लोमान्थाङमा ४ करोडको बैकल्पिक पदमार्ग निर्माण हुँदै

समाधान संवाददाता २०७८ भदौ ५ गते १०:५२


समाधान सम्वाददाता ः

जोमसोम¬¬—धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो समय अन्धाधुन्द सडक बिस्तारले यहाँको पर्यटकीय पदमार्ग धमाधम मासिने क्रम बढेको छ । जथाभावी सडक बिस्तारले मुस्ताङ खण्डको राउण्ड अन्नपूर्ण पदमार्ग र उपल्लो मुस्ताङ जाने पर्यटकीय पदमार्ग ध्वंस्त हुँन थालेको छ ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना अन्तर्गतको हिमाली जिल्ला मुस्ताङमा बिस्तृत वातावरण अध्ययन प्रतिवेदन ( ईआईए ) बिनै अन्धाधुन्द सडक बिस्तार भईरहेको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना देखि संघ,प्रदेश र स्थानीय तहले ईआईए प्रतिवेदन बिनै सडक निर्माण सुरु गरेपनि केही आयोजनाले भने ईआईएको प्रोसेसमा छन् ।

अन्धाधुन्द सडक बिस्तारसंगै मुस्ताङमा पुराना पर्यटकीय पदमार्ग मासिने क्रम बढेको हो । पदमार्ग मासिन थालेसंगै विदेशी पर्यटकको मुस्ताङ भ्रमणमा समेत ह्रास आउन थालेको छ । मुस्ताङको खुला आकाशमा रमाउदै पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक पछिल्लो समय सवारी साधनको धुवाधुलो खान बाध्य छन् । सरकारी निकायबाटै अन्धाधुन्द सडक बिस्तार गर्ने क्रमले मुस्ताङको पर्यटकीय पदमार्गसंगै वातावरणीय तथा जैविक विविधतामा समेत ठुलो क्षति पुगेको छ ।

Advertisement

उपल्लो मुस्ताङ अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाको निषेधित तथा नियन्त्रितक्षेत्र अन्तर्गत पर्दछ । उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले नेपाल सरकार अध्यागमन विभागलाई ५ सय डलर रोयल्टी बुझाउनु पर्ने हुन्छ ।उपल्लो मुस्ताङमा धमाधम पर्यटक लक्षित होटल बढेपनि पर्यटकीय पदमार्ग मासिदा पर्यटनक्षेत्रमा ठुलो असर पुगेको छ ।अन्धाधुन्द सडकले पदमार्ग मासिन थालेपछि लोमान्थाङ गाउँपालिकाले बैकल्पिक पर्यटकीय पदमार्गको बिकल्प खोज्न थालेको छ । लोमान्थाङ—५ का वडाध्यक्ष हिन्जिन धोर्जे बिष्टको बिशेष पहलमा लोमान्थाङमा बैकल्पिक चर्किय पदमार्ग निर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले उपल्लो मुस्ताङको लोमान्थाङमा चर्किय पदमार्ग निर्माण सुरु गरेको हो ।
विभागले बहुबर्षिय योजना अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ गापाको ५ वटै वडा जोड्ने बैकल्पिक पदमार्ग निर्माण सुरु गरेको हो । विभागले आ.व. २०७६÷०७७ का लागि २० किमी पदमार्ग निर्माण तथा पर्यटकीय पूर्वाधार स्तरोन्नति लगायतमा भ्याटसहित ४ करोड बिनियोजन गरेको हो । लोमान्थाङमा बैकल्पिक चर्किय पदमार्ग निर्माणको जिम्मा खानी निर्माण सेवा प्रालिले लिएको छ ।

खानी निर्माण सेवा प्रालिका प्रतिनिधि होमराज गौतमका अनुसार पहिलो वर्षको बिनियोजित बजेटले २० किमी बैकल्पिक पदमार्ग निर्माण,ऐतिहासिक संरचनाको स्तरोन्नति ,पर्यटकीय दृष्यावलोकनका लागि चाहिने ट्रप्ससहितको पूर्वाधार ,पर्यटकीय होडिङबोर्ड लगायतको काम हुने बताए । उनले बैकल्पिक पदमार्ग निर्माण लगायतको काममा एक सय बढी जनशक्ति परिचालन भईरहेको र ६ महिनाभित्रै काम सक्ने लक्ष्य रहेको बताए ।

Advertisement

लोमान्थाङका वडाध्यक्ष हिन्जिन धोर्जे बिष्टले अन्धाधुन्द सडक बिस्तारले पदमार्ग मासिदा पर्यटनक्षेत्रमा क्षति पुगेकाले बैकल्पिक पदमार्ग निर्माणको बिकल्प खोजिएको बताए । उपल्लो मुस्ताङमा पदमार्ग मासिदा पर्यटक आउने सम्भावना खस्किएको उल्लेख गर्दै वडाध्यक्ष बिष्टले लुकेर रहेका पर्यटकीय स्थललाई जोडेर पदमार्ग निर्माण सुरु गरेको बताए ।

यस्तै,लोमान्थाङका पर्यटन ब्यवसायी छेवाङ रिङझिङ गुरुङले उपल्लो मुस्ताङमा पर्यटकीय पदमार्ग मासिएको छैन भन्ने सन्देश दिन बैकल्पिक पदमार्ग निर्माणको अवधारण अघि बढाईएको बताए ।“ उपल्लो मुस्ताङमा पर्यटक घटे ,होटल बढे,उनले भने,“ पर्यटन प्रर्वद्धनका लागि बैकल्पिक पदमार्ग आवश्यक छ ,यसले मुस्ताङको ऐतिहाँसिकतालाई समेत चिनाउने छ ।’
पर्यटन विभागले लोमान्थाङ गापाको ५ वटै वडा जोड्ने एक हप्ते पदमार्ग निर्माणको योजना अधि बढाईएको हो ।पदमार्गको डीपीआर जर्मन गाईड तथा नेपाल एडभेन्चर लोमान्थाङका छेवाङ रिङझिङ गुरुङले तयार पारेका हुन् । सो पदमार्गमा पर्यटकले पहिलो दिन लोमान्थाङ—सम्डुपलिङ गुम्बा—याक खर्क—ठिङ्गरको यात्रा गर्नसक्नेछन् ।पदमार्गको दोश्रोदिन ठ्ङ्गिर हँुदै चुमजुङ र न्याम्डोक ,तेश्रोदिन न्याम्डोक हुँदै कोरलानाका र छोसेर ,चौथोदिन कोन्छोकलिङ गुफा र छोसर,पाचौंदिन छोसेर र सम्जुङ र छैटोदिन सम्जुङ र छोजुङ गुम्बा र पदमार्गको सातौ तथा अन्तिमदिन सम्जुङ—छाराङ र लोमान्थाङको पदयात्रा गर्न सकिने छ ।

लोमान्थाङ पदमार्गमा यात्रा गर्न पर्यटकले ङिङ्मा सम्प्रदायको पुरानो सम्डुपलिङ गुम्बा, याक खर्क,बर्खायामका मुस्ताङी राजा बस्ने दरबार ,याक पालन तथा किसानहरुको दैनिकी,सीमावर्तीक्षेत्रका गाउको अध्ययन अवलोकन ,अन्नपूर्ण, निलगिरि,तिलिचो र थोरङलापास लगायतको दृष्यावलोकन गर्न सकिन्छ ।
यस्तै,लोमान्थाङको छोसेरमा मानवशास्त्र तथा पुरात्तात्विक गुफाहरु छन् ।

फोटो क्याप्सन ः
उपल्लो मुस्ताङको लोमान्थाङ गापामा बैकल्पिक चर्किय पदमार्ग निर्माण धमाधम । तस्विर ःछेवाङ रिङझिङ गुरुङ ,

तपाईको प्रतिक्रिया