न्याय नबोल्नु हो बेइमानी

समाधान संवाददाता २०७८ साउन २९ गते १५:३३

गणतन्त्रको पक्षमा सशक्त आवाज उठाउने जनकविलाई निषेध गरेर राज्यसत्ताले नेपाली समाजमा के सन्देश दिन खोजेको हो ?

प्राडा पशुपतिनाथ तिमल्सेना

युद्धप्रसाद मिश्र (विसं १९६४ पौष २७–२०४७ फाल्गुन ६) नेपाली साहित्यका क्षेत्रमा समाज रूपान्तरणका लागि सामाजिक न्यायमा आधारित कविता लेख्ने सर्वाधिक लोकप्रिय कवि हुन् । मिश्र पुरानो पुस्ताका भएर नयाँ पुस्ताका युवाको चेतनालाई जुरुक्क उठाउन सक्ने क्षमता भएका कविता लेख्ने कवि हुन् । उनी जहिले पनि न्याय, शान्ति र मानवताको पक्षमा आवाज उठाउने गर्दथे । समाजमा वर्गीय भेदभाव रहेसम्म मानवतावादी मूल्य कायम हुन सक्दैन भन्ने मिश्रका दृष्टिमा सिद्धान्तनिष्ठ क्रान्तिकारी संघर्षले मात्र मानवतावादी मूल्य कायम गर्न सक्छ । त्यसैले उनी समाजमा सामाजिक न्याय, समानता, भातृत्वभावको स्थापना गर्न सबैलाई समतावादी मानवतावादी दिशामा अग्रसर हुन आग्रह गर्दथे ।

आफ्नो यात्राको पछिल्लो कालखण्डका मिश्र अलौकिक दैवीशक्ति या काल्पनिक संसारमा रम्न चाहने सामन्तवादी–पुँजीवादी समाजमा मानवीय मूल्य कायम हुन सक्दैन भन्दै त्यस्तो समाजको अन्त्य गर्नुपर्ने कुरामा निकै जोड दिने गर्दथे । सम्पूर्ण श्रमिक जनता स्वयंमा शक्तिका स्रोत हुन्, सुन्दर संसारका निर्माता हुन् र तिनीहरूको एकतापूर्ण संघर्षले मात्र मानवतावादी समाजको स्थापना हुन सक्छ भन्ने मिश्रले मानव कल्याणलाई नै आफ्ना सबैजसो कविताको केन्द्रीय कथ्य विषय बनाएका थिए ।

युद्धप्रसाद मिश्र कस्ता कवि हुन् र उनको संघर्षमय साहित्यिक या वैयक्तिक जीवनको उतारचढाव कस्तो थियो भन्ने कुरा बुझ्न उनले आफ्ना बारेमा विभिन्न समयमा आफ्नो साहित्यिक मान्यता तथा कविता–यात्राको विगत र वर्तमानको क्रियाशीलताका बारेमा व्यक्त गरेका अभिव्यक्ति सहायक हुन सक्छन् ।

मिश्र आफूले ग्रहण गरेको विचारलाई व्यवहारमा पनि उतार्नु पर्दछ भन्ने मान्यता राख्ने सिद्धान्तवादी व्यवहारवादी चिन्तक थिए । उनी चिन्तनलाई व्यवहारमै उतार्ने गर्दर्थे । उनी व्यक्तिगत स्वार्थ र महत्वाकांक्ष्या पूरा गर्न सिद्धान्तलाई बेच्नु हुँदैन भन्ने मान्यता राख्थ्ये । यसै भएर उनले निरङ्कुश राजतन्त्रको शासनकालकै समय २०२६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्य बन्नका गरिएको निम्तोलाई ठाडै बहिष्कार गरिदिएका थिए ।

यससम्बन्धमा नौलो बिहान पत्रिका (२०३० फागुन)का प्रतिनिधिलाई दिएको उत्तरबाट उनको तात्कालिक व्यवहारिक जीवन र विचाधारात्मक सिद्धान्तप्रतिको निष्ठाका बारेमा सहजै जानकारी पाउन सकिन्छ । उक्त पत्रिकाको तर्फबाट ‘केही वर्ष पहिले तपाईंलाई पनि राजकीय प्रज्ञा प्रतिष्ठानको निम्ति बोलावट आएको थियो रे तर नजानुको कारण के होला भनेर सोधिएको प्रश्नको उत्तरमा मिश्रले आफ्नो वैचारिक मान्यता र निर्णयलाई यसरी अभिव्यक्त गरेका थिएः

…समाजमा खानका निम्ति बाँच्ने र बाँच्नका निम्ति खाने दुई थरी मान्छे हुन्छन् भन्ने त सबैले सुनेकै कुरा हो । मेरा समकालीनहरू आफ्नो धारणा अनुसार कुनै पनि आर्थिक स्रोत बनाएर बाँचून् कुनै आपत्ति छैन । तर खाली बाँच्नका निम्ति सामन्ती, पुँजीजीवादी र स्तुतिवादी वर्तमान नेपाली एकेडेमीको तबेलामा घुस्रन पुगी ‘साहित्यकार’को रामनामी जिनपोस ओढेर निगाहको दाना चपाउँदै बस्ने अवस्थासम्म ओर्लन म सकिनँ । देश र जनताको पीरले एउटा ध्येय लिएर बाँच्दा आर्थिक संकट त के मर्नु पनि पर्छ …।’

युद्धप्रसाद मिश्र आफ्नो साहित्य यात्राको सुरुदेखि नै दलित, पीडित र शोषित जनताको पक्ष लिने साहित्यकार थिए र यो प्रगतिशील प्रगतिवादी उनी आजीवन प्रतिबद्ध रहेका थिए । मिश्र प्रगतिवादी मान्यताप्रति प्रतिबद्ध भएर नै कविले समाजमा हुने तमाम खाले अवरोध हटाउन सक्ने सन्देश दिन सक्छ भन्ने कुरामा विश्वास गर्दथे । त्यसैले २००४ पछि उनले आफ्नो यही लक्ष्य पूरा गर्न नै वैचारिक प्रतिबद्धतासहितका प्रगतिवादी कविता लेख्न पुगेका थिए । जीवनयात्राको अन्तिम वर्षमा आफ्नो साहित्यिक मान्यता तथा कविता–यात्राको विगत र वर्तमानको क्रियाशीलतालाई मूल्यांकन गर्दै मिश्रले व्यक्त गरेका अभिव्यक्तिहरूले पनि दर्शन र साहित्यप्रतिको उनको प्रतिबद्धता बारे यथेष्ट जानकारी पाउन सकिन्छ । मिश्रले लहर पत्रिकाको २०४७ माघ—फाल्गुणको अंकलाई दिएको अन्तर्वार्ताका यी पक्तिहरू अध्ययन गर्दा पनि मिश्रको मान्यताबारे थाहा पाउन सकिन्छः

…म आफू उभिएको ठाउँ हेर्छु । मेरो साहित्यले तमाम शोषण, दमनमात्र होइन कि हरेक मानव पीडा, रोग, शोक, भोकदेखि पनि मुक्त हुने बाटोलाई पछ्याएको छ । योभन्दा पनि अझ सुदूर अनन्त बाटोमा गतिमान हुनु मेरो आकांक्षा हो । प्रथमतः शोषण, दमनसँगको संघर्ष तय हुनुपरेकाले त्यसै अनुरूप साहित्य सिर्जना गर्नेतर्फ मेरो कलम अग्रसर भएको हुनुपर्दछ । मेरो चेतनाले विपरीत वर्गसितको संघर्षलाई अनिवार्य ठानेकाले नै सत्तासितको संघर्ष स्वाभाविक प्रक्रिया बन्न गयो । यसो भएर नै समकालीन आफ्ना प्रिय साथीहरूको आकांक्षादेखि मैले आफ्ना आकांक्षा भिन्न बनाउनु परेको हो । अनेकौं आर्थिक संकटले घेरिँदा पनि म अविचलित रूपले सर्वहारा वर्गीय साहित्य सिर्जनामा लागेको छु, आफ्नो सिद्धान्तलाई अझै छाडेको छैन…।’

माथि उल्लिखित सन्दर्भबाट हेर्दामात्र होइन, व्यावहारिक जीवन भोगाइका आधारमा हेर्दा पनि मिश्रले आजीवन शोषक, उत्पीडक तथा निरंकुशतन्त्रका विरुद्ध सशक्त रूपमा आवाज उठाएर आफूलाई शोषित पीडितका पक्षमा उभ्याएका थिए । यसै भएर नै मिश्रलाई राणा प्रधानमन्त्री भीमसमशेर जबराको पालादेखि निरंकुश पञ्चायती शासन कालसम्मका शासकले युद्धप्रसाद मिश्रप्रति अनेकौं पीडा, यातना र दिँदै घोर अन्याय गरेका थिए । मिश्रप्रति यस्तै प्रकारको अन्याय २०४७ सालपछिका प्रजातन्त्रवादी या लोकतान्त्रिक गणतन्त्रवादी सरकार र सरकारवादी संघ संस्थाबाट हुँदै गरिँदै आएको देखिंदैछ । खुल्ला आँखाले देखिने यस्तो प्रकारको नांगो नाँच या घोर अन्याय देखेर पनि आवाज नउठाउनु बौद्धिक बेइमानी नै हो ।

मिश्र सधैं बुद्धिजीवीले न्याय र सत्यका पक्षमा बोल्नु पर्दछ भन्ने मान्यताका पक्षमा अभिव्यक्ति दिने गर्दथे । उनैद्वारा लिखित ‘न्याय नबोल्नु हो बेइमानी’ शीर्षकको कवितालाई नै यहाँ लेखको शीर्षकका रूपमा प्रयोग गरी युद्धप्रसाद मिश्रलाई हेर्ने सरकार, सरकारी संस्था र त्यसमा काम गर्ने सरकारी नियुक्ति प्राप्त प्राज्ञ व्यक्तित्वहरूको दृष्टिकोणका बारेमा केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले हालसालै (२०७७) मा अंग्रेजी भाषामा अनुवाद गरिएका (द भ्वाइस अफ नेपाल एन एन्थोलोजी अफ नेपाली पोयम्स्) नामको आधुनिक नेपाली कविताको सँगालो प्रकाशनमा ल्याएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रधान सम्पादक र महेश पौड्याल सम्पादक रहेको उक्त सँगालोमा धरणीधर कोइरालादेखि शशि थापा पण्डितसम्मका १ सय २ कविका कविता संकलित छन् ।

तर, यस सँगालोमा विसं १९८८ वैशाखदेखि औपचारिक कविता यात्रा सुरु गरेका आधुनिक नेपाली साहित्यका सशक्त कवि मिश्रलाई कुनै स्थान दिइएको छैन् । आधुनिक नेपाली साहित्यकको स्वच्छन्दतावादी धारा (१९९१–२००३)का स्वयंमा एकापसका प्रतिस्पर्धी स्थापित त्रिमूर्ति (लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र युद्धप्रसाद मिश्र) मध्येका एक तथा २००४ सालपछि नेपाली प्रगतिवादी साहित्यका स्थापित मूर्धन्य कविका रूपमा चिनिने मिश्रलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णरूपमा निषेध÷बहिष्कार गरिएको देखियो ।

राज्यको कोष खर्च गरी लेखिएको, प्रकाशन गरिएको सामग्रीमा दृष्टिकोणमा स्पष्टता र पारदर्शिता तथा सामग्री छनौटमा पूर्वाग्रह रहित हुनुपर्दछ भन्नु सर्वमान्य सिद्धान्तभित्र पर्ने कुरा हो । सर्वमान्य मान्यताको यस्तो सिद्धान्त भए पनि प्रस्तुत पुस्तकमा मिश्रलाई हेर्ने दृष्टिकोणमा सम्पादकहरूले न्यूनतम नैतिक मूल्य ग्रहण गरेको देखिएन । नेपाली साहित्यमा सामन्तवादी संस्कृतिलाई रुचाउने शास्त्रीयतावादी धारका कतिपय साहित्यकार तथा स्वयं सामन्तवादको पक्ष्यपोषण गर्ने नेपाल प्रज्ञा प्रतिष्ठान सधैं नै प्रगतिवादी साहित्य र साहित्यकारप्रति अनुदार रहँदै आएकै हो । प्रतिष्ठानले मिश्रप्रति पञ्चायती कालदेखि गरिँदै आएको पूर्वाग्रही पक्षपातपूर्ण व्यवहारलाई नै निरन्तरता दिएको देखिन्छ ।

युद्धप्रसादका कविताहरू सुरुदेखि नै सामन्तवादी राजनीति र संस्कतिका विरुद्ध आगोको ज्वाला नै ओकल्ने प्रकृतिका थिए । उनले १९८६ तिर रचना गरेको ‘अहिंसा प्रार्थना’मा राणा शासकहरूको हिंसावादी प्रवृत्तिको आलोचना गरेको भनेर मिश्रकै अगाडि श्री ३ महाराज भीमसमशेरले उक्त काव्य च्यातेर आगोमा जलाइदिएका थिए । जुद्धसमशेरको कठोर शासन कालमा पनि मिश्रले आफूलाई कसैको आदेश या अधीनमा राख्न नचाही आफ्नै स्वतन्त्र कवि चेतनालाई नै आफ्नो सरकार मानी उसैको आदेशमा हिंड्न चाहेको भन्ने अभिव्यक्ति दिएर जहानिया राणा शासन विरोधीका रूपमा उभ्याएका थिए । यो कुरा बुझ्न १९९७ सालको सहिद काण्ड हुनुभन्दा केही दिनपूर्व मिश्रले लेखेको ‘नौ बज्यो’ भन्ने कविताका यी पंक्तिले पनि मद्दत पुर्याउँछन्ः

जगत सुन्दर यो दरबार छ
हृदय सुन्दरले भरमार छ
विभवको कटुता तबार छ
म कविको कविता सरकार छ ।

यसरी ९ बजे अफिस लाग्ने तत्कालीन सरकारी नियमको बेवास्ता गर्ने मिश्रले आफ्नो काव्ययात्राको सुरुदेखि नै स्वच्छन्दतावादी विद्रोही चेतना भएका कविता लेखका थिए । यही चेतनाको परिशोधन गर्दै पछिल्लो समयमा उनले आफूलाई प्रगतिवादी क्रान्तिकारी धारमा रूपान्तरण गरेका थिए ।

मिश्र समग्र रूपमा सामन्तवादी संस्कृति र त्यस राजनीतिको केन्द्रीय नायक राजा र राजतन्त्रको नै समूल रूपमा अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्दथे र त्यसै अनुरूपका कविता, कथा आदि लेख्थे । यसै भावना अनुरूप लेखिएका उनका ‘अमर कथा’ कथा संग्रह २०१५ मा र ‘बाढी’ कविता संग्रह २०३८ सालमा सरकारले प्रेसबाटै जफत गरेको थियो ।

पञ्चायती व्यवस्था लागू भएपछि मिश्रका काव्यकृति नेपालमा पढ्न पनि प्रतिबन्धित गरिनुका साथै उनका कविता पाठ्यसामग्रीबाटै हटाइएको थियो । नेपाली भाषा प्रकाशिनी समितिले १९९८ देखि एसएलसी र आइए तहका पाठ्यक्रम पाठ्यपुस्तकका रूपमा तयार गरिएका ‘नेपाली पद्य संग्रह’ भाग १ र २ का पुस्तकमा प्रकाशित मिश्रका कविता पञ्चायती व्यवस्था लागु भएपछि स्थापित साझा प्रकाशनले प्रकाशन गर्न थालेको ‘साझा कविता’ भाग १ र २ का कतिपय संस्करणबाट उनका कविता र परिचय हटाउएको थियो । प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयले पनि पञ्चायत कालभरी मिश्रका कविता, कृति नपढाउने नीति नै अंगीकार गरेको देखिन्छ ।

नेपालको गणतान्त्रिक लोकतन्त्रको आन्दोलनमा मिश्रको भूमिका काव्यिक र भौतिक क्रियाशीलताका कारण पनि अतुलनीय छ । उनले सामन्तवाद विरोधी कविता सिर्जनाका साथै २००४ साल वैशाख ८ मा वीरगन्जमा लेखक, कलाकार तथा बुद्धिजीवीले राणा शासकका विरुद्ध गरेको आन्दोलन तथा २०४६ चैत ३ गते निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध ‘मुखमा कालो पट्टी’ बाँधेर गरिएको आन्दोलनको अग्रपंतिमा रही नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यसै कारणले पनि नेपाली साहित्यका क्षेत्रमा स्वच्छतावादी, प्रगतिवादी दुबै धाराका स्थापित साहित्यका तथा प्रजातन्त्रवादी एवं माक्सवादी राजनीतिक पार्टीका व्यक्तित्वले समेत मिश्रलाई अति आदर भावका साथ श्रद्धा गर्ने गर्छन् ।

इतिहास बनाउने कुरा सामान्य होइन, मानिसले जीवनपर्यन्त संघर्ष, लगानी र त्याग गरेका थोरै मानिसले मात्र जीवनको निष्कलंकित इतिहास बनाउन सक्छन् । यस्तो निष्कलंकित इतिहास नेपाली साहित्यका पुराना पुस्ताका साहित्यकारमध्ये मिश्रले मात्र बनाउन सके । आजीवन जनताको हित हुने व्यवहारिक चिन्तन र सिद्धान्तप्रति प्रतिबद्ध रही सामन्तवादका विरुद्ध भएका हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै मिश्रले आफूलाई नेपाली साहित्यका क्षेत्रमा सामाजिक रूपान्तरणकारी अग्रगमनकारी बौद्धिक व्यक्तित्वको रूपमा उभ्याएका थिए । जहिले पनि चिन्तन र व्यवहारलाई संगतिपूर्ण तरिकाले अगाडि बढाउँदै उठेको मिश्रको यो इतिहासलाई गिराउन या समाप्त गर्न कुनै व्यक्ति या संस्थाले मिल्छ ?

नेपाली साहित्यका क्षेत्रमा आजीवन सामन्ती राज्यसत्ताको विरुद्ध आवाज उठाएर नेपाली समाजमा गणतान्त्रिक चेतना जगाउने कवि हुन् उनी । आजीवन सामन्ती राज्यसत्ताको उत्पीडन सहेका मिश्रलाई मृत्युपछि पनि नेपालको वर्तमान गणतान्त्रिक राज्यसत्ताले अपमानित, तिरस्कृत गर्दै उनको निष्कलंकित इतिहास नै नामोनिसान नरहने गरी मेट्ने प्रयत्न गरेको छ र राज्यसत्ताबाट गरिने यस्तो कार्य अपराधपूर्ण, बदनियतपूर्ण नै छ र यो निन्दनीय पनि छ ।

अहिले पनि प्रज्ञाप्रतिष्ठान सामन्ती चिन्तनबाट मुक्त हुन सकेको छैन भन्ने कुरा यस लेखका पंतिकारले बारम्बार उठाउँदै आएको हो । यस सम्बन्धमा पंतिकारका ‘फरक मान्यताका दुई शिविर प्रलेस र नेराप्र’ (गोकुलदीप, २०६१) र ‘प्रज्ञाप्रतिष्ठान अग्रगामी चेतनाको केन्द्र बन्न सक्ला ? (समाधान, २०६३ साउन २७) भन्ने लेखहरूबाट प्रज्ञाप्रतिष्ठानबाट हुँदै÷गरिँदै आइएका सामन्तवादी चिन्तन र व्यवहारका बारेमा यथेष्ट मात्रामा आलोचना गरिएको थियो ।

त्यसै गरी २०७६ भाद्र १४ गते प्रज्ञाभवनमा आयोजित र प्रज्ञाप्रतिष्ठानका प्रायः सबैजसो पदाधिकारी तथा प्राज्ञ लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहेको विचार गोष्ठीमा पनि यस पंक्तिकारले प्रस्तुत गरेको ‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक गोष्ठीपत्र र सो गोष्ठीपत्रलाई प्रस्तुत गर्ने क्रममा ‘व्यक्ति परिवर्तन भए पनि प्रज्ञाप्रतिष्ठानमा परम्परागत रूपमा चल्दै आएको सामन्ती चिन्तन, संस्कार र व्यवहारमा कुनै परविर्तन आएको छैन’ भनी किटानीका साथ व्यक्त गरेको धारणाबाट पनि स्पष्ट हुन्छ । यस पंक्तिकारबाट व्यक्त गरेका उक्त धारणाहरूलाई अहिले प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको अंग्रजी संस्करणको आधुनिक नेपाली कविता संग्रह (द भ्वाइस अफ नेपाल एन एन्थोलोजी अफ नेपाली पोयमस् ) ले पुनः पुष्टि गरिदिएको छ ।

आजीवन सामन्ती राज्यसत्ताद्वारा पीडित भएर पनि सामन्तवाद र त्यसको केन्द्रीय नायक राजा र राजतन्त्रलाई समूल रूपमा समाप्त गर्नु पर्दछ भन्दै गणतन्त्रको पक्षमा सशक्त आवाज उठाउने जनकवि युद्धप्रसाद मिश्रलाई पूर्णरूपमा निषेध गरेर नेपाल प्रज्ञाप्रतिष्ठान (राज्यसत्ता)द्वारा नेपाली समाजमा के सन्देश दिन खोजिएको हो ?
मिश्र जहिले पनि सचेत नागरिक तथा बुद्धिजीवीसँग जनहित र सामाजिक न्यायका पक्षमा आवाज उठाउन आग्रह गर्दथे । समाजमा अन्याय भएको देख्दादेख्दै पनि अन्यायका विपक्षमा नबोल्नुलाई बेइमानी मान्दथे भन्ने मिश्रले आफ्नो जीवन यात्राको ८३ को उमेरमा लेखेको ‘न्याय नबोल्नु हो बेइमानी’ शीर्षकको कविताका यी पंतिले पुष्टि गर्दछः

पतनशील छन् प्रतिगामीहरू
उत्सर्जित तिमी आफूचाहिँ
बस्नु कसोरी मुठ्ठी बाँधी
त्यस्ताहरूसित पनि डर मानी
न्याय नबोल्नु हो बेइमानी ।

वास्तवमा नेपाली साहित्यमा प्राथमिक कालदेखि नै कतिपय कवि, लेखकले सामन्तवादी संस्कृति र राज्यसत्ताका ज्यादतीका विरुद्ध आवाज उठाउँदै आएका भए पनि शासकहरूले सामाजिक रूपान्तरण गर्ने प्रगतिशील चेतना भएका रचनाहरू आफ्नो हितअनुकूल नभएको ठानी प्रतिबन्धित गरी त्यस्ता लेखकलाई कठोर यातना दिने या अपमान गर्ने नीति लिंदै आएका थिए । सामन्तकालीन समाजमा चल्ने यस्तो न्यायहीन विभेदकारी परम्पराको अनुशरण अहिलेको गणतान्त्रिक युगमा हुनु भनेको खेदजनक कुरा नै हो । त्यस्ता खेदजनक कार्य नेपाल प्रज्ञाप्रतिष्ठानले बेला बेलामा गर्दै आएको छ ।

अहिले नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित पुस्तकका माध्यमबाट मिश्रलाई आधुनिक नेपाली कविताका फाँटबाटै निषेधित गर्ने कार्य गरिएको छ । संस्था या व्यक्ति जोसुकैबाट गरिएको भएको पनि यो सरकारी स्तरबाट गरिएको संकीर्णतावादी कार्य नै हो जुन कार्य खेदजनक मात्र होइन निन्दनीय तथा बहिष्करणीय पनि छ ।

(विशेष जानकारी प्राप्त गर्न लेखकद्वारा मिश्रका बारेमा गरिएको विद्यावारिधि शोधप्रबन्ध ‘युद्धसाद मिश्रका कविताको विश्लेषण, २०६२’ र ‘युद्धसाद मिश्रका र उनका कविता, २०६५’ अध्ययन गर्नका लागि अनुरोध छ)

तपाईको प्रतिक्रिया