एमबी आस्थालाई पुरस्कार

समाधान संवाददाता २०७८ साउन १८ गते १३:०७

समाधान संवाददाता
पोखरा
-नेपाल मगर पत्रकार संघ, कास्कीले हरेक वर्ष प्रदान गर्दै आएकोराष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७८ बाट कास्कीका पत्रकार एमबी आस्थामगर पुरस्कृत भएका छन् ।


राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कारबाट एबिसी न्युज टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुखसमेत रहेका मगर पुरस्कृत भएका हुन् । मगरलाई गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले १० हजार रुपैयाँ नगद, ताम्रपत्र, फेटा र भांग्राले सम्मान गरे ।


संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले मगरलाई पुरस्कारका लागि छनोट गरेको हो ।

Advertisement

छनोट समिति सदस्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर र संघका जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर थिए ।


मन्त्री थापाले मगर जाति संस्कृतिको धनी भएको उल्लेख गर्दै नेपालमा जातीय सहिष्णुता कायम राख्न मगरको अतुलनीय भूमिका रहेको बताए । सबै पत्रकार सम्बद्ध संघ, संस्था र पत्रकारको सुझाव अनुसार आफू अघि बढ्ने भन्दै उनले श्रमजीवी पत्रकारको हितमा प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता गरे ।

Advertisement


नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश अध्यक्ष खेम पुनमगरले आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षणका लागि समुदायले पहल गरेपनि राज्य पक्षबाट अझै उपेक्षामा परेको गुनासो गरे । आदिवासी जनजातिका भाषा, धर्म, संस्कृति र भेषभूषा देशको सम्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष पुनमगरले तिनको संरक्षण र विकासका लागि राज्यले पर्याप्त ध्यान दिनुपर्ने भनाइ राखे ।


पुरस्कृत व्यक्तित्व एमबीले पुरस्कार प्राप्तिले आफूलाई अझै जिम्मेवारी बोध गराएको उल्लेख गरे । मगरलगायतका आदिवासी, जनजातिका कैयन् विषयवस्तु सञ्चारमाध्यममा अझै ल्याउनुपर्ने आवश्यकता उनले औंल्याए ।
नेपाल मगर पत्रकार संघ, कास्की अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पंगेनी र त्रिभुवन पौडेलले महासंघले सबैको भावना समेटेर अघि बढ्ने बताए । सो अवसरमा प्रतिभा छनोट समितिका संयोजक रूद्रबहादुर श्रीसमगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालकी केन्द्रीय सदस्य नरमाया आलेमगर र संघका जिल्ला सहसचिव सुरज थापामगरले पनि बोलेका थिए ।यसअघि, सो पुरस्कारबाट नवलपुरकी कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया