माक्स बाड्दै सिडिओ

समाधान संवाददाता २०७८ साउन २७ गते १६:०५

सुन्दरकुमार थकाली
जोमसोम
– कोरोना कहर रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ, प्रहरी, प्रशासन र स्थानीय तहको संयुक्त सहभागिता माक्स अभियान चलिरहेको छ । अभियानमा मुस्ताङका सिडिओ श्रीनाथ पौडेलसमेत खटिएका छन् ।


‘महामारी नियन्त्रण तथा रोकथाममा मेरो प्रतिबद्धता, माक्स लगाउनु नै आजको आवश्यकता’ भन्ने नारासहित साउन २३ देखि सुरु भएको अभियान मंगलबार वारागुङ ३ छुसाङमा सञ्चालन गरियो । सिडिओ पौडेल आफैंले सरोकारवाला निकायसँग सहकार्य गर्दै नागरिकलाई माक्स लगाउन अनुरोध गरे ।


अभियान अन्तर्गत छुसाङका नागरिक तथा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरलाई माक्स वितरण गरियो । टोलीले कोरोनाको जोखिम बढेकाले आवश्यक सावधानी अपनाउनसमेत नागरिकलाई सुझाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

Advertisement


टोलीले नागरिकलाई निशुल्क हातहातमा माक्स वितरण गरेको छ भने स्वास्थ्य कार्यालयले गाउँ गाउँका नागरिकको एन्टिजेन परीक्षण गरेको छ । मुस्ताङ प्रहरीले जिल्लाका ३ हजार ५ सय नागरिकलाई निशुल्क माक्स वितरण गरेको जनाएको छ । स्वास्थ्य कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ३ छुसाङमा १ सय ४ जनाको एन्टिजेन जाँच गरेको छ ।


परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । पोजेटिभ रिपोर्ट आएकामध्ये केहीले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् भने केहीले खोप लगाउन पाएका थिएनन् ।

Advertisement


छुसाङमा प्रहरी, स्वास्थ्यकर्मी र वडा तहका प्रतिनिधिको टोलीले स्थानीय नागरिक, सडकमा गाडी चलाउने चालक, सहचालक, विभिन्न कन्ट्रक्सनका मजदुर लगायतलाई माक्स वितरण गरेको वडा सदस्य धर्क गुरुङले बताए । मुस्ताङमा पनि कोरोनाको तेस्रो लहरको त्रास बढिरहेको बेला सरोकारवालाको टोली गाउँघरमै उपस्थित भई जनचेतना अभिवृद्धि तथा माक्स वितरण गरिनु प्रशंसनीय भएको वडा सदस्य गुरुङले उल्लेख गरे ।


मुस्ताङमा कोरोना संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न चरणमा ९ हजार २ सय ७४ जनाले खोप लगाइसकेका छन् । मुस्ताङका शतप्रतिशतले कोरोना बिरुद्धको खोप लगाइसकेको भए पनि कोरोनाको जोखिम भने कायम नै छ । संक्रमितमध्ये १५ जनाले कोरानाका कारण ज्यान गुमाइसकेका छन् । जिल्लामा अहिले ३१ सक्रिय कोरोना संक्रमति छन् ।

चाडपर्व नजिकिँदै गरेको र बजारिकरणका लागि स्याउ ढुवानी गर्ने समयसमेत सुरु भएकाले कोरोनाको जोखिम बढ्ने त्रास छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले गत वैशाखदेखि चरणबद्ध रुपमा निषेधाज्ञा जारी गर्दै आएको छ । कोरोनाका कारण प्रशासनले वैशाख ११ देखि मुक्तिनाथ मन्दिर बन्द छ । मुक्तिनाथ बन्द भएपछि यहाँको पर्यटन व्यवसाय ठप्प छ ।

तपाईको प्रतिक्रिया