३७ विद्यार्थीलाई स्टेसनरी र पोसाक

समाधान संवाददाता २०७८ साउन १७ गते १६:३३

समाधान संवाददाता
पोखरा-लायन्स क्लब अफ पोखरा पिस टाउनले बाबा फाउन्डेसन नेपालसँगको सहकार्यमा स्टेसनरी वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका वडा नं ३१ बेगनास स्थित आनन्दज्योति माविमा स्टेसनरी सामग्रीसहित विद्यालय पोसाक, फिल्टर वितरण गरेको हो ।

Advertisement


विद्यालय परिसरमा आयोजित कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ बि १ नेपालका डिस्ट्रिक्ट चिफ एडभाइजर राजेन्द्र बाटाजु, क्लस्टर ५ का क्लस्टर चिफ पुरुषोत्तम पराजुली, बाबा फाउन्डेसन नेपालका सचिव टंकराज अधिकारी, लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष शोभा अधिकारी पौडेल लगायतले संयुक्त रुपमा शैक्षिक सामग्री वितरण गरेका हुन् ।


विद्यालयको माग अनुसार प्राथमिक तहमा अध्ययन गर्ने ३७ जना विद्यार्थीलाई कपी, कलम र विद्यालय पोसाक वितरण गरिएको क्लबका सचिव कान्ति अधिकारी पौडेलले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अधिकारीले दिएको जानकारी अनुसार विद्यार्थीका लागि दैनिक उपभोग्य अत्यावश्यक सामग्री जुटाउन कठिन भइरहेको हुँदा सहयोग माग गर्नुपरेको हो ।


क्लबका अध्यक्ष शोभा अधिकारी पौडेलले मानवीय सेवाका कार्य अन्तर्गत आपूmले अध्ययन गरेको विद्यालयमा शिक्षा र आधुनिक शिक्षा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने वचनवद्धता गरिन् ।


डिस्ट्रिक्ट चिफ एडभाइजर राजेन्द्र बाटाजु, क्लस्टर ५ का क्लस्टर प्रमुख पुरुषोत्तम पराजुली, रिजन चेयरपर्सन अमृत बराल, जोन चेयरपर्सन एवं पिस टाउनका निवर्तमान अध्यक्ष सरला तिमिल्सिना लगायतले क्लबले विद्यालयमा अध्ययनरत बालबालिकालाई गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

Advertisement


बाबा फाउन्डेसनका सचिव टंकराज अधिकारीले फाउन्डेसनले सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयलाई ध्यानमा राखी स्थानीय स्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउँदै आाएको बताए । उनले बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरे पनि गरिबी र विपन्नताका कारण कापी, कलमको समस्याले विद्यार्थीमा पठनपाठनमा कठिन भएको विद्यालय प्रशासनबाट प्राप्त सूचना अनुसार शैक्षिक सामग्री वितरण गरिएको बताए ।


लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष शोभा अधिकारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रनाथ अधिकारी, शिक्षक प्रतिनिधि शुक्रराज अधिकारी, क्लबका प्रथम उपाध्यक्ष सीता तिमिल्सिना, सचिव कान्ति अधिकारी लगायतले शिक्षाको महत्वबारे भनाइ राखेका थिए ।


त्यस अवसरमा क्लबले विद्यालय परिसरको वातावरणलाई रमणीय बनाउँदै वातावरण संरक्षण गर्ने उद्देश्यले अमला, हर्रों, बर्रों, कल्की, शीतल चिनी, चाप, लप्सी, तेजपत्ता, कपूर, रुद्राक्ष, गोलमोहर लगायतका १ सय वटा विरुवा रोपेको थियो ।

तपाईको प्रतिक्रिया