पुलमा भूल हुँदा राज्यलाई ३ करोड बढी भार

समाधान संवाददाता २०७८ भदौ ११ गते ११:५०

समाधान संवाददाता
पोखरा
– मुस्ताङको कालीगण्डकीमा निर्माणाधीन लेते कुन्जुङ पुलको डिजाइन गलत पाइएको छ । २०७८ भदौ १३ गते निर्माण सकाउने सम्झौता भएपनि यस पुलको डिजाइन गलत भएपछि भेरिएसन अर्डर (भिओ) गर्नुपर्ने भएको छ । भिओ गर्दा २४.८१ प्रतिशत रकम बढ्ने भएपछि गण्डकी प्रदेशको मन्त्रिपरिषदले भिओलाई अनुमोदन गरेको छ ।

Advertisement


१५ प्रतिशतसम्म भिओ भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्न सक्छ । १५ प्रतिशत माथि गएपछि मन्त्रिपरिषदले अनुमोदन गर्नुपर्ने व्यवस्था अनुरुप अनुमोदन गरिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् । ‘भौतिकले १५ प्रतिशत र क्याबिनेटले ९.८१ प्रतिशत गर्ने गरी अनुमोदन गरेका छौं । आर्थिक दायित्व प्रदेशलाई पर्दैन, संघबाट ससर्त अनुदानमा बनिरहेको हो,’ खड्काले भने । पुलको भिओ अनुमोदनसँगै प्रदेश सरकारले शिक्षा नीति स्वीकृत गर्नुका साथै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिकको पनि निर्णय गरेको छ ।


पुल निर्माणका लागि तत्कालिन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवा काठमाडौंबीच २०७३ भदौ १९ गते सम्झौता भएको थियो । ११ करोड ३७ लाख ४२ हजार रुपैयाँमा काम सक्ने गरी सम्झौता भएको थियो । भिओ गर्नुपर्ने भएपछि यसको लागत बढेर १४ करोड १९ लाख ६५ हजार पुग्ने छ । सम्झौतामा उल्लेख भएअनुसारको निर्माण अवधि आउँदो १३ गते सकिँदैछ ।


निर्माणाधीन पुललाई कालीगण्डकी नदीको कटानले प्रभावित बनाएको थियो । वर्षातको मौसममा नदीको उच्च बहावका कारण पुलको फाउन्डेसन बिममा असर पु¥याएपछि निर्माणाधीन मोटरेबल पुलको संरचना जोखिम पर्ने देखिएपछि भिओ गर्न लागिएको हो ।


नदीले प्रभावित पुलको केही समय अघि स्विजरल्यान्डको पुल हेर्ने संस्था एलआरपिएसयुले स्थलगत अनुगमन गरेको थियो ।अनुगमनमा साविक अनुसार पुल निर्माण गर्दा दीर्घकालीन नहुने संस्थाले प्रतिवेदनमा उल्लेख गरेको छ।

Advertisement


पुलकोलम्बाई १ सय मिटर र चौडाइ७ दशमलव २० मिटर रहनेछ । निर्माणाधिन पुलले थासाङ गाउँपालिकाको पूर्वतर्फका गाउँहरु छयो, झिप्रा देउराली, कुञ्जो, ताक्लुङ र टिटी गाउँ जोड्ने छ । प्रारम्भिक निर्माण चरणमा ठेकेदार र पेटि ठेकेदारबीचको आन्तरिक द्वन्द्वका कारण पुल निर्माणमा ढिलाई भएको थियो ।

तपाईको प्रतिक्रिया