कास्की प्रहरीले थाल्यो अनलाइन सचेतना अभियान

समाधान संवाददाता २०७८ भदौ १ गते १२:१६

समाधान संवाददाता
पोखरा
– चालु आर्थिक वर्षको एक महिनामा २ फरक मुद्दामा कास्कीका ५ बालकपक्राउ परेका छन् । जबरजस्ती करणीमा ४ र लागुऔषध कारोबारमा १ बालक पक्राउ परेका हुन् । पक्राउ पर्ने ५ जना नै १२ वर्षमुनिका छन् । झट्ट सुन्दा आश्चर्य लाग्न सक्ने यी घटनाजस्तै अन्य घटनामा पनि बालकहरुको संलग्नता बढ्दो छ ।


पीडित हुने बालबालिकाको संख्या पनि बढ्दो छ । गत आर्थिक वर्ष २०७७÷७८ मा ३३ बालिका जबरजस्ती करणीमा परेको कास्की प्रहरीको तथ्यांक छ । १६ बालिका बालयौन दुरुपयोगको सिकार भएका छन् भने २ बालक अप्राकृतिक मैथुनको सिकार भएका थिए । बालविवाहका ४ घटना कास्की प्रहरीमा दर्ता भएका छन् ।


त्यसअघिको आवमा बालबालिकाविरुद्ध घटेका ५० मुद्दा कास्की प्रहरीकहाँ आएका थिए । जबरजस्ती करणीका २४, जबरजस्ती करणी उद्योगका ८, बालयौन दुरुपयोगका १०, अप्राकृतिक मैथुनका ५, मानव बेचबिखनका २ र बालविवाहका १ मुद्दा कास्की प्रहरीमा परेका थिए ।

Advertisement


बालबालिकामाथिको बढ्दो हिंसा र हिंसामा मुछिने बालबालिकाको संख्या बढ्दै गएपछि कास्की प्रहरीले अनलाइन सचेतना अभियान थालेको छ । प्रहरी–विद्यार्थी सम्पर्क कार्यक्रम अन्तर्गत आइतबारबाट कास्की प्रहरीले अनलाइन सचेतना अभियान थालेको हो ।


जिल्लाभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट साइबर अपराध, बालविवाह, लागुऔषध, सडक अनुशासनसम्बन्धी सचेतना कार्यक्रम सुरु भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापा बताउँछन् । ‘बालबालिकाविरुद्ध अपराध बढ्दो क्रममा रहेको र पिडक र पीडित युवाहरु नै रहेको पाइएकाले यो कार्यक्रम थालिएको हो,’ थापाले भने ।

Advertisement


पहिलो दिन आइतबार कास्कीका ७ विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । पहिलो दिन एसपी थापाले नदीपुरको न्यू ग्यालेक्सी एकेडेमीको कक्षा १२ का १ सय विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । आइतबार तालचोकको डायमन्ड बोर्डिङ, रत्नचोकको सबलाइम बोर्डिङ, पालिखेचोकको प्रतिभा मावि, लिटिल स्टेप मावि, ज्ञानोदय मावि र भद्रकाली माविमा सचेतना कार्यक्रम आयोजना भएको थियो । यस्तै दोस्रो दिन सोमबार तालबाराही माविका ६५ जना विद्यार्थीलाई सचेतना कार्यक्रम दिइएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक मुकेश न्यौपानेले लागुऔषध, लागुऔषधको कारोबार, अपराध, अपराध नियन्त्रण र कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया