फेवा किनारमा छचल्किरहेछ आँसु !

सञ्जय रानाभाट २०७८ भदौ १२ गते १२:०८

सञ्जय रानाभाट
पोखरा- पोखरामा १ दशकअघि भैरहवाका सोनुप्रसाद गौड कामको खोजीमा आए । अझैसम्म पनि उनी राम्रो कामको खोजीमा छन् । यसबीच उनले पोखरामा माछा मार्नेदेखि चटपट व्यापार गरे । तर जीवनस्तर ज्युँको त्युँ ।


गौड आफ्नो कथा सुनाउँछन्—पोखरा आएर केही समय माछा मार्ने, बेच्ने गर्न लागे । पेट भर्न पुग्ने मात्र आम्दानी थियो । माछा मारेर उति साह्रो आम्दानी भएन । पछि उनले प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने ठाउँमा चटपटे ठेला राख्ने अनुमति पाए । चटपट, पानीपुरी, जुससहितका खित्रीमित्री बेच्न थाले ।


हालैको एक दिन फेवा किनारमा त्यही सानो ठेला लिएर टुक्रुक्क बसिरहेका थिए गौड । फेवामा पानी छचल्किँदा उनका आँखा पनि रसाएका देखिन्थे । आँखा केही भन्न खोज्दै छन् भन्ने भान मिल्थ्यो । गौडेल खासमा अहिले नोस्टाल्जिक छन् ।


उनको ठेला अघि युवायुवतीदेखि बालबच्चाको भिड हुन्थ्यो । व्यवसाय एक हिसाबले फस्टाएको थियो । तर कोरोनाका कारण व्यवसाय अहिले शून्यप्राय छ । अहिले त्यस्तो भिड हुँदैन । पर्यटक आएका छैनन् । उनको यो सानो व्यवसायको पनि उठिबास लागेको छ । हातमुख जोड्न धौ छ ।
कुनै बेला उनलाई काम गर्न भ्याइनभ्याइ थियो । दिनकै ५ हजारको व्यापार गर्थे रे गौड । अहिले दिनको ५ रुपैयाँ कमाउन हम्मेहम्मे छ । आम्दानीको त कुरै नगरौं । ‘पोखरा आएपछि अहिलेसम्मकै सबैभन्दा गाह्रो समय बाँचिरहेछु, दिनको ५ जनालाई सामान बेच्न सक्ने अवस्था छैन, आम्दानी कसरी हुन्छ ?’ उनी भन्छन् ।


गौडलाई अहिले दोहोरो पिरलो छ । एक त व्यवसाय ठप्प छ, अर्को उनको परिवारका सदस्य रोगसँग लडिरहेका छन् । ठूलो परिवार, त्यसैमाथि जेठो छोरा बोल्न सक्दैनन् । श्रीमतीको घाँटीको नसा च्यापिएर उपचार गर्न सकिएको छैन । उपचारका लागि भारत लगे पनि केही जम्मा गरेर राखेको रकम सकिएपछि नेपाल फर्काउनुप¥यो । नेपालमै पनि नदेखाएका होइनन् । मणिपाल, हरियो खर्क अस्पतालमा देखाएका हुन् । तर यहाँ उपचार गर्न नसक्ने भन्दै अस्पतालले भारत नै लैजान ‘रेफर’ गरिदिए । गौड परिवारमा ६ जना छन् । भाइ डुंगा चालक भएपनि अहिले उनको समेत आम्दानी सुख्खा छ ।


सोनुप्रसाद गौडको व्यापारको एकमात्र सहारा प्याराग्लाइडिङ पनि अहिले बन्द छ । सरकारले कोरोना संक्रमणका कारण प्याराग्लाइडिङ गर्न अनुमति दिएको छैन । प्याराग्लाइडिङ खुलेपछि पहिलेको जस्तै व्यवसाय चल्ने आसमा उनी छन् ।
व्यापार हुँदैन, थाहा हुँदाहुँदै गौड दिउँसो १२ बजे ठेला लिएर लेकसाइड, खपौदी पुग्छन् । त्यहाँ पुग्ने उनी एक्लो बन्छन् । साथी उही पुरानो ठेला । उनले आफ्ना दुख त्यही ठेलालाई सुनाउँछन् । अतीतका दिन सम्झेर ठेलालाई नै मुसार्दै फिस्स हाँस्छन् । श्रीमतीसँग दुख पोख्ने छुट उनलाई छैन । दुखसुख सुनाउने जीवनसाथी रोगले थलिएर बिस्तारामा छिन् ।


गौड अहिले तत्काल कुनै नयाँ जागिर पाए गर्न आतुर छन् । पोखरा बसाइको १ दशकमा उनले निकै हण्डर खाएका छन् । ‘घरमा आम्दानी सुका छैन । लकडाउनमा कुल्ली काम पनि पाइनँ,’ उनी भन्छन्, ‘१० वर्ष पहिले पनि काम खोज्दै थिएँ, अहिले पनि काम खोज्दै छु ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया