झ्याप्पझ्याप्प बिजुली जाँदा पाेखरेली आजित

समाधान संवाददाता २०७८ भदौ ३ गते १३:२४

सञ्जय रानाभाट
पोखरा
-पोखरा ८ न्युरोडमा अफसेट प्रेस सञ्चालन गर्दै आएका मगनलाल श्रेष्ठलाई अहिले बिजुली टाउको दुखाइको विषय बनेको छ । झ्याप्पझ्पाप्प गइरहने बत्तीले उनको व्यापार मात्र घटेको छैन, भएका सामान पनि बिग्रन थालेका छन् ।


लोडसेडिङ मुक्त भएपछि उनले आफूसँग भएका ‘ब्याकअप’ हटाइदिएका थिए, इन्भर्टरलाई बेचिदिए । तर अहिले उनलाई इन्भर्टर तथा ब्याकअपको चरम आवश्यकता छाएको छ । उनी सुनाउँछन्, ‘दैनिक ४÷५ चोटिसम्म विद्युत जाँदा हैरान परेका छु । चार वर्षसम्म विद्युत गएन, ब्याकअप हटाइदिएको थिएँ । अहिले आएर दैनिक बिजुली जान्छ ।’


मगन लगातार बिजुली जाँदा कम्प्युटर बिग्रने समस्याले पनि आजित छन् । श्रेष्ठ भन्छन्, ‘अब इन्भर्टर नकिनी भाछैन । बिजुली जाँदैन भनेर बजारमा काम लिन्छांै । तर, झ्याप्प विद्युत जाँदा समयमा काम नसकिने समस्याले सताएको छ ।’ बरु प्रधिकरणले विद्युत जाने सूचना अघि नै दिँदा सजिलो हुने उनी बताउँछन् । भन्छन्, ‘सूचना नै नपाईबिजुली जाँदा धेरै दुख पाएका छु । साथ साथै खर्च पनि बढेको छ ।’
पोखराको सैनिक आवासीय विद्यालयमा अध्यापन गराइरहेका उपेन्द्र पौडेलले विद्युत जाने समस्याले राम्रोसँग विद्यार्थीको पठनपाठन गर्न नसकेको बताउँछन् ।

Advertisement

कोरोना महामारीपछि अनलाइन कक्षा सञ्चालन हुन थालेपछि बिहानै ६ बजे उठ्ने उनी, कहिलेकाहीँ भने निराश हुन्छन् । ‘कहिले बत्ती आफ्नोमा जान्छ । भने, कहिले विद्यार्थीको घरमा बत्ती जान्छ । एक जना टिचरकोमा बत्ती गयो भने सम्पूर्ण विद्यार्थीहरुलाई अन्योल सिर्जना हुने गर्छ । पठनपाठन अवरुद्ध हुन्छ,’ उनले भने, ‘पोहोर विद्युत क्लास चलाउनु चुनौती थियो । अहिले प्रभावकारी रुपमा कसरी कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने छ ।’


स्नातक प्रथम वर्षमा अध्ययान गर्ने समीर पाठकको बिहानै ६ बजे अनलाइन क्लासमा हुन्छन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा अध्ययन गर्ने उनी रेगुलर क्लास लिन समस्या भएको बताएका छन् । उनी भन्छन्, ‘कहिले कता बिजुली जान्छ कहिले कुन साथीको जाँदा रेगुलर क्लास लिन असहज भइरहेको छ ।’ सधँै जसो बिजुली जाने आउने गर्दा उनलाई धेरै नै अप्ठेरो छ । उनले भने, ‘कक्षा लिइरहेको बेला बिजुली जान्छ । कहिले तानेको डाटा खेर जान्छ । कहिले फेरि तान्नुपर्छ । डाटा सधैं तान्दा पनि समस्या हुन्छ ।’
४ वर्षअघि २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङ अन्त्य भयो ।तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमादेशलाई लोडसेडिङ मुक्त गराइयो । त्यसको ४ वर्षपछि फेरिबिजुली जाने समस्या चुलिएको छ । आजभोलि दिनहुँ झ्याप्पझ्याप्प बिजुलीजाने गरेको उपभोक्ता बताउँछन् । दैनिक बिजुली जाने समस्याले अब फेरि लोडसेडिङको तालिका आउनेमा उपभोक्ता सशंकित छन् ।

Advertisement


बिजुली काटिने अन्य कारणहरु पनि रहेको उनी बताउँछन् । उनका अनुसार सवारी दुर्घटना, आगो, हावाहुरी, चट्याङका कारण विद्युत अवरुद्ध हुने गरेको छ । उनी थप्छन्, ‘४० वर्ष पुराना पोलहरु छन् । हावाहुरी आउँदा लड्ने भाँचिने गर्दा विद्युतअवरुद्ध हुन्छ । लोडसेडिङ तालिका सर्वजनिक गर्न पर्ने अवस्था छैन ।’सडक विस्तार,टेलिकम, नेटका तार, खानेपानी पाइपका कारण पनि विद्युत मर्मत गर्न ढिलाइ गरेको हुने बताए ।


‘कुन ठाउँमा कति बेला भार बढ्छ थाहा हुँदैन । कुनै ठाउँमा ओभरलोडका कारणले पनि विद्युत जान्छ ।यस्तो ठाउँमा अर्को फिडर थपेर लोड कम गर्नुपर्छ । अहिले लाचोकमा एउटा फिडर बन्दै छ,’ उनले भने, ‘प्रसारण विद्युतहरु एकतर्फी हुँदा पनि बिजुली मर्मत गर्दा समय लाग्ने र धेरै ठाउँमा बिजुली काट्नुपर्ने कारणले समस्या आउँछ ।’


कास्कीमा दैनिक ३० मेगावट बिजुलीको माग छ । जिल्लामा ७८ हजार ७७ जना उपभोक्ता छन् । लोड बढ्दो छ । तर फिडर कम हुँदा लगातार बत्ती जाने गरेको उनले बताए । कास्कीभर ९.८२ प्रतिशत बिजुली चुहावट छ । उठाउन बाँकी बक्यौता असारसम्म २३ करोड ८८ लाख रहेको उनले बताए ।
सोलार र ब्याट्रीको व्यापार बढ्यो
बारम्बार बिजुली जान थालेपछि पोखराको सोलार र ब्याट्री पसलहरुमा भने अहिले ग्राहकको भिड लाग्न थालेको छ । झ्याप्प बिजुली जाँदा कम्पुटर तथा इलेक्ट्रिकल सामनहरु बिग्रिन थालेपछि सोलार ब्याट्रीको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया