पालिकाको ढिलासुस्तीले गाईपालनको डेढ करोड अनुदान फ्रिज

समाधान संवाददाता २०७८ साउन १५ गते २१:०९

एसके थकाली \ जोमसोम

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका ४ र ५ नम्बर वडाका पशुपालक किसानका लागि आएको उन्नत गाईपालन कार्यक्रमको डेढ करोड अनुदानको बजेट फ्रिज भएको छ ।चालु आर्थिक वर्र्ष २०७७÷०७८ का लागि संघीय सरकार अन्तर्गत राष्ट्रिय योजना आयोगले पठाएको बिशेष अनुदानको सो बजेट पालिकाले उन्नत गाई खरिद गर्न नसक्दा बजेट फ्रिज भएको हो ।

उन्नत गाईपालन कार्यक्रम मार्फत थासाङ गापा ४ र ५ का कुल ७५ घरधुरी स्थानीय किसानको जिवनस्तर उकास्ने उद्देश्यले संघीय सरकारले एक कृषक ,एक गाईपालन ’ कार्यक्रम अन्र्तगत सो बजेट पालिकालाई पठाईएको थियो । थासाङको ताक्लुङ,कुञ्जो ,झिप्रा देउराली,छयो, र टिटी गाउँका किसानलाई “एक कृषक , एक गाई’ पालन कार्यक्रम अन्तर्गत संघीय सरकारले बिशेष अनुदान स्वरुप उपलब्ध गराएको बजेट कार्यान्वयन हुन नसकेको हो ।

Advertisement

कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले सो बजेट पालिकालाई चौमासिक रुपमा भुक्तानी गराएपनि पालिकामा पशु प्राविधिक जनशक्तिको अभाव ,कोराना कहरका कारण लकडाउन ,हिमाली जिल्लाको भूगोल र हावापानी सुहाउँदो अनुकुल जर्सी गाई खोज्न नसक्दा पालिकामा आएको बजेट फिर्ता गएको हो । तर उन्नत गाईपालनका लागि ठुलो अनुदानको बजेट संघ सरकारबाट सोक्षेत्रका पशु कृषकलाई लक्षित गरिएपनि स्वंय कृषकले भने सो कार्यक्रम माग गरेका थिएनन् । कृषकले माग नगरेपनि पालिकामा आएको बजेट कार्यान्वयन हुन नसक्दा सोक्षेत्रका स्थानीय कृषक लाभान्वित हुनबाट बञ्चित हुनु परेको जनाईएको छ ।

थासाङका लागि आएको एक कृषक,एक गाई पालनको बजेट कार्यान्वयन गराउन उपाध्यक्ष बालकुमारी शेरचनको अध्यक्षतामा गाई छनौट समिति गठन समेत गरिएको थियो । पालिकालाई बार्षिक कार्यक्रम अन्र्तगत गाईपालनका लागि बजेट चौमासिक रुपमा उपलब्ध गराईपनि पालिकाले गाईपालन कार्यविधि बनाउन ढिलो गरेको थियो । तेश्रो चौमासिकमा आईपुग्दा थासाङले कार्यक्रम अघि बढाएको थियो ।

Advertisement

सरकारले उपलब्ध गराएको अनुदान प्राविधिक ब्यवहारिक र बैज्ञानिक मापदण्ड पूरा गर्न पालिकाले कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपंक्षि श्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालय काठमान्डौंमा लिखित प्राविधिक सल्लाह माग गरेको थियो । सो कार्यालयका वरिष्ठ पशुविकास अधिकृतसहितको टोलीले मुस्ताङमा उन्नत गाईपालनको बिषयमा लिखित प्राविधिक सुझाव दिएको थियो ।

पशुपंक्षि श्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालयले उच्चउचाईको हिमाली जिल्लामा गाईपालनको संम्भावनाका बिषयमा पालिकाले मागेको परामर्शका आधारमा सुझाव दिएको थियो । त्यसपछि पालिकाले गाई पालनका लागि टेन्डर आहवान गरेको थियो । पालिकाले प्रकाशित गरेको सूचनाका आधारमा कास्कीबाट ४ वटा र स्याङ्जाबाट एक गाईफर्म सुचिकृत भएका थिए ।
पालिकाले ढिलो गरी सूचिकृत गरिएका गाईफार्मको अवलोकन गरेपनि प्राविधिक मापदण्डमा तोकिए बमोजिमको जर्सी गाई फेला पर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष खत्रीले बताए ।“मुस्ताङमा गाईपालन कार्यक्रमको बजेट कार्यान्वयन गराउन हाम्रो पक्षबाट पनि केही ढिला भएकै हो, गाईपालनको कार्यविधि निर्मार्ण तथा अनुमोदनमा ढिलो भयो,“प्रशासकीय अधिकृत खत्रीले भने“ गाई खोज्न हामी ठाउँठाउँ चाहा¥यौ,तर मुस्ताङको भूगोल र हावापानी सुहाउँदो अनुकुलको जर्सी गाई फेला पार्न सकेनौं ।’
यस्तै ,थासाङ—५ का वडाध्यक्ष सोमल हिराचनले गाई खरित्न पालिकाले केही ढिला गरेको स्वीकार गरे ।“हामाीले सूचिकृत गरेका फार्ममा गाई हेर्न गयौं तर हामीलाई चाहिने गाई त्यहाँ उपलब्ध हुन सकेन ,यसमा हामी दुखी छौं ,वडाध्यक्ष हिराचनले थपे“ चैत बैशाखमै जानु पथ्र्यो तर हामी असारमा मात्र गाई खोज्न गयौं तर गाई पाउन सकेनौं ,समय बितिसकेको थियो ,अन्त खोज्न जाने समय पनि मिलेन ।’ उनले सूचिकृत गरेका फार्ममा होलस्टाईन गाई मात्र भेटिएको बताए ।
योजना कार्यान्वयनमा पालिकाको ढिलासुस्ती र उपयुक्त योजना छनौट गर्न नसक्दा पालिकामा आएको ठुलो बजेट कार्यान्वयन हुन नसकी फिर्ता गएको स्थानीय कृषक बताउँछन् । मुस्ताङमा संघीय सरकारको बिशेष अनुदान थासाङ गापाको मात्र कार्यान्वयन हुन नसकी फिर्ता गएको हो ।

तपाईको प्रतिक्रिया