मुस्ताङ कारागार भत्कियो, कैदी—बन्दी बस्न जोखिम

समाधान संवाददाता २०७८ साउन २० गते १७:०३

एसके थकाली \ जोमसोम—

मुस्ताङ जिल्ला कारागार भवन भत्किन पुगेको छ । लामो समयदेखि जीर्ण अवस्थाको कारागार बुधबार भत्किएपछि त्यहाँ बस्ने कैदी—बन्दीलाई जोखिम बढेको छ ।
तत्कालिन समय सहायक अञ्चलाधिस बस्ने क्वाटर भवन २०३७ सालमा मुस्ताङ कारागारको रुपमा परिणत गरिएको थियो । एक तले ढुङ्गा र माटोले बनेको ९ कोठे जीर्ण मुस्ताङ कारागार भवनमा त्यहाँ कार्यरत सुरक्षाकर्मी,कर्मचारी र कैदी—बन्दी जोखिम मोलेर रात कटाउन बाध्य परेका छन् ।

मुस्ताङ कारागारको जीर्ण भवनको २ कोठामा कैदी —बन्दी ,६ वटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुख बस्ने गथ्र्ये । भवन भत्किने र चर्किन गरेपछि कारागारमा बस्ने कैदी—बन्दी र सुरक्षाकर्मीलाई थप जोखिम सृजना भएको हो ।

Advertisement

पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण हिमाली जिल्ला मुस्ताङमा अपेक्षा गरिएभन्दा बढी मात्रामा भारी वर्षा र असमान हिमपात हुन थालेको छ ।असमान हिमपात र वर्षाले मुस्ताङका परम्परागत पुरानो माटोले बनेका घरहरु जोखिममा छन् ।

मुस्ताङ कागारागारको एकतले ९ कोेठे भवन पनि ढुङ्गा र माटोले निर्माण गरिएको थियो । भवनको छानोमा सख्खर माटो बिच्छ्याएको थियो । भवनको ३ वटा कोठा भार थेग्न नसकी पूर्ण रुपमा क्षति भएको छ । अन्य कोठाहरु समेत पुरै चर्किएर थप जीर्ण बनेको मुस्ताङ कारागारले जनाएको छ ।

Advertisement

मुस्ताङ कारागार भवनमा प्रयोग गरिएका काठहरु ज्यादै पुरानो र बर्सेनि वर्षाका कारण काठहरु कुहिन थालेपछि भवन भत्किन पुगेको कारागारका निमित्त कारागार प्रमुख भुवन केशीले जानकारी दिए । उनले कैदी—बन्दी,सुरक्षाकर्मी र कर्मचारी बस्दै आईरहेको भवन भत्किने र चर्किने गरेपछि कैदी÷बन्दी तथा सुरक्षाकर्मी व्यवस्थापनमा समस्या सृजना भएको बताए ।उनका अनुसार अहिले सुरक्षाकर्मीलाई कारागार अगाडीको वैकल्पिक २ कोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ ।

तर, तत्कालै कैदी—बन्दीलाई कहाँ लगेर राख्ने भन्ने बिषयमा छलफल भईरहेको छ । कारागारका कैदी—बन्दीलाई तत्काल जीर्ण भवनमा जोखिम मोलेर राख्दा कुनै अप्रिय दुर्घटना निम्तन सक्ने खतरा रहेको कारागार प्रमुख केशीले बताए ।
झन्डै ४ रोपनीक्षेत्रफलमा फैलिएको ५० वर्ष पुरानो मुस्ताङ कारागार भवनको बीच भाग आफै भत्किएपछि स्थानीय प्रशासन ,सुरक्षा निकाय र सांसद लगायतको टोलीले बुधबार भत्किएको कारागार भवनको अनुगमन गरेको छ । भवनमा जोखिम हुने भएकाले कैदी—बन्दीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बिषयमा स्थानीय प्रशासन लगायतको टोलीले बिकल्प खोज्न थालेको निमित्त कारागार प्रमुख केशीले बताए ।

यसअघि स्थानीय प्रशासनले कारागारको भौतिक संरचनाको अवस्थाका बारेमा पटक÷पटक सरकारको ध्यानआर्कषण गराईएपनि संम्वन्धित कारागार व्यवस्थापन विभाग र अर्थमन्त्रालयले कुनै चाँसो नदिएको कारागारको भनाई छ ।
मुस्ताङ कारागारको कैदी—बन्दी राख्ने क्षमता १० जनाको रहेपनि कुनै बेला २६ जना कैदी—बन्दी ठेलमेल गरेर राखिने गरिएको थियो । हाल कारागारमा ११ जना कैदी—बन्दी छन् ।कारागारको सुरक्षा मापदण्ड पर्याप्त नहँुदा कैदी—बन्दीले सामान्य रुपमा हिडडुल गर्ने तथा आयआर्जनका क्रियाकलाप गर्ने अवसरबाट समेत बञ्चित छन् ।

मुस्ताङ कारागारको सुरक्षा मापदण्ड कमजोर हुँदा त्यहा बस्ने कैदी—बन्दी कारागार भित्र गुम्साएरै बस्न विवश छन् ।दिउँसो जस्ताले छाएको २ कोठे भवनको हट रुपमा निकाल्ने गरिएको छ भने साँझ सोही जीर्ण भवनमा राख्ने गरिएको छ । त्यस्तै ,लामो समय देखि कारागारमा सुरक्षाकर्मी र कर्मचारीको अभाव छ ।

२० जना सुरक्षाकर्मीको दरबन्दी रहेको मुस्ताङ कारागारमा १० जना सुरक्षाकर्मी र कारागार प्रमुखसहित ७ जनाको दरबन्दी रहेकोमा ४ जना मात्र छन् ।

तपाईको प्रतिक्रिया