एमाले फुटाउन अध्यादेश

नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने तयारी, नयाँ पार्टी बनाउने नेपालको घोषणा
समाधान संवाददाता
पोखरा-लामो समयदेखि विवादको भुमरीमा फसेको प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा फुटउन्मुख भएको छ । आफूलाई सत्तारोहणका बेला विश्वासको मत दिएको माधव नेपाल पक्षलाई सहज हुने गरी मंगलबार सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।
अध्यादेश आएपछि एमालेको नेपाल पक्ष र सजपाको महन्थ पक्षलाई नयाँ दल गठनका लागि सहज हुने देखिन्छ । अध्यादेशपछि दुवै पक्षले पार्टी विभाजनका लागि आवश्यक हैसियत पाउनेछन् भने संसद पद पनि गुमाउन पर्ने छैन ।
सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाउन एमालेको नेपाल पक्षको मत पाउन यस्तो निर्णय गरेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको छ । गत बैशाखमा केपी शर्मा ओलीले दल विभाजनका लागि यस्तै अध्यादेश ल्याउँदा त्यसको विरोधमा अहिलेको सत्ता गठबन्धन थियो । अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव नै सहमतिमा अहिले अध्यादेश आएको छ ।
अध्यादेश ल्याउने सरकारको निर्णयसँगै अब फुटको डिलमा पुगेको एमाले विभाजनका कानुनी आधार तयार बनेको छ । जसपाभित्र पनि आधिकारिकता गुमाइसकेको महन्थ ठाकुर लगायतका नेतालाई बाहिरिनका लागि पनि सहज भएको छ।
यता, अध्यादेशको नेकपा ९एमाले० को स्थायी कमिटीले प्रतिवाद गरेको छ । एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले आफ्ना नेता र कार्यकर्तालाई सरकारको कदमको विरुद्धमा र पार्टी एकताको पक्षमा उभिन आह्वान गरेको छ । एमालेले मंगलबारै नेता नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
१४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गराएको छ । कारवाही गरिएका सांसदमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् ।
सरकारले सुरुमा ३० प्रतिशत राखेर अध्यादेश ल्याउने तयारी गरेको थियो । तर, जसपाका नेताहरुले आफ्नो पार्टीलाई समेत सहज हुनेगरी अध्यादेश ल्याइदिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले २० प्रतिशत राखेर अध्यादेश ल्याएको हो ।
जसपमा संघीय संसदमा रहेका ३४ सदस्यमध्ये ठाकुर पक्षमा प्रतिनिधिसभाका १२ सदस्य छन् । पार्टी विभाजन गर्दा कतिपय सदस्य नजान सक्ने अनुमानका आधारमा जसपा नेता महन्थ ठाकुरले यस्तो अनुरोध गरेका हुन् ।
अध्यादेश आएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ‘पार्टी पुनर्गठन’ गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । उनले आफूपक्षीय जनवर्गीय संगठनको ‘भर्चुअल’ छलफलमा यस्तो घोषणा गरेका हुन् ।
उनले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका बन्द नहुने जनाए । उनले भने, ‘नयाँ पार्टी खोलिहाल्यौं भने पनि केपी ओलीले सबै गल्ती स्वीकार गर्दा एकताको ढोका खुला हुनेछ।’
आफूसँग क्रान्तिकारी विचार भएकाले बलियो हुने उनले दाबी गरे । उनले अब वडातहसम्म संगठन विस्तार गर्न र सदस्यको संख्या बढाउन निर्देशनसमेत दिएका छन् । आगामी निर्वाचनमा अन्य पार्टीसँग तालमेल वा एकता गरेर अघि बढ्ने उनले खुलाए ।
कार्यकर्तालाई उनले अहिलेको अवस्थाबाट निराश नहुन आग्रह गरे । उनले भने, ‘कहिले दाहिने र कहिले देब्रे हिँड्नुपर्छ । कहिले एकता र कहिले विभाजन हुन्छ।’








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया