खोप केन्द्रबाटै कोभिडको डर

समाधान संवाददाता २०७८ साउन २७ गते १५:३१

सञ्जय रानाभाट
पोखरा
– कास्कीमा सोमबारदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन थालिएको छ । ४ साउनभन्दा पहिला भेरोसेलको पहिलो डोज लगाएकालाई खोप लगाउन पोखरा महानगरको स्वास्थ्य महाशाखाले २३ खोप केन्द्र तोकेको छ ।

Advertisement


दोस्रो दिनसम्म ३१ हजार ४ सय ९८ जनाले खोप लगाइसकेका छन् । ३ दिनसम्म चल्ने दोस्रो डोजको खोप अभियानमा ४४ हजार कस्केलीले खोप लगाउन पाउने स्वास्थ्य कार्यालय कास्की प्रमुख बाबुराम आचार्यले बताए । अभियान बुधबार सकिनेछ ।


सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा वडा नम्बर ८ मा खोप लगाउन भीमबहादुर विक मंगलबार बिहानै आइपुगे । उनी आउँदा केन्द्रमा लामै लाइन बनिसकेको थियो ।

‘हतारहतार पछाडि लाइनमा गएर बसें । एकछिनमै भीड भयो, सबैले ठेलमठेल गरे ।’
ठेलामठेलले कतै लडिने त होइन भन्ने चिन्ता उनलाई भयो । अर्कातिर कोरोना सर्ने चिन्ता पनि छँदै थियो । उनी भन्छन्, ‘११ बजेसम्म पनि पालो नआएपछि लाइनमा भाइलाई राखेर घर फर्किएँ ।’ उनले पहिलो डोज असार ३० गते लगाएका थिए ।


४८ वर्षीय विक ज्याला, मजदुरी गरेर जीविका चलाइरहेका छन् । उनका २ छोरा र छोरी र श्रीमती गरी ५ सदस्यीय परिवार छ । ‘मेरो काम थियो । भाइलाई लाइनमा राखें । म काम गर्न निस्कें ।’

Advertisement


भीमबहादुर दिउँसो २ बजे खोप केन्द्र आए । ३० मिनेट फेरि लाइन बसेपछि भने पालो पाएको उनी सुनाउँछन् । खोप केन्द्रबाट बाहिर निस्केको उनले समाधानसँग लाइनमा बस्दा दुख पाएँ पनि खोप लगाउन पाएकोमा भने उनले खुसी व्यक्त गरे ।


खोप लगाउन आएकी नयाँबजारकी लक्ष्मी श्रेष्ठ भने आइतबार लाइन बसेर फर्किएको बताउँछिन् । उनले खोप लगाउन पाइनन् । उनले गत महिनामै पहिलो डोज लगाएकी थिइन् । ‘खोप लगाउन दिनभर लाइन लगाए । दिउँसो साढे ३ बजे भने खोप सकियो,’ श्रेष्ठ भन्छिन्, ‘हिजो दिनभर दुखमात्र भयो । अब आज खोप लगाउन सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा मंगलबार पनि लाइन बस्दै छु ।’


लक्ष्मीलाई खुट्टा दुख्ने समस्या छ । लाइनमा बस्न नसकेर उनी भुइँमा बसेकी थिइन् । उनी श्रीमानसँगै खोप लगाउन खोप केन्द्र आएकी थिइन् । भन्छिन्, ‘बिरामीका लागि छुटै लाइनको व्यवस्था भए अलि सहज हुन्थ्यो । बिरामी मान्छेलाई लाइनमा बसेर भने धेरै गाह्रो हुने रहेछ ।’ ५८ वर्षीय श्रेष्ठले दिउँसो खोप लगाउने पालो पाइन् ।


पोखरा वडा नम्बर १५ को खोप केन्द्रमा भने खोप ल्याउन ढिलाइ गरिएको छिनेडाँडाका राज दाहाल बताउँछन् । भन्छन्, ‘खोप लगाउन बिहानैदेखि लाइनमा आएँ । १२ बज्न लाग्यो, खोप लाउन सुरु नै भएको छैन ।’


लाइनमा बस्दा कतै सामाजिक दूरी पालन नभएको उनी बताउँछन् । उनले भने, ‘ठेलमठेल हुन्छ । कोभन्दा को पहिला बस्ने भनेर विवाद चल्छ । आफ्ना मान्छे बीचमा पस्छन् ।’ खोप लगाउन जागिर बिदा लिएर आएका उनी आधा दिनसम्म तातो घाममा बसे ।
गण्डकी प्रदेशसहित कास्कीमा दिन प्रतिदिन कोभिड संक्रमितको संख्या बढ्दै छ । देशभर मंगलबारमात्र ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिए । ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यस्तो अवस्थामा खोप केन्द्रमा सामाजिक दूरी भने पालना नगरी खोप लगाइनु घातक हुने स्वास्थ्यकर्मी बताउँछन् । खोप लगाउन आएका नागरिकसमेत यसरी लाम लाग्ने कोही सुरक्षित नभएको बताउँछन् । दोस्रो डोजको खोप लगाउने लाम कोरोना उत्पादन गर्ने हटस्पट बन्न सक्ने उनीहरुको चिन्ता छ । दैनिक रुपमा बढ्दै गएको संक्रमण दरले देशमा तेस्रो लहरको संकेत गरिसकेको छ ।

पोखराका खोप केन्द्रमा मुख्यमन्त्रीको अनुमगन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गरेका छन् । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रुपमा अनुगमन गरेका हुन् ।


मुख्यमन्त्री पोखरेलले पोखराको वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मुख्यमन्त्री पोखरेलले लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग कुराकानी गरे ।


अनुगमनपछि मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्न तत्काल प्रहरी संख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिए । खोप ढुवानीमा समस्या भएको भन्ने गुनासो आएकामा मुख्यमन्त्री पोखरेलले स्थानीयस्तरमा गाडीको प्रबन्ध गरेर पनि केन्द्रसम्म खोप ल्याउन सकिने बताए ।


संघ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहकालाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरीदिन उनले आम नागरिकसमक्ष अनुरोध गरेका छन् । उनले भने, ‘उमेर समूह अनुसार हामीले खोप वितरण गरेका छौं, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौं, हतार नगरिदिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।’


खोप समयमा नआएको, लामो समयसम्म लाइनमा बस्दा पनि खोप नपाइएको, खोप बोक्ने गाडी पर्याप्त नहुँदा धेरै बेरसम्म कुर्नु परेको गुनासो सेवाग्राहीको थियो । वडा कार्यालयहरुले चेकलिस्ट बनाएर त्यसैका आधारमा नाम टाँसिदिएमा भीडभाड कम हुने सुझाव सर्बसाधारणलले दिएका छन् । खोप केन्द्रहरुमा पु¥याइएका खोप कार्ड हराएको र कतिपयले त ती कार्डमा आफैले भरेर दोस्रो डोज भन्दै पहिलो डोज लगाउन लाइनमा बसेको गुनासो समेत गरेका थिए ।

यसबारेमा तत्काल आवश्यक छानबिन गरी खोप र कार्ड अनियमित गर्नेलाई कारवाहीको दायरमा ल्याउन मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सचिव विनोदविन्दु शर्मा र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई निर्देशन दिएका छन् । उनले जनप्रतिधि अझै जिम्मेबार काम गर्न आग्रह गर्दै स्वास्थ्यकर्मी र स्वयंसेवीको खटाइका कारण कोरोना विरुद्धको लडाइँमा यो अहिलेसम्मको सफलता मिलेको भन्दै हौसला प्रदान गरे ।


अनुगमनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा, जिल्ला स्वास्थ्य कार्यालय र महानगर स्वास्थ्य महाशाखा प्रमुख सहभागी थिए ।


स्वास्थ्य सचिव शर्माले सोमबार सुरु भएको यो चरणको खोप अभियान मंगलबार सकिने र त्यसपछि कोभिसिल्डको दोस्रो डोज लगाउन थालिने बताए । दोस्रो डोजको कोभिल्डि १ लाख ५० हजार चाहिनेमा प्रदेशमा १ लाख ४७ हजार डोज आएको छ । उद्योगी व्यवसायी लगायत विभिन्न उमेर समूहका लागि प्राथमिकता अनुसार खोप उपलब्ध गराउन लागिएको सचिव शर्माले बताए । खोप केन्द्रहरुमा खोप ढुवानीका लागि स्वास्थ्य कार्यालयसँग पर्याप्त गाडी नभएकाले समस्या भएको भन्दै सचिव शर्माले स्थानीय समाजसेवीले यसमा सहयोग गरेको भन्दै धन्यवाद दिए ।

वडा कार्यालय र अन्य ठाउँमा सञ्चालन गर्दा साँघुर हुने र भीडभाड बढ्ने भएकाले सरकारी विद्यालयहरुमा खोप केन्द्र सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

तपाईको प्रतिक्रिया