पाेखराकाे ढाेडेनी घाटमा रातिराति धन्दा

समाधान संवाददाता २०७८ साउन २६ गते १२:५७

समाधान संवाददाता

Advertisement

पोखरा – बर्खा यामका असार, साउन र भदौमा नदीनालाका कुनै पनि घाटमा ढुंगा बालुवा गिटी उत्खनन् हुँदैन । स्थानीय सरकारले नै यो समयमा नदीका घाटहरुको टेन्डर लगाउँदैन । त्यसैले न कसैलाई ठेक्का पर्छ न कसैले उक्त समयमा उत्खनन् गर्न पाउँछ । तर सेती नदी हेमजा र लामाचौरको बीचमा एउटा घाट छ । जहाँ यो बर्खाको बेला पनि बालुवा उत्खनन् भइरहेको भेटिएको छ । बर्खे भेलमा बालुवा निकाल्ने काम रातारात भइरहेको भेटिएको हो ।


शुक्रबार राति कास्की प्रहरीको एउटा टोली उक्त घाटमा रातको १ बजे पुग्छ । त्यहाँ ग १ ख ४८२३ नम्बरको ट्रक बालुवा भरेर फर्किरहेको हुन्छ । अझ नदीसम्मै पुगेर अर्काे ट्रकमा बालुवा हाल्दै गरेको पनि भेटिन्छ । ५ जना युवाहरु नदीबाट धमाधम बेल्चाले बालुवा ट्रकमा भरिरहेका हुन्छन् । नियन्त्रणमा लिइएको ट्रकका चालकले एक ट्रक बालुवा निकाले बापत १५ सय रुपैयाँ बुझाउने गरेको सुनाउँछन् । उनले स्थानीय रामचन्द्र थापालाई त्यति रकम बुझाएको बताउँछन् ।


प्रहरीले अनुसन्धानबाट पत्तो लाग्छ कि साँच्चीकै थापाले त्यसरी रातिराति उत्खनन् गर्न लगाएर बालुवाको पैसा लिँदै आएका रहेछन् । त्यसरी ट्रकमा बालुवा भर्न नदीमा ५ जना युवालाई थापाले खटाएको भेटिन्छ । ती युवाहरुलाई एक रात काम गरेको ५ सय रुपैयाँ दिँदा रहेछन् ।


कास्की प्रहरीले तिनै रामचन्द्र थापालाई आइतबार पक्राउसमेत गरेको छ । नदीजन्य पदार्थको उत्खनन् गर्न किन लगाएको भनेर सोध्न जाँदा उल्टै प्रहरीमाथि थापाले दुव्र्यवहार गरेको हुँदा अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि कास्की अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । समातिएको ट्रक धनीहरुलाई पोखरा महानगरपालिकामा जरिवाना तिर्न लगाइएको छ ।

Advertisement


थापाले रातिराति बालुवा उत्खनन् गर्न लगाएको यो पहिलोपटक होइन । दसकअघिदेखि नै उनले घाटमा एकलौटी कब्जा गरेको स्थानीय बताउँछन् । उनको एकलौटीकै कारण घाटै रामचन्द्र घाटका रुपमा परिचित भइरहेको छ । त्यसो त थापाले घाट आफ्नो निजी जमिन भएको दाबी गर्दै आएको स्थानीयको भनाइ छ । तर थापाले निजी जमिनको बालुवा होइन सीधै सेती नदीको पानीमुनिबाटै बालुवा झिक्न लगाउने गरेका छन् ।


बालुवा झिक्नकै लागि थापाले सेती नदीको स्वरुप पनि फेरबदल गरिदिएका छन् । नदीभित्रै बाँध लगाएर बालुवा थुप्रने ठाउँ बनाएका छन् । दर्जनको संख्यामा त्यस्ता बाँध बनाएर बालुवा थुपार्ने र एकलौटी रुपमा निकाल्दै बेच्दै गरेको भनी उनीविरुद्ध नगरपालिकामा पनि अनेकौं उजुरी हुँदै आएका थिए ।


महानगरपालिकाले यसअघिका वर्षमा थापालाई घाट सञ्चालन नगर्न पत्राचार गर्दै आएको थियो । वडा नम्बर २५ ले पनि पत्राचार गर्दा पनि उनले अटेर गर्दै आएका थिए । यसअघि धेरैपटक प्रहरीले उनीमार्फत खटिएका व्यक्तिहरुले अवैध रुपमा उत्खनन् गर्दागर्दा फेला पारेको हुन्थ्यो ।

तर फेरि उनको धन्दा निरन्तर चल्दै आएको थियो । एकजना स्थानीय भन्छन्, ‘प्रहरीसँग सेटिङ ग¥या हो कि नडराउने हो कुन्नि, प्रहरीले एक ट्रक बालुवा समात्यो भने २ ट्रक सित्तैमा दिन्छु भनेर थापाको फुर्ति हुन्थ्यो ।’
हालै कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापाले घाटहरु नखुलेका बेला अवैध उत्खनन् गर्नेविरुद्ध अभियानै चलाएका छन् । अघिल्लो सातामात्रै सेती नदीकै पुरन्चौरको ढोडेनी घाटमा रातिराति बालुवा निकालिरहेका ५५ वटा ट्रक तथा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो ।


टिप्पर २२ वटा, मिनी टिप्पर १७ वटा र ट्याक्टर १६ वटा गरी जम्मा ५५ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिई जरिवानाका लागि प्रहरीले महानगरपालिका पठाएको थियो । ती गाडीधनीले नगरपालिकालाई कम्तीमा १० हजार रुपैयाँ जरिवाना तिरेका थिए ।


पुरुन्चौरको ढोडेनी घाट पनि अवैध रुपमा उत्खनन् भइरहेको थियो । भारती भवन माविका लागि स्रोत जुटाउने भनेर पोखरा १९ वडा कार्यालयले दिएको एउटा पत्रका भरमा त्यहाँ उत्खनन् भएको थियो ।

पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेल महानगरपालिका बाहेक कसैले पनि घाटको जिम्मा दिन सक्दैन । त्यो अधिकार वडालाई पनि छैन । तर वडा नम्बर १९ ले भने त्यसरी स्कुललाई भनेर घाटबाट बालुवा निकाल्न दिएको थियो । त्यो पनि रातिराति बालुवा निकालिएको थियो । त्यसमा पनि नदीमै ५ दर्जन सवारी साधन लगिएको थियो ।

तपाईको प्रतिक्रिया