाधान संवाददाता २०७८ साउन १४ गते १४:०३

समाधान संवाददाता
पोखरा- पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी, व्यवसायीलाई कोभिड १९ खोपको प्राथमिकताको सूचीमा राख्न पुनः गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग सम्पर्क हुने व्यवसायी खोपबाट बञ्चित हुँदा संक्रमण फैलन सक्ने खतराप्रति सचेत रहन पनि प्रदेश सरकारलाई संघले अनुरोध गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष पोखराको पर्यटनसहित समग्र व्यवसाय जोगाउने दायित्व सरकारकै भएको स्मरण गराएको छ । टोलीले व्यवसायीले खोप पाउँदा अर्थतन्त्र उकालो लाग्ने जिकिर पनि गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ ।
ज्ञापनपत्र बुझेसँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताए । ‘सरकारको पहिलो प्राथमिकता खोप नै हो, प्रदेश सरकारले खोपकै लागि बजेट पनि विनियोजन गरेको छ,’ मुख्यमन्त्री नेपालीले भने, ‘तर, प्रदेश तहबाट खोप खरिदको बाटो नखुल्दा र खोपको मात्रा केन्द्रले नै तोक्ने हुँदा सबैलाई समयमा खोप दिन नसकिएको हो ।’
उनले केन्द्र सरकारसँग केही बढी खोप मागिएको जानकारी दिँदै पर्याप्त खोप आउनासाथ प्राथमिकता तोकेर सबैलाई खोप दिने आश्वासन दिए । कोभिड महामारीमा व्यवसायीसँगै प्रदेश सरकार पनि रहेको बताए ।
गण्डकीका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले व्यवसायीका लागि खोप दिने कार्य सुरु गर्नेतर्फ प्रदेश सरकारले पहल गरेको जानकारी दिए । खोप प्राप्त भएपछि अर्थतन्त्रले गति लिन्छ भन्नेमा प्रदेश सरकार सहमत भएको उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले प्रधानमन्त्री शेरबहादुृर देउवाले खोपलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताउँदै यथासक्य छिटो व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले व्यवसायीका लागि निश्चित मात्रामा खोप छुट्याएर पोखरा प्रदर्शनी केन्द्रमै खोप लगाउने व्यवस्था मिलाउन पनि सुझाए ।
हरेक कुराका लागि केन्द्र सरकार गुहार्नुपर्ने प्रवृत्ति अन्त्य गराउनु प्रदेश सरकारको दायित्व भएको बताउँदै उनले खोपका लागि नजिकको सरकारसँग आग्रह गर्नु आफ्नो अधिकार भएको पनि स्मरण गरे । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले करदातालाई खोपको प्राथमिकतामा नराख्नु दुर्भाग्यपूर्ण भएको बताउँदै खोपको लागि प्रशासन गुहार्नुपर्ने बाध्यता हट्नुपर्ने माग गरे ।
बोर्डका अर्का पूर्वसदस्य बासु त्रिपाठीले सरकारले काठमाडौंवासीलाई खोपको प्राथमिकतामा राखेको र बाहिरका व्यवसायीलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको बताए । पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, पूर्वअध्यक्ष चिरञ्जिवी पोखरेल, पोखरा पर्यटन परिषद्का सचिव रामचन्द्र शर्मा, पोउवा संघका कार्यसमिति सदस्य लगायतले व्यवसायीका लागि कम्तीमा २० हजार डोज खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधि मण्डलमा पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्यद्वय भरत केसी तथा हिरामणि पण्डित सहित पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारी र सदस्य तथा पर्यटनसम्वद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया