गण्डकीमा मुख्यमन्त्री आलोपालो गर्न माओवादीको माग

समाधान संवाददाता, पोखरा
गण्डकीमा चार दलीय गठबन्धनको सरकार बनेको २ महिनामै आलोपालो चलाउनुपर्ने माग उठेको छ । २९ जेठमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकार बनेको २ महिनामै आधा÷आधा कार्यकाल चलाउनुपर्ने माग माओवादी केन्द्रले राखेको हो ।
माओवादीको केन्द्रीय कमिटी बैठकमा लुम्बिनी प्रदेशमाझैं गण्डकी समूहले आलोपालो चलाउनुपर्ने माग राखेको हो । लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने गरी माओवादीका कुलबहादुर केसीको नेतृत्वमा सरकार गठन भएको छ ।
शनिबारदेखि काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा आइतबार पार्टीका गण्डकी अध्यक्ष हितराज पाण्डेले आलोपालो चलाउनुपर्ने माग राखेका हुन् ।
गठबन्धनमा सहमति गराएर आलोपालो चलाउन प्रक्रिया थाल्न पाण्डेले शीर्ष नेताहरुलाई आग्रह गरेका हुन् । ‘लुम्बिनीमा बाँडेपछि यता (गण्डकी)मा पनि बाँड्नुप¥यो ।
आधाआधा कार्यकाल चलाउनुपर्छ,’ पाण्डेले भने । पार्टी नेतृत्वले गठबन्धनमा यस सम्बन्धी कुरा राख्नुपर्ने उनको जिकिर छ । गण्डकीबाट १६ जना नेता केन्द्रीय कमिटी बैठकमा सहभागी छन् । उनीहरुको तर्फबाट बोल्दै नेता पाण्डेले आलोपालोको माग राखेको माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । ‘हाम्रो समष्टिगत बोली उहाँले राख्नुभएको हो, लुम्बिनीको मोडल गण्डकीमा पनि लगाइनुपर्छ भन्ने माग हो,’ चुमानले भने ।
गण्डकी प्रदेश सभाका माओवादी सांसदहरुको चाहना पनि त्यही रहेको चुमानले बताए । गण्डकीको सत्ता गठबन्धनमा आफूहरुले कुरा नराखेपनि आलोपालो नै चलाइनुपर्ने चुमानको जिकिर छ । ‘गठबन्धन त केन्द्रबाट नै बनेको हो, गण्डकीमा भनेर हुँदैन । केन्द्रमै भन्नु पर्ने भएर त्यहाँका नेताहरुलाई यो प्रस्ताव राख्नुपर्दैन, केन्द्रले नै कुरा मिलाउनुपर्छ,’ चुमानले भने ।
गण्डकीमा यसअघि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकार ढालेर कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाइएको थियो । झण्डै २ महिनाको कसरत पछि गुरुङ सरकार ढाल्दै गठबन्धन सत्ता आरोहण गरेको थियो ।
तपाईको प्रतिक्रिया