स्वास्थ्य कार्यालय सचिवको ताराे !

समाधान संवाददाता २०७८ साउन ३१ गते १२:२६


पोखरा – कोरोना विरुद्धको खोप अभियान नचल्दा पनि स्वास्थ्य कार्यालय कास्की खोपकै काममा व्यस्त भइरहन्छ । हुन पनि महिनाका ४ शनिबारबाहेक २६ दिन खोपकै लागि उक्त कार्यालयका कर्मचारी खटिन्छन् ।

बिसिजी, डिपिटी, रुबेला र टिटी लगायतका खोप यही कार्यालयले स्थानीय सरकारका स्वास्थ्य शाखाहरुलाई पठाउँछ । ती शाखाहरुले पालिकाका स्वास्थ्य संस्थालाई खोप दिन्छन् । वर्षभरि नियमित रुपमा ८ थरी खोपको कार्यक्रम चलिरहन्छ ।


सरकारले निशुल्क उपलब्ध गराउने ७० थरी औषधी पनि पालिकाहरुकहाँ स्वास्थ्य कार्यालयले नै पठाउँछ । ती औषधी र ८ थरी खोप राख्ने भण्डार कार्यालयमा छ । कोरोना विरुद्धको खोपको भण्डारण पनि यही कार्यालयमा भइरहेको छ । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राखेको यही कार्यालयको भवनमा भने गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्माले आँखा लगाएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको जमिनमा बनेको भवनबाट स्वास्थ्य कार्यालय कास्कीलाई हटाउने निर्णय गरेका छन् ।


अहिले कास्कीको स्वास्थ्य कार्यालय रानीपौवाबाट अस्पताल पुग्ने बाटोमा बीचमा नर्सिङ क्याम्पसभन्दा केही माथि पश्चिममा अवस्थित छ । सचिव शर्माले स्वास्थ्य कार्यालय हटाएर त्यहाँको आकर्षक भवनमा पहिला आफूले सम्हालेको प्रदेश स्वास्थ्य निर्देशनालय सार्ने निर्णय गरेका हुन् । १७ साउनमा त्यस्तो निर्णय गरेर शर्माले ७ दिनभित्र त्यहाँबाट कार्यालय अन्त सार्न पत्राचार गरेका छन् । ७ दिने म्याद दिइएको पत्र भने स्वास्थ्य कार्यालयले २४ साउनमा प्राप्त गरेको थियो ।


शर्माले गरेको निर्णयअनुसार मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा रामबहादुर केसीले पत्राचार गरेका छन् । पत्रमा स्वास्थ्य कार्यालयलाई प्रदेश स्वास्थ्य तालिम केन्द्र रानीपौवाको महिला छात्रावासमा सार्न भनिएको छ । छात्रावासका कोठा निकै साँघुरा छन् ।


खोप भण्डारण भएको अहिलेको कार्यालयमा २४ घन्टा नै भण्डारको पहरेदारी गर्नुपर्छ । तापक्रमको सन्तुलन बिग्रन नदिन कर्मचारी खटिनुपर्छ । ‘तर कार्यालयलाई तालिम केन्द्र सार्दा त्यो सम्भव हुन्न,’ खोपका जानकार भन्छन् ।


स्वास्थ्य कार्यालयले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको जग्गा भोगाधिकार लिएको हो । जुन प्रदेश मातहतको अस्पताल होइन । भोगाधिकार लिँदाको सम्झौतामा कार्यालय सरेको खण्डमा सबै भौतिक सम्पति अस्पतालको हुनेसमेत उल्लेख छ ।

स्वास्थ्य कार्यालयलाई त्यहाँबाट हटाई सचिव शर्माले राख्न खोजको प्रदेश स्वास्थ्य निर्देशनालयको कार्यालय अहिले अस्पतालकै हातामा पर्ने जमिनको भवनमा छ । जहाँ २०६६ अघिसम्म जिल्ला जनस्वास्थ्य कार्यालय पनि थियो । मुलुक संघीयतामा गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयको नामसमेत स्वास्थ्य कार्यालयमात्रै बनाइएको हो । अहिले त्यहाँ प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत आइपुगेको छ ।


प्रदेश सरकारले मन्त्रालयहरु ७ बाट बढाएर ११ पु¥याएपछि मन्त्रालयहरुलाई कार्यालय भवन अभाव भएको छ । त्यसको मारमा स्वास्थ्य कार्यालय पर्न लागेको हो । स्वास्थ्य कार्यालयको भवन २०६६ मात्रै निर्माण भएको हो । जसमा पोहोरसालमात्रै भित्र रङरोगन गरिएको थियो भने यसपालि बाहिर गरिएको छ ।


‘एक त खोप भण्डार छ, औषधी भण्डार छ,’ स्वास्थ्य कार्यालयका एक कर्मचारी भन्छन्, ‘क्षयरोग र मलेरिया जाँचको ल्याब छ, यस्तो ठाउँबाट अन्त कहाँ सर्ने ?’ २०६४÷६५ देखिको लेखाको सक्कल स्रेस्तासमेत कार्यालयका कोठाका भित्तामा निर्मित स्थायी ¥याकमा राखिएको त्यहाँका कर्मचारी बताउँछन् । ‘हामी कार्यालय सर्न कुनै हालतमा सम्भवै हुँदैन, यसरी बलमिच्याइँ त गर्न भएन,’ उनले भने, ‘हामी कर्मचारी आज यो कार्यालयमा छौं, भोलि अन्त जाउँला, हाम्रो कुरा भन्दा पनि कार्यालयको काम र प्रकृति अनुसार नै सार्न सम्भव देखिन्न ।’


प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य तालिम केन्द्रमा सर्ने भनेर हालै स्टिमेटसमेत भएको स्रोत बताउँछ । तर मन्त्रालयका सचिव शर्माले भने त्यो प्रक्रिया अघि नबढाई जिल्लाको स्वास्थ्य कार्यालयलाई सर्न निर्देशन थोपरेका छन् । यस विषयमा स्वाथ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङसमेत सचिव शर्मासँग असन्तुष्ट बनेको मन्त्रालय स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया