बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

समाधान संवाददाता । म्याग्दीको बेनी अस्पतालमा बुधबारदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिकाले विनियोजन गरेको रु ३० लाख बजेटबाट उपकरण खरिद र पूर्वाधार तयार पारेर उपचारका लागि अत्यावश्यक मानिने इन्डोस्कोपी सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकामार्फत बेनी अस्पतालको सेवा विस्तारका लागि सो बजेट विनियोजन भएको थियो । समितिका अध्यक्ष बेलबहादुर कटुवालले इन्डोस्कोपी सेवा सञ्चालनसँगै यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताए ।
“सीमित पूर्वाधार र जनशक्तिका बीच पनि अस्पतालको सेवा विस्तारलाई निरन्तरता दिएका छौँ”, उनले भने, “इन्डोस्कोपी सेवा सुरु भएपछि बिरामीको उपचार थप प्रभावकारी र सहज हुन्छ ।” यसअघि इन्डोस्कोपी गर्नुपर्ने बिरामीलाई पोखरा सिफारिस गरिँदै आएको थियो ।
इन्डोस्कोपी गर्दा शरीरमा पातलो नली राखेर शरीरभित्रका अङ्गमा परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरी बिरामीको समस्या पहिचान गर्न सजिलो हुन्छ । गलाको समस्या, आन्द्रा सुन्निने, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, दिसा पिसाबबाट रगत बग्ने, गर्भावस्थामा समस्या देखिए, शल्यक्रिया गर्नु अगाडि र अन्य समस्या देखिएमा इन्डोस्कोपी गरिन्छ ।
भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेट इन्डोस्कोपी गरेपछि आउने सूचनाका आधारमा चिकित्सकले उपचार प्रक्रिया अघि बढाउँछन् । विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै गएको छ ।
सघन उपचारकक्ष, डायलायसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन प्लान्ट स्थापना, आँखा उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ । म्याग्दीका साथै पर्वत, बागलुङ र पर्वतका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् ।
५० शय्या क्षमताको सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलाइले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको छ । सीमित पूर्वाधारका बाबजुद पनि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सुविधासम्पन्न सहरका अस्पतालले दिने सेवा पनि दिएका बताइन्छ । रासस









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया