मुस्ताङमा नाम मात्रैको निषेधाज्ञा

एसके थकाली \ जोमसोम
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नुपर्ने भन्दै मुस्ताङ प्रशासनले जारी गरेको निषेधाज्ञा नाममा मात्रै सीमित छ । जिल्ला कोभिड—१९ संकट ब्यवस्थापन समितिको निर्णय अनुसार श्रावण ३२ गतेसम्म निरन्तरता दिईएको निषेधाज्ञा पछिल्लो समय फितलो बनेको हो।
कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङमा गत बैशाखदेखि मुस्ताङ प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिर्दैआईरहेको छ ।स्थानीय प्रशासनले कोरोना संक्रमण फैलिनसक्ने भन्दै मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर बैशाखको दोश्रो सातादेखि बन्द गराएको थियो ।पछिल्लो समय कोरोना भाईरसको तेश्रो भेरियन्टको जोखिम तथा त्रास बढिरहेको भएपनि मुस्ताङ प्रशासनले जारी निषेधाज्ञालाई कडाई गर्न नसकेको हो । जोखिम कायमै रहेको भएपनि प्रशासनको मौनताले निषेधाज्ञा फितलो भएको सरोकारवालाहरु बताउँछन् ।
स्थानीय प्रशासनले कोरोना संक्रमणदर कम हुदै गएपनि जोखिम यथावत रहेको उल्लेख गर्दै पछिल्लो समय श्रावण १४ गते दुई साताका लागि निषेधाज्ञा थपेको थियो । जोखिम यथावत रहेको उल्लेख गर्दै निषेधाज्ञा अवधिभर अन्तर जिल्ला सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन चलाउन नपाईने जनाएपनि निषेधाज्ञा उलंघन गर्दै लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन निर्वाध रुपमा चलेका छन् ।
निषेधाज्ञाको समयमा अतिआवश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन ,जथाभावी हिडडुल नगर्न अनुरोध गरिएपनि जोखिमको बेवास्ता गर्दै मानिसहरु हिडडुल गरेको पाईएको छ ।यस्तै ,धार्मिक ,सामाजिक ,सांस्कृतिक परम्परा अनुसार मन्दिर,गुम्बा ,चैत्य,बिहार,मस्जिद र चर्च आदीमा लाग्ने पर्व ,मेलामा भेला हुन् रोक लगाएपनि जिल्लामा धार्मिक मेला महोत्सव जस्ता क्रियाकलाप संञ्चालन भईरहेको पाईएको छ ।
सार्वजनिक स्थानमा खेलकुद,नाच,मेला ,जात्रा ,महोत्सव , भोजभतेर र भीडभाड आदी गतिविधि गर्न नपाईने निषेधाज्ञामा उल्लेख छ । तर उक्त निर्णयको बेवास्ता गर्दै मेला÷महोत्सव र भीडभाडको गतिविधि नरोकिदा संक्रमणको जोखिम बढ्ने सम्भावना छ । अतिआवश्यक कामकाज बाहेक अन्य जिल्लाबाट मुस्ताङ प्रवेश गर्न नपाईने भएपनि जिल्लाबाहिरबाट मानिसको आउजाउ बढेको छ ।
प्रशासनले जिल्लाका शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै परिक्षाफल प्रकाशित गर्न र नया शैक्षिक सत्रको बिद्यार्थी भर्ना गर्न अनुमती दिएपनि मुस्ताङका अधिकाश बिद्यालयमा सो मापदण्ड भन्दा माथि उठेर बिद्यालयले भौतिक रुपमै कक्षा संञ्चालन गरेका छन् । निषेधाज्ञामा तोकिएको २ मिटरको भौतिक दुरी सार्वजनिक स्थल ,पसल,टिकट काउन्टर,बिद्यालय र समाजमा पालना भएको छैन ।
कोरोनाको तेश्रो भेरियन्टको जोखिम बढिरहेको बेलामा स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाईको रुपमा कार्यान्वयन गर्न नसकेको हो । मुस्ताङमा चाडपर्व नजिकिदै गईरहेको र स्याउ बिक्री गर्ने समय भएकाले स्थानीय प्रशासनलाई निषेधाज्ञा कार्यान्वयन गर्न चुनौती हुने देखिएको छ ।
तपाईको प्रतिक्रिया