मृगौला पीडितका लागि भन्दै चन्दा असुल्ने पक्राउ

समाधान संवाददाता २०७८ भदौ ४ गते १६:१०

समाधान संवाददाता

मृगौला पीडितको सहयोगका लागि भन्दै चन्दा असुल्ने ३ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पा माथगढी ४ का ३५ वर्षीय चुडाबहादुर रुचालको उपचारका लागि भन्दै रकम असुल्ने ३ जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । यसरी पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया एलिजा बस्नेत, ४४ वर्षीय धनबहादुर सेञ्चुरी र ३२ वर्षीय टेकबहादुर बस्नेत छन् ।

युनिक स्वयंसेवक नेपाल केन्द्रीय कार्याल धरान सुनसरी नामको संस्था दर्ता गरी उनीहरु कास्की आएका थिए । चन्दा असुली रहेको भन्ने सूचना पाएपछि कास्की प्रहरीले उनीहरु बसेको विजयपुरको न्यूहाई वे स्टाफ होटल एन्ड लजबाट पक्राउ गरेको हो ।

Advertisement

उनीहरुको साथबाट प्रहरीले चन्दा उठाउन प्रयोग गरिएका रसिद, पर्चा तथा नगद ४ लाख बढी रकम बरामद गरेको छ । उनीहरुले चन्दा संकलनका लागि समूह बनाएर दैनिक भाडामा १० वटा अटोटेम्पो लिएर देशका मुख्य सहरमा पुग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसअघि उनीहरुले विभिन्न १२ बिरामीको नाममा चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जामा पनि चन्दा असुलेको खुलेको कास्की प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध चन्दा ऐन २०३० अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया