एक घण्टाको बाटो दुई मिनेटमा छोट्टियो

समाधान संवाददाता २०७८ भदौ २ गते १३:१८

म्याग्दी, रासस

म्याग्दी र बागलुङको सिमानामा भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौँसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौँ गाउँका बासिन्दाले अब भने एक घण्टाको बाटो दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सजिलो भएको हो ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध ९सिमाना० मा बग्ने ढाडेनीखोलामाथि झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरेको हो । रु एक करोड ३९ लाख लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिनुभयो ।

Advertisement

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायतका गाउँका सयौँ मानिसलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी युवा भीमबहादुर घिमिरेले बताए ।

बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने वाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन् ।

Advertisement

पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय पुग्ने भएका छन् ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापरखेतमा बस्दै आउनुभएका प्रवेश कुवँरले बताउनुभयो । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया