पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको म्याद १ वर्ष थप

समाधान संवाददाता २०७८ साउन २५ गते १२:०५

समाधान संवाददाता

Advertisement

पोखरा–पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १ वर्ष समय थपिएको छ । राष्ट्रिय गौरवको योजना अन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड १९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए ।
‘हामीले समयमै सम्पन्नका लागि द्रूत गतिमा काम गरेका छौं तर कोभिड १९ का कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही इक्युमेन्टका कारणले समय धकेलिन पुग्यो,’ उनले भने । विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्यान्डफिल साइड समस्या बनेको बताए ।
विमानस्थल निर्माणका लागि ७ सय जति जनशक्ति रहेकामा अहिले पनि ४ सय हाराहारीले काम गरिरहेकाका छन् । चीनको सिएएमसी इन्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल २२ अर्ब चिनियाँ ऋण सहयोगमा बन्दै छ । २०१७ को नोभेम्बर महिनादेखि सुरू भएको विमानस्थल २०२१ जुलाई १० सम्म सक्ने सम्झौता थियो ।
आयोजनका इन्जिनीयर मीनराज ओझाका अनुसार हालसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्युवमेन्ट जडान, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उनले हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइट लगायत १४ संरचनाको फिनिसिङ भइरहेको जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६ सय स्क्वायर मिटरमा बन्नेछ । ८ हजार ६ सय स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १ हजार ४ हजार ६ सय स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ देखि जग्गा अधिग्रहण थालिएको थियो ।

तपाईको प्रतिक्रिया