२१ दिनमा १०३ को मृत्यु, सबैभन्दा धेरै कास्कीमा

समाधान संवाददाता २०७८ साउन २२ गते १३:२५

समाधान संवाददाता
पोखरा
– पछिल्लो २४ घन्टामा कोरोना भाइरस रोगले गण्डकी प्रदेशमा ९ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै नवलपुरमा ३ जनाले ज्यान गुमाएका हुन् । त्यसपछि कास्कीमा २ र गोरखा, स्याङ्जा, बागलुङ र मुस्ताङमा १÷१ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


पोखरा ८ का ५९ वर्षे पुरुष, वडा नम्बर १७ का ६० वर्षे पुरुष र ८२ वर्षे पुरुषको संक्रमणका कारण पछिल्लो २४ घन्टामा ज्यान गएको हो । अहिलेसम्म कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७३ पुगेको छ । गण्डकी प्रदेशभरि यो संख्या ११ सय १८ पुगेको छ ।


प्रदेशमा सबैभन्दा धेरै मृत्युदर कास्कीमा देखिन्छ । सबैभन्दा कम भने मनाङमा अहिलेसम्म २ जनाले मात्रै ज्यान गुमाएका छन् । त्यसपछि कम मृत्यु भएको अर्काे जिल्ला मुस्ताङ हो । जहाँ १६ जनाको मृत्यु भएको छ । कास्कीपछि सबैभन्दा धेरै जनाको ज्यान गएको जिल्ला स्याङ्जा हो, जहाँका १३३ जनाको मृत्यु भएको छ । त्यसपछि नवलपुरका ११६ र तनहुँका ११४ जनाले ज्यान गुमाएका छन् ।

Advertisement


सबैभन्दा कम ज्यान गएका गण्डकी प्रदेशका २ जिल्ला मनाङ र मुस्ताङमा उमेर पुगेका सबै नागरिकले खोपसमेत लगाइसकेका छन् । अर्काेतिर ती दुवै जिल्लामा जनसंख्या पनि अति कम छ । भीडभाड धेरै हुने पोखरा सदरमुकाम भएको कास्कीमा निषेधाज्ञा भए पनि कार्यान्वयन फितलो छ । निषेधाज्ञा भए नभएको अनुभूति सर्वसाधारणले गरेका छैनन् । केवल सिनेमाघर, जिम हल, पार्टी प्यालेसहरु लगायतमा मात्रै खुलेका छैनन् । मानिसहरुको भिडभाड हुने सुपरमार्केट लगायत भने खुला छन् । सार्वजनिक यातायात पनि चलेका छन् ।


प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा पहिलो डोज खोप बुधबारसम्म ५ लाख ३५ हजार ७ सय १३ जनाले लगाएका छन् । पूरा डोज खोप १ लाख ७९ हजार २ सय ५५ जनाले लगाएका छन् । साउन महिनाको २१ गतेसम्म मात्र गण्डकी प्रदेशभर १०३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ६३ हजार २ सय ९१ जना निको भएका छन् । अहिलेसम्म २ लाख ७९ हजार २ सय ८८ जनाको परीक्षण गर्दा २ लाख ९ हजार २१ जना संक्रमित पुष्टि भएका छन् ।

Advertisement


पछिल्लो २४ घण्टामा देशभर १८ हजार ४०८ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये २१ देखि ४० वर्ष उमेर समूहका १ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार संक्रमण पुष्टि भएका मध्ये २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ७४५ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया