बतास र पाैडेल जी ! तपाईकाे अस्पताल जाँदा गरिब थक्थकाउन र धनी पछुताउन नपरोस्

समाधान संवाददाता २०७८ भदौ १२ गते २०:१०

समाचार टिप्पणी/रामकृष्ण ज्ञवाली

सात वर्षअघिको कुरा हो । म काठमाडौं गएको थिएँ । पोखरेली उद्यमीे आनन्दराज बतासले गैरीधारास्थित आफ्नै कार्यकक्षमा कफी पिउन आमन्त्रण गरे । मैले पोखरामा उद्यमशीलताका लागि लड्दै गरेको अवस्थाबाटै चिनेको आनन्दको गैरीधारा अफिस हेरेपछि फ्याट्ट भने, ‘पोखराबाट आएर तपाई धेरै अग्लो हुनु भयो, बधाई छ !’

उनले त्यसलाई स्वीकारेनन् र भने, ‘तपाई पोखरा बस्नु भएकाले मलाई अग्लो देख्नु भयो । अथवा, यसरी बुझ्नुस् कि पोखराका मान्छे मभन्दा होचा भएकाले म त्यहाँ अग्लो देखिएको हुँला । यो काठमाडौंमा त म धेरै होँचो छु ।’

Advertisement

७ वर्षअघिको त्यही होँचो आनन्द र उनको टिमले देशका ठूला ठूला व्यावसायिक घरानालाई पछि पार्दै पोखराको मणिपाल शिक्षण अस्पतालको स्वामित्व किनेको छ । चौधरी ग्रुपसहितका धेरै मारवाडी समुदाय र अन्य उद्यमीले विगत १ वर्षदेखि अस्पतालको स्वामित्व किन्ने प्रयत्न गरेका थिए ।

तर, भारतको प्रतिष्ठित संस्था मणिपालले उनीहरुभन्दा पोखराकै उद्यमी बतास र नारायण पौडेललाई विश्वास ग¥यो र मणिपाल शिक्षण अस्पताल पोखरेलीलाई जिम्मा लगाएर बाहिरियो । भारतमा ठूलो नेटवर्क भएको मणिपाल सफल व्यवसायिक घरना हो । तर उसले नेपालमा राम्रो गर्न सकेन÷पाएन ।

Advertisement

मणिपालका दुख

मणिपाल निजी क्षेत्रको लगानीमा खोलिएको नेपालको पहिलो अस्पताल हो, त्यो पनि विदेशी लगानी । मणिपालले पोखरालाई छनौट गर्नु चानेचुने चुनौती थिएन । ९ सय शड्ढयाको अस्पताल सञ्चालन गर्न धेरै बिरामी चाहिने भएकाले काठमाडौं वा तराईका कुनै मुकाम रोज्न सक्थ्यो । पोखराको वातावरणबाट मोहित मणिपाल समूह ठूलो जोखिम लिएर पोखरामै बनाउन राजी भयो ।

उनीहरुको एउटै लोभ थियो–गुणस्तरीय शिक्षण अस्पताल बनाएपछि भारत, श्रीलंका लगायतका देशबाट धनीमानीका सन्तानलाई सुन्दर पर्यटकीय सहर पोखरा ल्याउने र व्यवसायिक रुपमा सफल हुने ।

तर मणिपालले बनाउने बेलादेखि नै सास्ती पाउन थाल्यो । स्थानीयका नाममा चर्का आन्दोलन भए । हो, भारतीयले नेपालीलाई हेप्छन् तर मणिपाल हाम्रो अर्थात् पोखराको पनि सम्पति हो भन्ने अनुभूति पोखरेलीले गर्न सकेनौं । निस्किने बेलामा मणिपाल व्यवस्थापनको यही गुनासो छ । उ भन्छ, ‘न स्थानीयले माया गरे, न कर्मचारीले सहयोग गरे, न नेपाल सरकारले संरक्षण ग¥यो ।

१ सय ५० जनासम्म एमबिबिएसका विद्यार्थी पढाउने गरी भौतिक पूर्वाधार बनाएको मणिपाललाई मेडिकल काउन्सिलले १ सयभन्दा बढी कोटा दिएन । मेडिकलसम्बन्धी अन्य पढाइ सञ्चालन गर्ने प्रस्तावलाई निरुत्साहित गरियो । कर्मचारीका आन्दोलनले बारम्बार महिनौं सेवा प्रभावित भइरहे ।

नेपाली चिकित्सकले हडताल गर्ने वातावरण बन्यो । आन्दोलनकै कारण महिनौंसम्म विद्यार्थीले पढ्न पाएनन् । लाखौं तिरेर भारत र श्रीलंकाबाट आएका विद्यार्थीले पढ्न नपाएपछि कलेज बदनाम भयो । उनीहरुको रोजाइमा नेपालको मणिपाल पर्न छाड्यो । भारतीय चिकित्सक, विद्यार्थीलाई त सुरक्षा थ्रेटको समेत अनुभूति भयो ।

यसो हुनुमा मणिपाल अस्पताल प्रशासनका पनि थुप्रै व्यवस्थापकीय कमजोरी छन् । त्यसैले त ०५१÷०५२ ताका नै ५८ करोड रुपैयाँ लगानी गरेर बनाएको मणिपाल २६ वर्षपछि ३ सय २२ करोड रुपैयाँमा बेचेर हिड्यो । लगानीका हिसाबले यो ठूलो घाटा हो ।

खरिद, बिक्री र विवाद

मणिपाल बिक्रीको समाचार आएपछि नेपालमै तरंग आयो । कतिपय यो बेच्नै नपाइने भन्दै सरकारले लिनुपर्ने तर्क गरिरहेका छन् । सरकारी सम्पत्ति सुटुक्क बिक्री भयो भन्ने दाबी पनि कही कतै सुनिन्छ ।

यथार्थ के हो भने मणिपालले बेच्न पाउनेमात्र बेचेको छ । उसले सरकारसँग ४९ वर्षका लागि लिजमा लिएको जग्गा, जमिनको लिज कागजपत्र बेचेको छ । सरकारले जुन उद्देश्यका लागि सो जग्गा भाडामा दिएको थियो, सोही उद्देश्य अनुसार प्रयोग गर्ने गरी लिजको स्वामित्व हस्तान्तरण गरेको हो । कम्पनीकै नाममा भएको करिब ४० रोपनी जग्गा र त्यसमा बनेको भवन उसले स्वतः बेच्न पाउने भयो ।

सरकारी जग्गामा बनाइएका भवनका संरचना किनेको छ, ती संरचना लिज सम्झौता सकिएपछि सरकारकै हुनेछन् । अर्थात दोस्रो पक्ष भनेको अस्पताल चलाउने पक्ष हो । उसले अस्पताल चलाइरहेको छ, चलाइरहनेछ, सरकारले तोके अनुसारको शर्त पालन गरेरै ।
अर्को जबरजस्ती उठाउन खोजिएको विषय छ, मणिपाल सरकारीकरण हुनुपर्छ । मणिपाल अन्तर्राष्ट्रिय ब्रान्ड हो, नेपालले कसरी सरकारीकरण गर्न सक्छ ? अस्पतालका संरचना सरकारीकरण गर्ने भनेको हो भने मणिपालको मुख्य अस्पताल भवन कम्पनीले आफ्नै नामको जग्गामा बनाएको छ, जुन सरकारले लिनै पाउदैन । सरकारी जग्गामा छात्राबास र अन्य संरचना छन् । ती सरकारीकरण गरेर मणिपाल शिक्षण अस्पताल बन्द गराएर देश र पोखरालाई के फाइदा ?

फेरि यो सुटुक्क बिक्री भएको पनि होइन । आफू नेपालबाट बाहिरिने जानकारी नेपाल सरकारलाई गराएरै मणिपाल खरिदकर्ता खोज्दै हिडेको थियो । सुन्नमा आए अनुसार विनोद चौधरीदेखि काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मासम्मले स्वामित्व लिने प्रयास गरेका थिए । तर मणिपाल व्यवस्थापनले पोखराका उद्यमीद्वय बतास र पौडेललाई विश्वास ग¥यो ।

आफूले गरेको लगानी पोखराकै ब्रान्डको रुपमा स्थापित होस् भन्ने चाहनाले उसले नयाँ लगानीकर्तालाई स्वामित्व हस्तान्तरण ग¥यो । ३ सय २२ करोड ६० लाख रुपैयाँमा बिक्री भए पनि मणिपाल व्यवस्थापनले २ सय २५ करोड लिएर फर्केको छ । बाँकी ९७ करोड उसले तिर्नुपर्ने वक्यौता थियो । यो वक्यौता खरिदकर्ताले तिर्नेछन् ।

नयाँ व्यवस्थापनका चुनौती

भनिन्छ, हात्ती किन्नभन्दा पाल्न कठिन छ । पोखरेली उद्यमीद्वयले बुझ्नुपर्ने कुरा भारतीय लगानीकर्ता पैसा धेरै भएर नेपालमा लगानी गर्न आएको होइन । ऊ लगानी गरेर कमाउनै आएको हो । सकेन र छोडेर गयो ।

यो अस्पताललाई यथास्थितिमा नचलाउने लगानीकर्ताले बताइसकेका छन् । लगानी थप्नै पर्नेछ । पूर्वाधार पनि रुग्ण र जीर्ण छन् । मर्मतमा करोडौं खर्चनुपर्ने छ । मुटु र नशा रोगका लागि १ सय ५० करोड थप लगानी गर्ने घोषणा त नयाँ लगानीकर्ताले गरिसकेका छन् ।

फेरि अस्पतालका सेवामा पनि प्रतिश्पर्धा छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय राम्रो सेवा दिन थालेको छ । गण्डकी मेडिकल कलेज लोकेसनका हिसाबले पनि मध्य पोखरामा छ । अरु थुप्रै निजी अस्पताल र नर्सिङ होम पोखरामा छन् । यिनैसँग प्रतिस्पर्धा गरेर अरुले भन्दा सस्तो र राम्रो सुविधा दिएर बिरामी तान्नुपर्ने बाध्यता मणिपाललाई छ ।

शिक्षण अस्पताल भएकाले यसले लिन पाउने शुल्क राज्यबाटै तोकिए बमोजिम वा सस्तो हुनुपर्छ । ओपिडीमा बिरामी गएनन् र बेडमा बिरामी भएनन् भने शिक्षण अस्पतालका विद्यार्थीले के अध्ययन गर्छन् ? महंगो शुल्क बनाएर बिरामी जान छोडे भने विद्यार्थीको संख्या झनै तल झर्छ ।

१ सय ५० जनासम्म एमबिबिएस विद्यार्र्थी पढाउन पाउने गरी पूवार्धार निर्माण गरेको यो अस्पताललाई त्यो लक्ष्य प्राप्त गर्न धेरैभन्दा धेरै बिरामी आकर्षित गर्नैपर्छ । त्यसको एकमात्र विकल्प भनेको सर्वसुलभ मूल्यमा राम्रो उपचार सेवा नै हो । योसँग मणिपाल व्यवस्थापनले सम्झौता गर्नै सक्दैन, गर्नु हँुदैन पनि ।

अर्को पोखरेलीले खुसी हुनुपर्ने कुरा, नयाँ लगानीकर्ताले मेडिकलसम्बन्धी सबै पढाइ मणिपालमा सञ्चालन गर्ने योजना बनाएका छन् । मेडिकल इन्जिनियरिङदेखि मेडिकल व्यवस्थापनसम्मका कक्षा सञ्चालन हुँदा यहाँका विद्यार्थीले स्वभाविक रुपमा अवसर पाउन सक्नेछन् । अहिले १ हजार हाराहारीमा रोजगारी दिएको यो संस्थाले यसको दोब्बर रोजगारीका अवसर सृजना गर्नेछ ।

स्वास्थ्य पूर्वाधारका हिसाबले पनि पोखरामै ओपन हर्ट सर्जरी र न्युरो सर्जरी सेवा सुरु हुने भएपछि सिकिस्त अवस्थाका बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लैजानंैपर्ने बाध्यता अन्त हुनेछ ।

र अन्तमा,
२०५९ सालको कुरा हो । पोखरामा उद्योग बाणिज्य संघको चुनावको चहल पहल थियो । त्यही माहोलमा मैले आनन्दराज बतासलाई संघको कार्यसमिति सदस्य निर्वाचन लड्न सुझाव दिएको थिएँ । उनले अस्वीकार्दै भने, ‘ज्ञवालीजी ! अबका १० वर्ष म गुमनाम भएर काम गर्छु, दाम कमाउछु । त्यसपछि संघ, सस्था र समाजसेवाबारे सोंचौला ।’

यसो भनेको १९ वर्ष भइसकेछ । यो अवधिमा बतासले मनग्गे दाम पनि कमाएका छन् । समाजसेवामा पनि लाग्दैछन् । मणिपालका लगानीकर्ताद्वय बतास र पौडेलजी ! एउटा सुझाव र एउटा अपेक्षा छ–सबैभन्दा ठूलो समाजसेवा भनेकै बिरामीको सेवा हो । तपाईको अस्पतालमा आएका गरिब र बिपन्न परिवारले थक्थकाउन नपरोस्, धनी र सम्भ्रान्त परिवारले पछुताउन नपरोस् ।

तपाईको प्रतिक्रिया