कांग्रेस महाधिवेशन र अपेक्षा

समाधान संवाददाता २०७८ भदौ ६ गते १८:२१

किशोरदत्त बराल
शंका र आशंकाका बीचबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी विस्तारै बढिरहेको छ । यो सरगर्मीसँगै नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको यो महाधिवेशनलाई सबैतिरबाट अत्यन्त चासोपूर्ण तरिकाबाट हेरिएको छ र अध्ययन गरिएको छ । गुट उपगुट र विचार, दृष्टिकोण र कार्यक्रमको शून्यताका कारण थिलो थिलो परेको यो पार्टीलाई आउँदो १४ औ महाधिवेशनले नयाँ जीवन दिन सक्ला नसक्ला ?

यसले आफ्नो गुमेको साखलाई कुन रणनीति र कार्यक्रमका साथ पुनःस्थापित गर्न सक्ला ? अहिलेको २१ औं शताब्दिले ल्याएको चुनौतीलाई सामना गर्न सक्ने यसको नेतृत्व कस्तो होला ? भन्ने जस्ता प्रश्नहरु स्वाभाविकरुपमा अहिले सडकमा आएका छन् । नेतृत्व कस्तो हुनुपर्ने हो ? नीति, कार्यक्रम र योजनाहरु कस्ता हुनु पर्ने हुन् ? भन्ने जस्ता यी र यस्तै महत्वपूर्ण विषयहरु माथि अझै पनि कहीँ कतै छलफल र बहश नगरिएको र त्यस प्रति चासो प्रकट नभएका कारण माथि उल्लेखित प्रश्नहरुले उत्तर पाउने अवस्था भने देखिएको छैन ।

यसले के देखाउँछ भने नेपाली कांग्रेसको १४ औं महाधिवेशन अझै बढी गुट, उपगुट र पैसाको दबाबबाट डरलाग्दोसँग प्रभावित हुने प्रष्ट छ । गुट उपगुट र पैसाले पार्टी बर्बाद भयो भन्नेहरु नै गुट उपगुट र पैसाको राजनीतिबाट मुक्त हुने अवस्था देखिएको छैन । अर्काले चोरेर र ठगेर पैसा कमायो भने हामीले पनि किन कमाउन हँुदैन भन्ने आम प्रवृत्ति भए जस्तै अरुले गुट उपगुट र पैसाको बलबाट निर्वाचन जित्न खोज्छ भने हामीले पनि त्यस्तै वा त्योभन्दा पनि बढी गरेर निर्वाचन जित्न पर्छ भन्ने प्रवृत्तिबाट कोही पनि माथि उठ्न सकेको देखिँदैन ।

Advertisement

निर्वाचन जित्नका लागि मात्रै हो र निर्वाचनमा सहभागी भएपछि जसरी पनि जित्नुपर्छ भन्ने मान्यताले अत्यन्त नराम्रोसँग जरा गाडेको छ । गुट र पैसाको भरमा हुने निर्वाचनले व्यक्ति र गुटलाई मात्रै जिताउँछ तर देश, जनता र पार्टीलाई सम्पूर्णरुपले हराउँछ र बरबाद गर्छ भन्ने कुराको चेतना मतदाताहरुमा पनि अझै निर्माण हुन सकेको छैन । निर्वाचनमा व्यक्तिले हार्न हुन्छ तर देश, जनता र लोकतान्त्रिक संस्कारले हार्न हुँदैन भन्ने मान्यता स्थापित गर्न सकिने हो भने मात्रै राम्रो पार्टीको निर्माण गर्न सकिन्छ र राम्रो पार्टीको शक्तिबाट देशको रुपान्तरण हुन्छ ।

देशको रुपान्तरण भनेको तपाई, मेरो र हामी सबैको रुपान्तरणको विषय हो । यसैले गुटगत र पैसाको घिन लाग्दो राजनीतिबाट देश र जनतालाई बचाउने हो भने अव फरक कार्यक्रम, योजना र दृष्टिकोण निर्माण गरेर नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशनलाई तपिसल अनुसारका मान्यताहरुकासाथ अगाडि बढाउन सक्नुपर्छ ।

Advertisement

१‍‍‍ गुटको अन्त्य
राजनीति भनेको विचार भएका कारण समान विचार भएकाहरुका बीचमा गुट वा समूहको निर्माण स्वाभाविक हुन्छ भन्ने मान्यता पाइन्छ । यसमा सहमति वा विमति जनाउनुभन्दा पहिला समूह वा गुटका बारेमा हामीले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने हुन्छ । राजनीतिमा समूह निर्माण भनेको साझा लक्ष प्राप्तिको अभियान हो । समूहले नीति, कार्यक्रम र योजना खोज्दछ र त्यसको प्रभाकारी कार्यान्वयनको लागि सोही अनुसारका व्यक्तिहरुको चयन गर्दछ ।

समूह विचारको वरिपरि घुम्दछ र लक्ष प्राप्तिका निम्ति छलफल र वहस गर्दछ । आफ्नो क्षमता माथि विश्वास गर्ने , स्पष्ट दृष्टिकोण र विचार भएका अनुशासित र मर्यादित व्यक्तिहरु समहूको सदस्य वन्दछन् । यो विकास र समृद्धिको द्योतक हो । गुट भनेको स्वार्थ हो । यसैले गुटले नीति, कार्यक्रम र योजना माथि छलफल र वहश गर्दैन । यसले नाफा नोक्सानका हिसाव किताव गर्दछ , आफ्नो र अर्काको भनेर छुट्याउँछ र बाँडी खाने र लुटी खाने प्रपञ्च यसको योजना र कार्यक्रम बन्छ ।

गुट कुनै निश्चित नेताको वरिपरि घुम्छ, अरुको कुरा काट्छ र आफ्नो स्वार्थ पूर्तिका लागि नेताले जे बोल भन्छ त्यही बोल्छ र गुटले बर्बाद ग¥यो भन्दै गोप्य कोठाभित्र बसेर झनै ठूलो गुट निर्माण गर्छ । आफू माथि विश्वास नभएका विचार र दृष्टिकोण शून्य भएका पदलोलुप व्यक्तिहरु गुटको सदस्य बन्छन् । यो विवेकहीन र मृत हुन्छ । यो विनासको द्योतक हो ।

यसैले नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई विकास र विनासको बीचको जनमत संग्रहको रुपमा लिइएको छ । नीति, कार्यक्रम र योजनाका साथ आउने समूहलाई भोट हाल्ने कि पैसा र बलको भरमा रित्ता, खोक्रा र बेतुकका कुरा र भाषण गर्ने गुटलाई भोट हाल्ने ? नेपाली कांग्रसको सांगठनिक सुदृढीकरणका लागि अब नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जिम्मेवार भएर सोच्न पर्ने बेला भएको छ ।

पैसा, बल र गुटले होइन, असल चरित्र र संस्कारले बलियो कांग्रेस दिन्छ भन्ने मान्यतामा अडिएर गुटबिना निर्वाचन जित्न सकिँदैन भन्ने निकृष्ट सोचलाई सम्पूर्णरुपले भत्काउन सक्ने तागत अब नेपाली कांग्रेसका इमान्दार नेता तथा कार्यकर्ताहरुले देखाउन सक्नुपर्छ । यो गुट र ऊ गुट भनेर अर्कालाई दोष लगाएर आफ्नो उम्मेदवारीलाई वलियो बनाउन खोज्ने कमजोर प्रवृत्तिलाई अव समूल नष्ट नगर्ने हो भने हामीले कांग्रेसको साख बचाउन सक्दैनौं र किनाराको साक्षी भएर नेपाली कांग्रेस विग्रीएको र भत्किएको हेर्नु बाहेकका हामीसँग अर्को कुनै पनि विकल्प रहने छैन ।

गुट र उपगुटको कुरा गर्नेहरुलाई ठाउँको ठाउँ बहिस्कार गर्ने संकल्प गरांै । कांग्रेसको नेतृत्वमा देश बन्छ बनाउन सकिन्छ । यसैले जो नेता तथा समूह स्पष्ट नीति, कार्यक्रम र योजनाका साथ आउँछन् तिनलाई हाई हाई गरौं । गुट र पैसा बोकेर नीति र कार्यक्रमविहीन भएर आउँछन् भने बाई बाई गरौं । यसप्रति जिम्मेवार हँुदै पार्टी बचाउने अभियानका निम्ति अत्यन्त कठोर हुन आवश्यक भएको छ ।

२. गुट र नोट बिना पनि निर्वाचन जित्न सकिन्छ भन्ने विश्वासको निर्माण
माथि भने जस्तै आज सम्म हामीले निर्वाचनलाई जितको विषय मात्रै बनायौं । देश र जनताको हितको विषय नै बनाएनौं । निर्वाचन जित्नका लागि मात्रै हो भन्ने मान्यतामा रहेर कार्य गर्दा हामीले केही व्यक्तिलाई सभापति, सांसद, मन्त्री र प्रधानमन्त्री बनाउन पटकपटक जितायौं पनि तर त्यो जितको उन्माद र महत्वांकाक्षाले देश र जनताको समृद्धिको सपना टुक्राटुक्रा भएर फुटेको तर्फ हामीले पत्तै पाएनौं । निर्वाचन जित्ने नाममा हामीले इमान्दारिता, आदर्श, मूल्य, मान्यता र संस्कारको कहिँ कतै पनि हेक्का राखेनौं ।

राजनीतिमा प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कारलाई हराएर हामीले जिताएका निर्वाचनहरुले हामीलाई कहा पु¥याए भन्नेसम्मको सामान्य हेक्का पनि हामीले राख्न नसक्दाको परिणाम हो हाम्रो वर्तमान समाज र राजनीति । हामीले नेपाली राजनीतिमा आफूलाई अभिभावक राजनीतिक पार्टी भनेर शब्द र भाषणमा दाबी त ग¥यौं तर त्यसलाई व्यवहारमा उतारेर अभिभावकत्व दिन सकेनौं । यसैले नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले अरु राजनीतिक पार्टीले के गर्छन् भनेर उनीहरुको आधारमा आफ्नो राजनीतिक योजना निर्माण गर्ने होइन ।

अन्य राजनीतिक पार्टीले पैसा र बलको प्रयोग गरेर निर्वाचन जित्ने भए भनेर उनिहरु भन्दा एक कदम अगाडि पढेर गलत कार्यलाई प्रोत्साहन दिने होइन । अरुको पैसा र बललाई हाम्रो इमान्दारिता, आदर्श, कार्यक्रम र योजनाले पराजित गर्ने तागत हामीले निर्माण गर्न नसके सम्म हामीले देशको समृद्धिको नेतृत्व गर्नै सक्दैनौ ।

निर्वाचन हार्न हुन्छ तर कहिल्यै पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शले हार्नै हँुदैन भन्ने उच्च कोटीको सोच हामीले राख्नै पर्दछ । राजनैतिक संस्कार वसाल्ने अभियानमा लाग्दा एकाध निर्वाचनहरु हारिन सक्दछ, हार्न तयार हौं । आजको हार भोलिको अविछिन्न जित बन्न सक्दछ, आशावादी बनौं । पैसा र गुटको राजनीतिले व्यक्तिलाई जिताउन सक्छ, पार्टी, समाज र देशलाई जिताउँदैन । यसलाई अतित कोट्याएरै भए पनि राम्रो संग हेक्का राखौं ।

गुट र पैसाको भरमा हुने निर्वाचनले व्यक्ति र गुटलाई मात्रै जिताउँछ तर देश, जनता र पार्टीलाई सम्पूर्णरुपले हराउँछ र बरबाद गर्छ

निर्वाचन जित्नै पर्छ र निर्वाचन जित्नका लागि पैसा र बललाई प्राथमिकतामा राखेर उम्मेदवारको छनोट र निर्वाचनका अन्य कार्यक्रमहरु तर्फ केन्द्रित हुनुपर्छ भन्ने पार्टीभित्रको यो सोच र संस्कारलाई अब हामीले पूर्णरुपले भत्काउनै पर्छ । यो परम्परागत सोचलाई भत्काउन त्यति सजिलो नभए पनि त्यस तर्फको चट्टानी अडान अब आवश्यक छ । अब हामीले अनावश्यरुपमा पैसा, बल र गुटको आधारमा होइन, आर्दश, सिद्धान्त, कार्यक्रम, योजना र अनुशासनको भरमा निर्वाचन जित्ने गरी अगाडि बढ्नुपर्छ ।

३. एक नेता, एक उद्यमशीलता
एक नेता एक उद्यमशीलता आजको आवश्यकता भन्ने अभियानका साथ अब नेपाली कांग्रेसले पूर्णकालीन कार्यकर्ताको अवधारणालाई उद्यमशील कार्यकर्तामा रुपान्तरण गर्न आवश्यक छ । हामीले कहिल्यै पनि राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु उद्यमशील हुनु पर्दछ भन्ने बारेमा सोच्दै सोचेनांै र त्यस बारेमा छलफल र बहस नै गरेनांै । नेपालको वर्तमान राजनीतिभित्र देखा परेको भ्रष्टाचार र अनुशासनहीनता नेता तथा कार्यकर्ताहरु उद्यमशील भएर आय आर्जनको क्षेत्रमा लाग्ने परिपाटी र संस्कारको स्थापना गर्न नसक्दाको परिणाम हो ।

नेता तथा कार्यकर्ताहरु भित्रबाट उद्यमशीलता र सिर्जनशीलता नखोज्नु भनेको उनीहरुलाई भ्रष्टाचार गर्नका लागि उत्प्रेरणा दिनु हो । एकातर्फ नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार गर्नका लागि अनुमति दिने र अर्को तर्फ नेता तथा कार्यकर्ताहरु भ्रष्टाचारी र व्यभिचारी भए भनेर चिन्ता व्यक्त गर्ने हाम्रो स्वभावका कारण देश लथालिंग भएको हो । एकै छिन विचार गरौं त त नेता तथा कार्यकर्ताहरु उद्यमशील भएर पुँजी उत्पादनसँग जोडिएनन् भने के हुन्छ ?

उनीहरुले आफ्नो घर व्यवहार र अन्य व्यक्तिगत आवश्यकताको आर्थिक व्यवस्थापन कसरी गर्छन् होला ? देख्दा र सुन्दा सामान्य लाग्ने तर देशको आर्थिक अनुशासन व्यवस्थापनका लागि अत्यन्त गम्भीर प्रकृतिका यी र यस्ता विषयहरुप्रति प्रजातान्त्रिक समाजवादको लक्ष्य बोकेको नेपाली कांग्रेस जस्तो राजनैतिक पार्टीले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने हुन्छ ।

पुँजी उत्पादन वा आय आर्जनसँग नजोडिने नेता तथा कार्यकर्ताहरु आफ्नो पारिवारिक तथा व्यक्तिगत खर्चका लागि निश्चित रुपमा ठूलो आथिक दवाव भित्र पर्ने गर्छन् । आर्थिक दबाबभित्र पर्ने नेता तथा कार्यकर्ताहरुको पहिलो प्राथमिकता स्वभाविकरुमा आफ्नो व्यक्तिगत तथा पारिवारिक आर्थिक जीवनका बारेमा केन्द्रित हुने गर्छ । पारिवारिक आर्थिक समस्याले दिने दवावले नेता तथा कार्यकर्ताहरुको सिर्जनशीलता र स्वाभिमानलाइ उठ्नै नसक्ने गरी मारिदिन्छ ।

आर्थिक समस्याले दिने दवावले नेता तथा कार्यकर्ताहरुको स्वाभिमान र इमान्दारितालाई कुनै ठेकेदार, व्यापारी, उद्योगी, देशी विदेशी दलाल आदिले पैसा सग सजिलै साटीदिन्छन् । जसले गर्दा निर्वाचनमा टिकटको खरिद विक्री गरिन्छ, राजनैतिक नियुक्ति, सरुवा, बढुवा र ठेक्का पट्टामा मोलतोल गरेर नेता तथा कार्यकर्ताहरुलाई सर्वाग नागो बनाइन्छ । यसरी नागां बन्ने र बनाइने नेता तथा कार्यकर्ताहरुवाट राजनीतिक संस्कारको स्थापना र देशको समृद्धिको विषय सधै ओझेलमा पर्ने गर्छ ।

यसैले राजनीति गर्न चाहने हरेक नेताले अब आफूलाई कुनै न कुनै उद्योग धन्दा, व्यापार व्यवसाय वा आय आर्जनका अन्य कुनै क्षेत्रसँग जोड्नै पर्छ । यसैले परम्परागत रुपमा सोचिँदै र भनिँदै आएको पूर्णकालीन कार्यकर्ताको अवधारणा र सोचलाई पूर्णरुपले भत्काएर नेपाली कांग्रेसले उद्यमशील कार्यकर्ताको निर्माणतर्फ युगान्तकारी कदमलाई अगाडि बढाउनु पर्ने हुन्छ ।

अब हामीलाई पूर्णकालीन कार्यकर्ताहरुले होइन उद्यमशिल र सिर्जनशील कार्यकर्ताहरुले मात्रै बचाउन सक्छन् । उद्यमशिल र सिर्जनशील नेता तथा कार्यकर्ताहरुले रोजगारीको सिर्जना गर्ने क्षमता राख्दछन् र देश र जनतासंग गुणस्तरीयरुपमा जोडिने वातावरण निर्माण गर्छन् ।

४. गाउँ, कृषि र प्रविधिमैत्री कांग्रेसको पूर्वाधार, प्रजातान्त्रिक समाजवादको आधार
यदि साच्चिकै नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादप्रति इमान्दार छ र रहन्छ भने नेपाली कांगे्रसले प्रजातान्त्रिक समाजवादको यात्रा यहीवाट शुरु गर्ने रणनीतिक योजना निर्माण गर्नु पर्दछ । मैले यसो किन भनिरहेको छु भनेर यहाँ प्रष्ट पार्नुभन्दा अगाडि बीपी कोइरालाले अत्यन्त संंक्षिप्त र सरल रुपमा दिनु भएको प्रजातान्त्रिक समाजवादको परिभाषातर्फ यहाँहरुलाई लिएर जान चाहन्छु ।

बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको परिभाषा गर्दै भन्नुभयो, ‘प्रजातान्त्रिक समाजवाद भनेको गाउँ हो, गाउँको विकास र त्यहाका जनताहरुको खुसी हो । उहाँले अझै अगाडि भन्नुभयो नेपालको विकास भनेकै गाउँको विकास हो ।’ हामीले प्रजातान्त्रिक समाजवादलाई यसरी नै बुझ्ने हो भने गाउँको विकासको आधारका बारेमा हामी स्पष्ट हुन जरुरी छ । हामीले गाउँको विकास कसरी गर्न सक्छौं होला ? के हामीले कृषिको व्यावसायीकरण र यसको औद्योगिकीकरण बिना गाउँको विकासको कल्पना गर्न सक्छौं ? के हामीले विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थमा आधारित भएर सञ्चालन गर्नु पर्ने उद्योगहरुलाई गाउँमा स्थापना गरी गाउमा रोजगारी सिर्जना गरेर गाउँको विकास गर्न सक्छौं ?

के हामीले गाउँका खेतबारी र टारी टुक्राहरुलाई बाँझो राखेर र जंगलका जडीबुटीहरुलाई जंगलमै कुहाएर हामीले गाउँको समृद्धि ल्याउन सक्छौं ? यसका वारेमा हामी सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु स्पष्ट हुन आवश्यक छ । यसो होइन र गाउँको विकासको प्रमुख आधार कृषि नै हो भनेर वुझ्ने हो भने यसलाई उच्च प्राथामिकतामा राखेर कृषिलाई प्रविधि मैत्री बनाउँदै यसको व्यावसायिकरण र औद्योगिकीकरणको योजना हामीले निर्माण गर्नु पर्ने कि नपर्ने ?

कृषिलाई गाउको विकासको आधार मानेर अगाडि बढ्न नसक्ने हो भने या त हामीले बीपीले दिनु भएको प्रजातान्त्रिक समाज वादको परिभाषा फेरेर गाउको विकासको अर्को बलियो आधार देखाउन सक्नुपर्छ या त नेपाल भनेको गाउँ होइन र गाउँको विकास भनेको नेपालको विकास होइन भन्ने हिम्मत गर्न सक्नुपर्छ । के हामी यसो गर्न तयार छौं ?

यसैले नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवाद प्राप्तिको पहिलो आधार कृषि भएकाले सम्पूर्ण नेपाली समाज कृषिको विकास र त्यसको व्यावसायीकरणसँग जोडिनै पर्दछ । प्रजातान्त्रिक समाजवाद र कृषि प्रधान देशको नेतृत्व गर्ने नेता गैरकृषक कसरी बन्न सक्छ ? यो प्रश्न अब सशक्तरुपमा हरेक नेपालीको मनमा हुनुपर्छ र त्यसका लागि बलियो वातावरण निर्माणको खोजी गर्नुपर्छ ।

५. प्रशिक्षण र अनुसन्धानमुखी कांग्रेस
मानिस स्वभावैले चेतनशील र जिज्ञासु सामाजिक प्राणी हो । ऊ हरेक क्षण अज्ञात घटना वारे जान्ने र बुझ्ने कोसिस गर्दछ । त्यसमा पनि राजनीति भनेको नितान्त व्यावहारिक प्रक्रिया हो । यसका लागि हरेक राजनीतिक संगठनका हरेक नेता तथा कार्यकर्ता आफ्नो संगठन प्रति प्रतिबद्ध, इमान्दार र जवाफदेही हुनै पर्छ । समय र परिवेश अनुसार आएका नवीनतम परिवर्तन, तरिका र उपागमहरु अपनाउँदै आफूलाई सांगठनिरुपले दक्ष, योग्य, सक्षम, कुशल, र क्षमतावान व्यक्तिको रुपमा स्थापति गर्दै जानुपर्ने हुन्छ ।

राजनीतिज्ञ भाषण गरेर सूचना संप्रेषण गर्ने साधन मात्रै होइन ऊ त ज्ञानको विकास गर्ने एउटा उत्कृष्ट सर्जक पनि हो । केवल भाषण, सूचना र वक्तव्यवाजी गर्ने कुरालाई मात्रै प्राथामिकतामा राखेर राजनीति गरिरहेका हामीहरुको स्वभाव र व्यवहारमा परिवर्तन नगरी अव हामी समाजलाई चित्त बुझाउन सक्ने अवस्थामा छैनौं । आजका जनताहरु विशेष गरेर युवाहरु नेता कार्यकर्ताहरुवाट प्राप्त ज्ञानलाई आफ्नो व्यावहारिक र व्यावसायिक जीवनमा जोडी ज्ञानमा आधारित अर्थतन्त्रको प्रतिष्पर्धात्मक वजारमा आफूलाई दौडाउन चाहन्छन् । आफ्नो ज्ञान र सीपलाई पैसामा बदल्न चाहन्छन् ।

संसारको खुल्ला अर्थ व्यवस्था भित्र तादम्यता राख्न चाहन्छन् । तर हामी परम्परागत र थोत्रो सांगठनिक शैली, डर र त्रास देखाएर उनीहरुलाई खुम्च्याउन चाहन्छौं । राजनीति, अर्थव्यवस्था, शिक्षा आदिमा भएको विश्वव्यापीकरणको यो वास्तविकता नेपालका राजनीतिज्ञ र प्रमुखरुपमा युवाहरुका लागि रणभूमि वनेको छ जसको सही र वैज्ञानिक तादम्यता कसरी राख्ने भन्ने कुरा नै नेपालको वर्तमान राजनीतिको एउटा ठूलो चुनौती हो ।

यो विषयलाई यहा किन प्राथमिकताका साथ राखिएको छ भने ज्ञानको विकास अनुसन्धान क्रियाकलापबाट मात्रै सम्भव छ । राजनैतिक सोच, विचार र नया नया दृष्टिकोणहरु निर्माण गर्ने मुख्य साधन र गतिविधि भनेको अनुसन्धान नै हो । यसो गर्न सकिएमा मात्रै नेपालको राजनीतिक वातावरणलाई अनुसन्धान मैत्री बनाई राजनीतिक गुणस्तर विकासको वलियो जग निर्माण हुन जान्छ र राजनीतिक संगठनको मर्यादालाई स्थापित गराउन सकिन्छ । एउटा राजनीतिक पार्टीले अनुसन्धानका लागि आवश्यक पर्ने वातावरण निर्माणका लागि विद्यालय विश्वविद्यालयमा रहेर अध्ययन अनुसन्धानमा लागेका शिक्षक र प्रध्यापकहरुका अतिरिक्त कानुन व्यवसायीहरु, पत्रकारहरु र स्वतन्त्र प्राज्ञिक व्यक्तिहरुलाई साथ लिन सक्छ ।

यसो गर्न सकियो भने सम्बन्धित व्यक्तिहरुले पार्टीले आफूलाई अत्यन्त गुणस्तरीय जिम्मेवारी दिएको कुराको वोध गर्ने र पार्टीमा नया नया विचार र दृष्टिकोणहरुको निर्माण भएर पार्टी को क्रियाशिलता बढ्ने देखिन्छ । तर हामी यति धेरै कमजोर मानसिकताबाट गुज्रिरहेका छौं कि अरुलाई राम्रो जिम्मेवारी दिदा उहि व्यक्ति नै नेता बन्ने र आफू पछाडि परिने भयंकर ठूलो त्रास आफू भित्र बोकेका हुन्छौं । हामी पार्टीलाई भुत्ते, कमजोर र भताभुंग वनाउन तयार हुन्छौं तर अरुलाई जिम्मेवारी दिएर पार्टीलाई क्रियाशील बनाउन र नयाँ जीवनको खोज गर्न कन्जुस्याइँ गर्छांै ।

पार्टी भित्र यस्तो परिस्थितिको निर्माण हुने भनेको कमजोर व्यक्तिलाई जिम्मेवारीमा पु¥याउन खोज्ने हाम्रो प्रवृत्ति हो । जो व्यक्ति आफ्रनै क्षमता र विश्वासमा राजनीतिमा स्थापति हुन पुग्छ त्यस्तो व्यक्तिले अरुलाई जिम्मेवारी दिदा कहि कतै पनि डराउदैन । अरुको वैशाखी टेकेर वा गुट उपगुटको साहरा लिएर राजनीति गर्न खोज्ने अधिकांश व्यक्तिहरु नै नेपाली कांग्रेसको वर्तमान संगठनभित्र रहे भएका कारण अनुसन्धनात्मक कार्यलाई अगाडि बढाउने चेत हामीले निर्माण गर्न नसकेको हौं । यसैले नेपाली कांग्रेसलाई एक्काईसौ शताब्दिको चेतका साथ अगाडि वढाउनका लागि यसलाई अनुसन्धान मैत्री संगठनको रुपमा विकास गर्नुपर्ने हुन्छ ।

६. निर्णय प्रक्रियामा सिर्जनशील युवाको सहभागिता, समृद्ध समाज निर्माणको लागि आवश्यकता
युवा को हो ? कसलाई युवा भन्ने ? उमेर समूहका आधारमा व्यक्तिलाई युवा भन्ने वा युवापनका आधारमा युवा भन्ने ? यो भने बहसको विषय बनेको छ । बहसकै विषय भए पनि युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन उमेरका व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवा अवस्थालाई जीवनकै सर्वाधिक ऊर्जाशील समय पनि मानिन्छ । त्यसैले युवा अवस्था त्यस्तो निर्णायक उमेर हो जसले विगत र भविष्यलाई जोड्ने क्षमता राख्दछ ।

युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका संवाहक शक्तिहरू पनि हुन् । कुनै पनि देश कस्तो छ भन्ने कुरा त्यो देशका युवाहरूको चाल, चरित्र, चेहरा र उनीहरूको राजनैतिक सहभागिताबाट थाहा हुन्छ भनेर विद्वानहरू भन्ने गर्दछन् । नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ ले १६ देखि ४० वर्षसम्मको उमेर समूहलाई युवा मानेको छ । यो जनसङ्ख्या राष्ट्रको कूल जनसङ्ख्याको करिव ४१ प्रतिशत हो । जहा“ युवाको सङ्ख्या धेरै हुन्छ त्यसलाई राष्ट्र विकासका लागि राम्रो सूचकाङ्कको रूपमा मानिने भएको कारणले पनि युवाहरु समाजरुपान्तरणमा महत्वपूर्ण मानिन्छन् ।

गुणात्मक र संख्यात्मक दुवै दृष्टिकोणले युवाहरू राष्ट्रको मेरुदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउनका लागि उनिहरुलाई राज्यको विभिन्न तहको नीति निर्माण तहमा प्रभावकारीरुपमा सहभागि गराउनै पर्दछ ।

नेपाली कांग्रेसले ७० वर्ष काटेका व्यक्तिहरुको नेतृत्वलाई राम्रैसँग देखेको, भोगेको र अनुभूति गरिसकेको छ । युवा उमेर होइन विचार, दृष्टिकोण र क्रियाशीलता हो भनेर मान्ने हो भने पनि यी कुनै पनि चरित्रहरु ७० काटेका अधिकांश नेपाली कांग्रेसका नेताहरुसँग रहे भएको देखिँदैन । नेपाली कांग्रेसका नेताहरुको इतिहास र कठोर त्यागका प्रति हरेक नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु गौरवान्वित छौं ।

यसरी गौरवान्वित हुँदा हँुदै पनि हाम्रो गौरवपूर्ण इतिहासले भविश्यको सुनिश्चितता नगर्ने भएको हुँदा अव नेपाली कांग्रेसमा युवाहरुको नेतृत्व आवश्यक भएको छ । यसैले यो १४ औ महाधिवेशनमा पहिलो पुस्ताका नेताहरुले आफूभन्दा तल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अनुकरणीय भूमिका खेल्नु हुनेछ भन्ने सर्वत्र अपेक्षा गरिएको छ ।

७. एक व्यक्ति, एक पद
एक पद एक व्यक्तिको अवधारणाका बारेमा हामीले धेरै पटक छलफल र वहश त गर्यौ तर त्यसको प्रभावकारी कार्यान्वयनका लागि हामी कहिल्यै पनि इमान्दार बन्न सकेनौं । अब यो अवधारणालाई संगठनको हरेक तहमा प्रभावकारी तरिकावाट लागु नगर्र्ने हो भने नेपाली कांग्रेसलाई परिणाममुखी बनाएर अगाडि बढाउन सकिने अवस्था छैन । यसैले कुनै पद वा जिम्मेवारीमा रहेर कार्यरत कुनै पनि व्यक्तिले आफ्नो पदावधि रहेसम्म त्यस बीचमा उसले अर्को कुनै पनि जिम्मेवारी लिनै नपाउने बाध्यात्मक व्यवस्था नीतिगतरुपमै नेपाली कांग्रेसभित्र गर्नुपर्छ ।

पार्टी कुनै व्यक्ति विशेषको महत्वांकाक्षा परिपूर्ति गर्ने थलो होइन । यो त समग्ररुपमा समाज रुपान्तरणको अभियान हो । यसैले यसले पार्टीमा संलग्न हरेक व्यक्तिहरुवाट त्यही खालको इमान्दारिता र भूमिका खोज्छ । आफ्नो स्वभाव, शैली र क्षमता अनुसार आफू जुन जिम्मेवारीका लागि योग्य छु भन्ने लाग्छ व्यक्तिले त्यही जिम्मेवारीका लागि मात्रै वातावरण निर्माणको तयारी गर्नु पर्दछ । त्यो पदको मात्रै जिम्मेवारी लिनु पर्छ जसमा आफ्नो भरोसा छ । आफ्नो स्वभावका प्रति विश्वास गर्नु नै सवै भन्दा ठूलो धर्म हो ।

एउटै व्यक्ति पार्टीको सभापति र अध्यक्ष वा अन्य पदाधिकारी बन्न खोज्ने र अगाडि आएका जिम्मेवारीहरु जस्तै संसदीय दलको नेता वा प्रधानमन्त्री, मेयर, सांसद र मन्त्री बन्न खोज्ने हाम्रो जुन संस्कार र प्रवृत्ति छ त्यसलाई समूल नष्ट गर्नुपर्छ । एउटै मात्र भूमिकामा रहने व्यक्तिले जति परिणाम दिन सक्छ विभिन्न भूमिकामा रहने व्यक्तिबाट त्यो सम्भावना नै हँुदैन । पदलाई समाज रुपान्तरणको साधन बनाउनुभन्दा पनि अरुलाई शक्ति संग्रह गरेर देखाइदिन्छु भन्ने हाम्रो संकुचित मनोवृत्तिले हामीलाई कमजोर बनाएको हो ।

एकै छिन हामीले हाम्रो संगठनतर्फ फर्किएर हेरौं त हामीले के गरिरहेका छौं ? विशेष गरी केन्द्रीय सभापति वा जिल्ला सभापतिहरु प्रधानमन्त्री, सांसद वा मेहर बन्नका लागि उम्मेरदवार बन्न खोज्ने होडबाजीले हामीलाई कहाँ पु¥याएको छ ? पार्टीको सभापति वा अध्यक्षनै कुनै निर्वाचन क्षेत्रवाट उम्मेदवारको रुपमा निर्जाचन लडिदिँदा के हुन्छ ? अन्य निर्वाचन क्षेत्रहरुमा त्यसको कस्तो प्रभाव पर्छ ? पार्टीको प्रमुखको आवश्यक रेखदेख, निर्देशन र निर्वाचनका लागि चाहिने रणनीतिक योजना अन्य क्षेत्रहरुले कसरी प्राप्त गर्छन् ? के प्रचार प्रसार समितिको संयोजक बनाएको व्यक्तिले पार्टी सभापति वा अध्यक्षले जस्तो प्रभावकारी र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ?

यसैले एउटै व्यक्तिलाई दुई वा दुई भन्दा बढी जिम्मेवारी दिन सकिने हाम्रो सांगठनिक प्रबन्धको अन्त्य आवश्यक छ । अब नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले यही १४ औं महाधिवेशनवाट यसको कार्यान्वयनका लागि दबाब सिर्जना गर्न सक्नुपर्छ । पार्टीको महाधिवेशनमा उम्मेदवार हुन खोज्ने सबै उम्मेदवारहरुलाई यसो भन्न नसकिए पनि कमसेकम हरेक तहका सभापति र अध्यक्ष वा पदाधिकारीहरुलाई पार्टीको जिम्मेवारीभित्र आफ्नो कार्यकाल रहेसम्म अगाडि आउने स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने छैन भनी सार्वजनिक प्रतिवद्धता व्यक्त गर्न लगाउनुपर्छ । यसो गर्न सकिने हो भने पार्टीभित्र गुटको अन्त्य गर्न र पार्टीलाई सबै तहको निर्वाचनमा विजयी गराउने एउटा विश्वस्त आधार निर्माण हुन्छ ।

च) कामको आधारमा कार्यकर्ताहरुको मूल्यांकन गर्ने संस्कारको स्थापना
वर्तमान समय हामीले कति काम ग¥यौं भन्दा पनि हामीले कति परिणाम दियौं भन्ने कुरामा केन्द्रित छ । हामीले संगठनलाई जति धेरै समय दिए पनि, संगठनको नाममा जति धेरै परिश्रम र मेहनत गरे पनि वा जति खुट्टा दुःखाएर गाउँ घर घुमेर पसिना बहाए पनि यदि त्यसको परिणाम देखिने गरी संगठनले प्राप्त गर्न सकेन भने त्यसको कुनै पनि हिसाबले अर्थ रहँदैन । संगठनमा हामीले गरेको प्रयास र मेहनतले आम जनता र विपक्षी राजनीतिक पार्टीका कार्यकर्ताहरुमा सकरात्म धारणाको प्रवाह भयो, पार्टी सदस्यहरुको संख्यामा वृद्धि भयो वा सांगठनिक गतिशीलता र सुदृढीकरण भयो भने मात्रै हामीले गरेको कार्यको मूल्य रहन्छ ।

यसका साथै हिजोको हाम्रो गौरवपूर्ण इतिहासले भोलिको भविश्य सुनिश्चित गर्न सक्दैन भन्ने कुरालाई पनि हामीले बुझ्न आवश्यक छ । हामी हिजो कति वर्ष जेल बस्यौं, कति यातना भोग्यौं, कति भूभिगत भयौं वा कति सपत्ति र परिवार गुमाएर घरवारविहीन भयौं भन्ने हाम्रो गौरवपूर्ण इतिहासको दाबीले मात्रै भोलिको हाम्रो संगठन माथि न्याय गर्न सक्दैन । यसका लागि हामीले परिवर्तित समयको पदचापसँगै आफूलाई अनुकूलित वनाएर लैजान सिर्जनशिलता पनि देखाउन सक्नुपर्छ । परिवर्तनको वर्तमान ज्वाला भित्रबाट आफूलाई खरो र सग्लो निकाल्न सक्नु पर्दछ । तर हाम्रो संगठन यसरी चलिरहेको अवस्था छैन ।

आफूलाई मन पर्ने नेता तथा कार्यकर्ताको मूल्यांकनको परिपाटी एक खालको र आफूलाई मन नपर्ने नेता तथा कार्यकर्ताको मूल्यांकनको परिपाटी अर्को खालको गर्ने गराउने हाम्रो राजनैतिक संस्कारले हामीलाई थिचेको छ । पार्टी भित्र परिणाम र अनुशासन खोज्ने भन्दा पनि आफ्नो वरिपरि घुम्ने, आफ्नो गल्तिमा ढाकछोप गर्ने, पैसाको तागत देखाउन सक्ने, अन्धाधुन्ध तरिकाले गुट उपगुटभित्र रमाउने कुरालाई आधार मानेर कार्यकर्ताको मूल्यांकन गर्ने परिपाटी भित्रबाट हामी गुज्रिरहेका छौं । अब यसलाई चिर्नै पर्छ र पार्टीभित्र कार्यकर्ताको मूल्यांकन गर्ने यो गलत संस्कारलाई समूल नष्ट गर्नुपर्छ ।

त्यो कसरी गर्ने ? हाम्रो संगठनको वर्तमान अवस्था भित्र यो असम्भव जस्तो पनि लाग्न सक्दछ । तर सांगठनिक जीवन र यसको क्रियाशीलताका लागि यसलाई हामीले सम्भव बनाउनै पर्छ र जस्तो सुकै कठिनाइका बाबजुद पनि यसलाई चिर्नैै पर्छ । यसका लागि दृण इच्छा शक्ति भएको, सपना देख्न र देखाउन सक्ने र अत्यन्त पारदर्शी र वैज्ञानिक तरिकाबाट कार्यकर्ताको मूल्यांकन गर्न सक्ने क्षमता भएको र आफूले गरेको मूल्यांकनको आधारमा टेकेर नेपाली कांग्रेसका आम नेता तथा कार्यकताहरुलाई आफूले गरेको मूल्यांकनलाई गलत सावित गर्न नसक्ने गरी चुनौती दिन सक्ने उच्चकोटीको नेतृत्वको आवश्यकता पर्छ ।

यसका लागि हरेक तहका नेतृत्वहरुसँग आफ्नो नैतिक बल, अुनशासन र पारदर्शिताको बलियो हतियार चाहिन्छ । यी हतियारहरुको प्रयोग गरेर कार्यकर्ता मूल्यांकनको खाका तयार पार्ने र सोही अनुसार निर्वाचनको टिकट दिँदा वा पार्टीका अन्य भूमिकामा जिम्मेवारी दिने हो हामीले फरक परिणामका लागि फरक पार्टीको निर्माण गर्न सक्छौं ।

(बराल नेपाली कांग्रेस, कास्कीको महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्दीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया