‘डराउनु पर्दैन, ड्रेनेज राम्रो गराए पोखरा सुरक्षित’

समाधान संवाददाता २०७८ भदौ ८ गते १२:२३

समाधान संवाददाता
पोखरा- पोखरा ९ महेन्द्रपुलका कृष्ण बानियाँ आइतबार बेलुका खाना खाइरहेका बेला बाहिर हल्लाखल्ला भएको सुने । घर बाहिर निस्किएर हेर्दा उनको घरकै अघि ठुलो भ्वाङ परेको देखे । एकछिन उनी अत्ताल्लिए । उनी अचम्मित भने भएनन् । किनकी उनलाई थाहा थियो, कुनै दिन ठूलो पानी परे यहाँ खाडल पर्छ ।


आइतबार बेलुकाको झरीपछि पौने १० बजेतिर महेन्द्रपुल नजिकैको सडक भासिएको थियो । गरिमा विकास बैंक र उत्तम भाँडा पसलअघिको सडक भासिँदा अहिले त्यहाँका घर जोखिममा छन् ।


बानियाँ आफूले पहिलेबाट नै त्यहाँ ढल राख्नुपर्ने बताउँदै आएपनि स्थानीयले चासो नदिएको गुनासो गर्छन् । विन्दवासिनी मन्दिरबाट वर्षाको बेला महेन्द्रपुलहुँदै नयाँबजार, पृथ्वीचोकसम्म आइपुग्छ । तर पानीको निकासका लागि ठूला ढल राख्नुपर्ने भएपनि अरुले चासो नदिएको बानियाँको आपत्ति छ । ‘यस्तो हुन्छ भन्ने पहिले नै थाहा थियो, विन्दवासिनीदेखिको पानी आउँछ । ढल राख्नुपर्छ है भन्दा सबैले ल, ल मात्र भनेर छाड्ने गरे,’ बानियाँ भन्छन् ।

Advertisement


सडक निर्माणकै बेला नहर राख्नुपर्छ भनेपनि सानो निकासा मात्र बनाएर छाड्दा अहिले त्यो निकासा पनि पुरिएको बानियाँ बताउँछन् । सडक मर्मत र खानेपानी पाइप विस्तारको कामले यहाँको सडकलाई पटकपटक भत्काउने बनाउने गरिएको छ । यसले सडकमा राखिएका ढलहरु पनि पुरिने सम्भावना छ ।

पोखरामा अहिले जाइकाले महानगरको समन्वयमा बृहत्तर खानेपानी आयोजनाको काम गरिरहेको छ । खानेपानी र सडक निर्माण कम्पनीले पनि यस्ता विषयमा ध्यान दिएर काम गर्नुपर्ने बानियाँको सुझाव छ । ‘उनीहरुलाई मात्र दोष दिन मिल्दैन, जनप्रतिनिधिहरुसँग कति पटक कुरा राखें तर टेरेनन्,’ बानियाँले भने । आफूहरुको घरभित्रै पानी पस्दा पनि स्थानीयले ख्याल राख्न नसकेको उनको गुनासो छ । ‘सडकको पानी कहिलेकाहीँ घरभित्रै पस्छ । आधा खुट्टासम्म आउँछ । कसैले भित्रैबाट योबारे सोच्न सकेनन्,’ उनले भने ।

वर्षकै धेरै वर्षा
पोखरामा सोमबारबिहान यस वर्षकै धेरै वर्षा भएको छ । आइतबारबिहानदेखि सोमबार बिहान ८ः ४५ सम्मको रेकर्डमा २६०.१ मिलिमिटर पानी परेको जनाएको छ । यस वर्ष अहिलेसम्म यो नै २४ घण्टामा सबैभन्दा धेरै पानी परेको रेकर्ड हो । गत वर्ष मनसुन अवधिमा ५४ सय ५३.२ मिलिमिटर पानी परेको थियो । २४ घण्टामा सबैधन्दा धेरै पानी परेको पोखराको रेकर्ड भने सन् २००१ को अगष्ट १८ मा ३ सय ५७ मिलिमिटर पानी परेको रेकर्ड छ ।

Advertisement


‘डराउनु पर्दैन, ड्रेनेज राम्रो गराए पोखरा सुरक्षित’
किसान सिंह गुरुङ, इन्जिनियर
पोखरामा पहिला भासिएको ठाउँ अर्मला र अहिले भासिएको महेन्द्रपुलको अवस्था फरक हो । अर्मलामा कमेरो माटोलाई पानीले बगाएपछि त्यहाँ भासिएको थियो । महेन्द्रपुलमा कमेरो माटो बगाएर भासिएको होइन । महेन्द्रपुलमा सडक बनाउँदा तल गिट्टीलाई चुनले बाँधेको छ । लगातारको पानीले त्यो चुन पगालेर चुनले गिट्टी छाडेपछि भासिएको हो । माथि माटो कमजोर भएर तल चुनले छाडेपछि भासिएको हो ।

यो एकैसाथ हुने कुरा होइन, यसका लागि समय लाग्छ । चुन खोक्रो बनेर गिट्टी छाडेपछि मात्र माटो झर्छ । पोखरा देशकै पानी धेरै पर्ने सहर हो । भूगर्भको अवस्था हेर्दा यहाँको ड्रेनेज सेफ्टि ठीक छैन । व्यवस्थित किसिमले यहाँको पानीलाई अन्तिम गन्तव्यसम्म पु¥याउन नसके यस्ता घटना अझै घट्छन् । पानीलाई कसरी हुन्छ, सुरक्षित तरिकाले अन्तिम गन्तव्यसम्म, चाहे त्यो खोला होस्, ताल होस् पु¥याउनुपर्छ । पोखराको भूगर्भ कटौराको जस्तो छ । माथि हिमालहरु छन् ।

पहिला अन्नपूर्ण, माछापुच्छ्रे हिमालमुनिका हिमताल फुटेर पोखरा बनेको हो । सेतीवारिसम्म यो धेरै बगर जमेर बस्यो । पोखराको फर्मेसन कमजोर छ । यहाँ मानिसहरुको बसोबास, विकास निर्माणका कामले पनि कमजोर जगलाई कमजोर बनाएका छन् । महेन्द्रपुलमा अहिले भासिएको ठाउँमा डराइहाल्नु चाहिँ पर्दैन । पानीको राम्रो निकासी गराएर त्यहाँको माटो पुर्ने भने केही सुरक्षित हुन सक्छ ।

तपाईको प्रतिक्रिया