संक्रमित उपचार गर्न डेढ सय बेड पुर्‍याउँदै क्षेत्रीय अस्पताल

समाधान संवाददाता २०७८ साउन १८ गते १२:४४

समाधान संवाददाता

Advertisement

पोखरा-कोभिड १९ का बिरामी उपचार गर्न भनेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७६ बेड छुट्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यो अस्पतालका ती बेड सधैंजसो भरिएकै छन् । झन् पछिल्लो समय संक्रमण दर बढेको छ । प्रतिष्ठानका निर्देशक डा भरत खत्री भन्छन्, ‘अरु अस्पतालले कोरोनाका बिरामी राख्न छाडेका छन् । बिरामी आउने भनेकै हाम्रो अस्पताल भएको छ ।’


पछिल्लो समय कताकतिमात्रै ३÷४ बेड खालि भएको नत्र सधैं भरिभराउ नै हुने गरेको डा खत्री सुनाउँछन् । एकातिर निजी अस्पतालले कोभिड १९ का बिरामी लिन छाडेका छन् भने अर्कोतिर कोभिडको तेस्रो लहर सुरु हुने आकलन चिकित्साकर्मीहरुबाट गरिएको छ । यस्तोमा कस्ता छ त क्षेत्रीय अस्पतालको तयारी रु डा। खत्री भन्छन्, ‘तेस्रो लहरका लागि तयारी गरेका छौं । छुट्टै ७० बेड तयार पारेका छौं ।’ एक दुई दिनमै ती बेड तयार हुने जानकारी उनले दिए । त्यति बेड थपिँदा कोभिड उपचारका लागि क्षेत्रीय अस्पतालमा झन्डै डेढ सय बेड हुनेछन् । ‘ती सबै बेडमा अक्सिजन पाइप लाइन जडान सकिसकेका छौं,’ उनले भने ।


डा खत्रीका अनुसार क्षेत्रीय अस्पतालमा अहिले अक्सिजन खपत दिनमा २ सयदेखि ३ सय सिलिन्डर छ । कहिले २००, कहिले २७५ त कहिले ३०० पुग्ने गरेको छ । अर्को साता अस्पतालमै अक्सिजन प्लान्ट जडान पूरा हुने जानकारी पनि डा खत्रीले दिए । विदेशमा भएका नेपालीहरुको संस्था प्रवासी नेपाली मञ्चले हाम्रो अस्पताललाई अक्सिजन प्लान्ड उपलब्ध गराएको छ । यो प्लान्टले दिनमै २ सय सिलिन्डर क्षमतामा अक्सिजन उत्पादन गर्छ भनिएको छ ।

तेस्रो लहरले बालबालिकाहरुलाई पनि उत्तिकै प्रभाव पार्छ भनिएको हुँदा उनीहरुका लागि पनि विशेष तयारी गरेको जानकारी डा खत्रीले दिए । ‘बालबच्चाका लागि १५ वटा बेड आइसियु बनाएका छौं । १५ वटा बेड पिआइसियु छ,’ उनले भने, ‘२० वटा बेड एनआइसियु छ । त्यतिले पुग्ला भन्ने सोचेका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया