रिसिङका पहिरोपीडितलाई मुख्यमन्त्रीले हस्तान्तरण गरे राहत

समाधान संवाददाता २०७८ साउन २४ गते १२:२०

नवलपुर – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ जनाको परिवारलाई राहत हस्तान्तरण गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उनले उक्त राहत वितरण गरेका हुन् ।

Advertisement

रिसिङका देवीसरा थापा र खुमबहादुर आलेको परिवारलाई संघ सरकारको जनही २ लाख, प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँ मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गरे । खुमबहादुर आले गाउँपालिकाका सुरक्षा गार्ड हुन् । असार २४ गतेको झरीपछि आएको पहिरोमा परी रिसिङमा २ जनाका निधन भएको थियो ।
पहिरोले रिसिङका धेरै बस्ती जोखिममा पर्नुका साथै सकडमा क्षति पुगेको छ । सडक खुलाएर तत्काल यातायात सञ्चालन गर्न प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले परिवर्तित राजनीतिक परिस्थितिका कारण गण्डकीमा सरकार फेरिएको भन्दै सीमित स्रोत र साधनबीच पनि प्रदेशवासीलाई सेवा दिन पछि नपर्ने प्रतिबद्धता जनाए ।

पञ्चायतकालमा राजनीतिक संगठनका लागि रिसिङमा पुगेको स्मरण गर्दै उनले उक्त क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकार मिले अगाडि बढ्नुपर्ने बताए । कालीगण्डकी डाइभर्सनका बारेमा स्थानीयले राखेको चासोबारे सम्बोधन गर्दै उनले कुनै पनि हालतमा यो आयोजना सञ्चालन हुन नदिने भनाइ राखे । उनले भने, ‘बुटवलमा कार्यालय खुलेदेखि नै गण्डकी प्रदेश सरकारले यो आयोजनाको विरोध गरेको छ, सर्वपक्षीय बैठक नै गरेर पनि धारणा सार्वजनिक गरेका छौं, डाइभर्सन कुनै हालतमा हुँदैन ।

पोखराबाट नवलपुर जोड्नका लागि व्यवस्थित सडक नभएकोतिर इंगित गर्दै उनले यसका लागि अहिले झ्यालबास डेढगाउँ सडकलाई सरकारले प्राथमिकतामा राखेको भनाइ राखे । अहिले डबल लेनको बन्ने सडक ठेक्का प्रक्रियामा गइसकेको छ ।

Advertisement


कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, झुलबहादुर आले, गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दल सचेतक ओमकला गौतम, प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङले प्राकृतिक विपत्तिले रिसिङमा ठूलो क्षति पु¥याएको भन्दै यसका लागि ३ वटै तहका सरकारले समन्वय गरेर काम गर्न आग्रह गरे ।


जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, गाउँपालिका उप्रप्रमुख गिलुमाया थापा लगायतले कार्यक्रममा बोलेका थिए । गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरोले क्षतिग्रस्त भएको रिसिङलाई पुरानै अवस्थामा पु¥याउन सहकार्य जरुरी रहेको भनाइ राखे ।


तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले घर क्षति भएकाहरूलाई पुनस्र्थापनाका लागि प्रति घर ४ लाख रुपैयाँ उपलब्ध गराउने बताए । जसमा संघको ६०, प्रदेशको ३० र स्थानीय तहले १० प्रतिशत लगानी गर्नु पर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले जानकारी दिए । तनहुँमा यो वर्ष बाढीपहिरोमा ६ जनाले ज्यान गुमाएका छन् । रिसिङ, भानु र बन्दीपुर गापामा धेरै क्षति भएको छ ।


मुख्यमन्त्री पोखरेलले शुक्रबारै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको अवलोकन गरेका छन् । कोभिड महामारीका बेला अस्पतालले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले अस्पतालको क्षमता वृद्धिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।


मुख्यमन्त्री पोखरेलले भीमाद बजारमा सेती नदीले पारेको क्षतिको अवलोकन गरेका थिए । भीमादमै निर्माणाधीन नेपाली कांग्रेसको कार्यालय अवलोकन गरेपछि उनी जनज्योति क्याम्पस परिसरमा वृक्षरोपणमा सहभागी भए । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेकी आमालाई भेटेर आशीर्वाद लिएका थिए ।

रिसिङको कोटदरबारस्थित शिव सरस्वति माध्यममिक विद्यालयको अवलोकन गर्दै मुखयमन्त्री पोखरेलले प्राविधिक शिक्षा प्रदान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शुक्रबार साँझ गृह जिल्ला नवपुर आइपुगेका मुख्यमन्त्री पोखरेलले शनिबार (आज) लोकाहा खोलामा प्रस्तावित औद्योगिक क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । नारायाणी नदीको कटान अवलोकन, स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरी आइतबार बिहान पोखरा फर्कन कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया