‘हत्यारा’ले नै भनेको थियो-प्रहरी छिटो बोलाऊँ

समाधान संवाददाता २०७८ भदौ ८ गते ११:२७

अनिष भट्टराई, पोखरा– कास्कीको मादी गाउँपालिका १० की कोपिला परियारको हत्या आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटनाको १३ महिनापछि ‘हत्यारा’लाई प्रहरीले समाउन सफल भएको छ ।

प्रहरीले कोपिला हत्यामा संलग्नताको आरोपमा मोटे रामबहादुर थापा भनिने ४५ वर्षीय खड्कबहादुर खवासलाई पक्राउ गरेको हो । २०७७ असार २५ गते मादी मकैखोलाकी १८ वर्षीया कोपिलाको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।

असार १५ गते घरबाट निस्केकी उनको शव १० दिनपछि कुहिएको अवस्थामा फेला परेको थियो । उनको शव उठाउँदा माथिल्लो शरीरमा कुर्था थियो । कम्मरमुनि भने उनी नग्न अवस्थामा फेला परेकी थिइन् । त्यसयता परियारको बारेमा प्रहरीले अनुसन्धान गरिरहेपनि सफलता हात पारेको थिएन ।

Advertisement

खवासले हत्या आरोप स्वीकारेका छन् । प्रहरीसँगको बयानमा उनले आफूहरु मायामा रहेको र शारिरीक सम्बन्धपछि हत्या गरेको स्वीकारेका हुन् । खवासविरुद्ध कास्की प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

के भएको थियो त्यसदिन ?
कोपिला बाल्यकालदेखि नै एक्लिइन् । बाबु दोस्रो श्रीमती लिएर विदेशिए । आमाले पनि कोपिलालाई मामाघर राखेर अर्को बिहे गरिन् । कोपिलाकी दिदीको ५ वर्षअघि नै मृत्यु भइसकेको थियो । कोपिला मामाघरमा राखिइन् । मामाघर रहेका बेला पढाउने, हुर्काइदिने जिम्मा कोपिला नेपाल संस्थाले लिएर उनलाई संरक्षण दियो । पछि उनी मामाघर नै फर्किइन् ।

Advertisement

कोपिलाको मामाघर मकैखोलामा त्यति बेला विद्यालय निर्माणमा लागेका रामबहादुरसँग कोपिला केही नजिक थिइन् । कोपिला धेरैजसो विद्यालय निर्माणस्थलमा पुग्थिन् । रामबहादुुरले कोपिलालाई जिस्क्याउँथे । कोपिला मानसिक रुपले केही कमजोर रहेकाले उनी रामबहादुरसँग नजिकिइन् । प्रहरी अनुसन्धानको निचोड छ, ‘कोपिला मानसिक रुपले कमजोर रहेको र अभिभावकको संरक्षण नपाएकाले छिटो नजिकिइन् ।’ कोपिलाले यसबारे आफ्नी साथी लक्ष्मीलाई भनेकी थिइन् । रामबहादुर र कोपिला खोलको किनारमा एकान्त हुने भएकाले त्यहीँ भेट्थे ।

जेठ १५ मा गाउँ पसेका रामबहादुरले कोपिलालाई निकै छिटो जालमा पारे । असार ११ गते कोपिला र रामबहादुर कोपिलाकी साथी लक्ष्मीको घरमा भेटिएका थिए । लक्ष्मीका बुबा किसानले यो कुरा थाहा पाएपछि गाउँमा फैलिएको थियो । त्यसको ४ दिनपछि असार १५ को बिहान कोपिलाले घरमा हजुरआमासँग २ सय रुपैयाँ माग्दा नपाएपछि रिसाएर हिँडेको प्रहरी बताउँछ । त्यसपछि उनी खोलातिर लागिन् ।

बाटोमा रामबहादुरसँग छोटो कुराकानी हुन्छ । गाउँकै केही साथिहरुसँग खोलामा खेलेकी उनले पछि साथीहरुलाई घर जान भनिन् । आफूचाहिँ खोलामै बसिन् । ‘कोपिला आएर खोलामा हुन्छु भनेर ऊ लागि । म पनि केही पछि खोलामा गएँ, ऊ खोलामै थिइ,’ रामबहादुरले प्रहरीसँग भनेका छन् ।

रामबहादुरको बयान अनुसार उनीहरु खोलाबाट केही वारिको बारीमा जान्छन्, अनि उनीहरुबीच शारीरिक सम्बन्ध हुन्छ । शारीरिक सम्बन्ध भइसकेको र गाउँमा पनि हल्ला फिजिएपछि कोपिलाले रामबहादुरलाई आफूसँगै लैजान भन्छिन् । ‘हामीबीच यति भइसक्यो, अब मलाई हजुरसँगै लैजानुस्,’ रामबहादुरलाई कोपिलाले भनेकी थिइन् ।

रामबहादुरकी दोस्रो श्रीमती त्यही विद्यालय भवन निर्माणमै काम गर्न श्रीमान्सँग आएकी थिइन् । रामबहादुरकी जेठी श्रीमती स्याङ्जा छिन् । कोपिलालाई लगे ३ श्रीमती हुने भएपछि कोपिलालाई लैजान रामबहादुर राजी भएनन् । केहीबेर भनाभन भएपछि कोपिलालाई रामबहादुरले झापड हान्छन्, पछि सुरुवालले घाँटीमा बेरेर हत्या गर्छन् । ‘लैजा कि लैजा भनेपछि झगडा भयो अनि हत्या गरें,’ रामबहादुर स्वीकार्छन् । कतिसम्म भने प्रहरीलाई घटनाबारे खबर गर्न रामबहादुरले नै भनेका थिए ।

कोपिलाको शव भेटिएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको थियो । ती ४ जनामध्ये रामबहादुर पनि थिए । तर त्यति बेला प्रहरीले उनीविरुद्ध प्रमाण जुटाउन नसकेपछि उनलाई छाडेको थियो । प्रहरीले गरेको पोलिग्राफ परीक्षणबाट समेत त्यति बेला केही खुलेको थिएन । डेढ महिनाअघि कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापाले यो केसमाथि फेरि अनुसन्धान थाले । उनी आफै घटनास्थल मकैखोला पुगे । धेरैसँग सोधपुछ गरे ।

असारको १५ गते कोपिला खोलामै हुँदा अरु को को खोलातिर गए भन्ने पत्ता लगाएपछि खवासतिर अनुसन्धान फेरि सोझिएको थियो । यसपालि भने खवासले प्रहरीसँग बलात्कार र हत्या कबुले । उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी, बलात्कार मुद्दा अगाडि बढेको छ । एसपी थापाका अनुसार कोपिला मानसिक रुपमा कमजोरसमेत भएको हुँदा थप सजायको माग पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया