विदेशी सेनासँगै नेपाली सेनाको संयुक्त तालिम
एसके थकाली
जोमसोम -मुस्ताङमा विदेशी सेना सम्मिलित संयुक्त हाइ अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी तालिम सुरु भएको छ । सैनिक उच्च शिखर शिक्षालय कैसाङका महासेनानी सुरेश हमालले आइतबार तालिम सुरुआत गरे ।
समुन्द्री सतहदेखि २ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा नेपाली सेनाले हाइ अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम दिएको हो । तालिममा हिमाली तथा उच्च पहाडी युद्ध कला साथै चट्टान कला र हिमकलासम्बन्धी सीप सिकाइनेछ । तालिममा ४ देशका ५ विदेशी र ८१ नेपाली सैनिक सहभागी छन् ।
तालिममा अमेरिकाबाट २ जना, पाकिस्तान, बंगलादेश र दक्षिण कोरियाबाट १÷१ जना गरी ५ जना विदेशी सेना सहभागी छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अगामी असोज १ गतेसम्म तालिम चल्नेछ ।
नेपाली सेनाका अधिकृत तहका १६ जना र अन्य दर्जाका ६५ जना गरी ८१ नेपाली सेना सहभागी छन् । हरेक वर्ष मुस्ताङको जोमसोम क्षेत्र र सैनिक उच्च शिखर शिक्षालय कैसाङको ड्रम क्याम्प र याकखर्क लगायत स्थानमा नेपाली सेनाले यस्तै नियमित हाइ अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम आयोजना गर्ने गरेको छ ।
जस अन्तर्गत मुस्ताङको जोमसोममा ३ हप्तासम्म चट्टान कलासम्बन्धी ¥याप्लिङ र क्लाइमिङ सञ्चालन हुनेछ भने त्यसपछि मुस्ताङको कैसाङमा पुगेपछि ड्रम क्याम्प र याकखर्कमा हिम कलासम्बन्धी सैन्य अभ्यास गराइनेछ । हरेक वर्ष चैतदेखि असारसम्म २ पटक सेनाले हाइ अल्टिच्युड तथा माउन्टेन वारफायर बेसिक तालिम दिने गरेको छ ।
तालिमबाट छानिएका उत्कृष्ट प्रशिक्षार्थी सेनाका जवानलाई यस प्रकारको एडभान्स तालिम दिने गरिएको हो । सेनाले मुस्ताङको जोमसोम र कैसाङको ड्रम क्याम्पमा तालिम सकेपछि मुस्ताङ र मनाङबीचको कुनै १ हिमाल आरोहण गर्नेछ ।
सम्भवतः नेपाली तथा विदेशी सेनाको टोलीले मनाङको चुलवईस्ट हिमाल आरोहण गर्ने बताइन्छ । नेपाली सेनाले १० वर्षअघि नै मनाङको चुलवईस्ट हिमाल आरोहरण गर्ने अनुमति पाएको थियो ।
चुलवईस्ट आरोहण तथा आरोहरण सम्भावना अध्ययनका लागि जोमसोमबाट महासेनानीको टोली केही दिनमा त्यहाँ पुगेर फर्किनेछ । आरोहण सहज भएमा त्यहाँ नेपाली तथा विदेशी सेनालाई आरोहण अभ्यास गराउने तालिका छ ।
२०३१ सालमा मुस्ताङको कैसाङमा तिब्बती खम्पा बिद्रोहीहरुको सैन्य हेडक्वाटर थियो । नेपाली सेनाले तिब्बती खम्पा सैनिकलाई विस्थापित गराएपछि २०३२ सालमा त्यहाँ नेपाली सैनाको तालिम केन्द्र स्थापना भएको हो ।
मुस्ताङको कैसाङमा सन् १९९० देखि सेनाले हाइ अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम दिन सुरु गरेको हो । नेपाली सेनासँग मिलेर २०७५ सालसम्म ४६ अमेरिकी सैनिकले हिमाली युद्धकलासम्बन्धी तालिम लिइसकेका छन् । अमेरिकाको इन्डोप्यासिफिक कमान्डका ७ जना अमेरिकी सैनिकले २०७५ माघमा संयुक्त उच्च हिमाली युद्धकला अभ्यास गरेका थिए ।
तपाईको प्रतिक्रिया