राम्दीमा युवा संघको स्वागत बोर्ड

समाधान संवाददाता २०७८ भदौ १२ गते १७:२५

समाधान संवाददाता
पोखरा- गण्डकी प्रदेशको दक्षिण पश्चिम नाकाको प्रवेशद्वार स्याङ्जाको राम्दीपुलमा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले शनिबार स्वागत (होडिङ) बोर्ड राखेको छ ।

Advertisement


लुम्बिनी प्रदेशबाट गण्डकीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्न गल्याङ नगरपालिका १ राम्दी बजारको सडकको किनाराको भित्तामा बोर्ड राखेको प्रदेश कमिटी अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए ।


गण्डकी प्रदेश सभा विधायन समिति सभापति तथा नेकपा (एमाले)का नेता मोहन रेग्मीले स्वागत बोर्ड उद्घाटन गर्दै राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनताको जीवनस्तर सुधार, विकास र समृद्धिको मुद्दामा युवा संघले सक्रिय भूमिका खेलेको बताए । उनले संघले कोभिड १९ को रोकथाम नियन्त्रण, बाढी पैरो प्रभावितलाई राहत उद्धारमा स्वयंसेवीको काम गरेको उल्लेख गरे ।


‘राजनीति क्षेत्रका विकृति र विखण्डनकारीका गलत क्रियाकलापलाई परास्त गर्न युवा सक्रिय बन्नु पर्छ,’ उनले भने, ‘अग्रगामी परिवर्तन, सिर्जनशिलता र क्रान्तिकारीपनलाई निखारता ल्याउँदै अझै सिजनात्मक र रचनात्मक क्रियाकलाप गर्नु पर्छ ।’ उनले युवा संघ हरेक राजनीतिक आन्दोलनको मुल प्रवाह बनेको बताए ।


युवा संघको भूमिकाले नेकपा एमाले सशक्त भएको चर्चा गर्दै उनले पार्टीका विखण्डनकारीलाई जवाफ दिने गरी रचनात्मक काम गर्न सुझाव दिए । नेता रेग्मीले आम युवालाई संगठित गरेर राजनीतिक र वैचारिक प्रशिक्षण दिएर पार्टीका असल कार्यकर्ता बनाउन आग्रह गरे ।

Advertisement


नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य पुण्यप्रसाद भुषालले पार्टी र देशलाई संकट पर्दा युवा संघले सक्रिय भूमिका खेलेको बताए । धमिरा लागेर पार्टीलाई कमजोर बनाउन खोजेका बेलामा युवाको साथ समर्थन रहेको उल्लेख गर्दै उनले युवाहरु सचेत भएर लोभी पापीका अराजक गतिविधिलाई परास्त गर्नुपर्ने धारणा राखे ।


युवा संघ गण्डकी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गुरुङले युवा संघको केन्द्रीय नीति अन्तर्गत पूर्वी नाकाको मुग्लिङ र राम्दीमा स्वागत बोर्ड राखेको बताए । आवश्यकताका आधारमा प्रदेशका अरु नाकामा समेत बोर्ड राख्ने जानकारी दिदै उनले बोर्डले युवा संघलाई परिचित र स्थापित बनाउन सहयोग पुग्ने दाबी गरे । आम युवालाई राजनीतिमा ल्याउन युवा संघले सक्रिय भूमिका खेलेको दाबी गर्दै उनले युवालाई राजनीतिमा स्थापित गरी नेतृत्व तहसम्म पु¥याउने उल्लेख गरे । उनले ५ दलीय गठबन्धनले पार्टी र संगठनलाई कमजोर बनाउन नसक्ने दाबी गरे ।


युवा संघ नेपालका सचिवालय सदस्य दामोदर तिवारीले पार्टीमा आईपरेका चुनौती सामना गर्न युवा तयार रहेको बताए । उनले कुनै पनि शक्तिले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया