थन्किए आइसियु, भेन्टिलेटर

सुवास लामिछाने
पर्वत-कोरोना संक्रमित बढेको भन्दै गण्डकी प्रदेश सरकारले गत वर्ष जिल्ला अस्पताल पर्वतमा भेन्टिलेटर र आइसियु जडान ग¥यो । तर जडान गरेको १ वर्ष बित्दा पनि ती उपकरण सञ्चालन भएका छैनन् ।
जनशक्ति र अत्यावश्यक सामग्री अभावमा भेन्टिलेटर र आइसियु सञ्चालन नभएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेको ५ बेडको आइसियु र ३ वटा भेन्टिलेटर मेसिन अहिले त्यसै थन्किएका छन् ।
अस्पतालमा २२ चिकित्सकको दरबन्दी रहेकामा हाल १२ जनामात्र कार्यरत छन् । दरबन्दीअनुसार चिकित्सक भइदिए आइसियु र भेन्टिलेटर सञ्चालनमा ल्याइने अस्पताल प्रमुख डा. डुण्ढीराज पौडेलले बताए । ‘चिकित्सक पठाइदिनुस् भनेर हारगुहार गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ भएन,’ उनले भने, ‘कोभिडको महामारीका बेला बिरामी गम्भीर बनेपछि बाहिर रेफर गर्नुको विकल्प रहेन ।’
भेन्टिलेटरसहितको आइसियुमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमणका बिरामीलाई पोखरा काठमाडौं पठाउनुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा अहिले ५ मेडिकल अधिकृत छन् । ‘भेन्टिलेटर सञ्चालनका लागि कम्तीमा १ महिना तालिम लिएको विशेषज्ञ चाहिन्छ,’ डा. पौडेलले भने, ‘अस्पतालमा भेन्टिलेटर र आइसियु सञ्चालन गर्न चौबिसै घण्टा २ डाक्टर र ५ नर्सको आवश्यकता पर्छ ।’
उनले स्वास्थ्यकर्मी र चिकित्सक अभावका कारण संक्रमितको उपचार सोचेजस्तो हुन नसकेको सुनाए ।
प्रदेश सरकारले महँगा उपकरण खरिद गरे पनि दक्ष जनशक्ति पठाउन कञ्जुस्याइँ गरेको उनको गुनासो छ । प्रदेश सरकारले गत वर्षको कोरोना महामारीको बेला १ करोड ६० लाख बढी रुपैयाँ खर्च गरी भेन्टिलेटर मेसिन जडान गरेको थियो ।
भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त विशेषज्ञ चिकित्सक चाहिने अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको भनाइ छ । ‘यहीं नै भेन्टिलेटर सञ्चालन भएको भए बिरामीलाई बाहिर पठाउनुपर्ने थिएन,’ अध्यक्ष पहाडीले भने, ‘सरकारले आइसियु र भेन्टिलेटर पठायो । जनशक्ति पठाएन ।’
अस्पतालभित्र रहेको पहिलेको स्टोरलाई अहिले अस्थायी कोभिड वार्ड बनाइएको छ । अस्पतालकै चिकित्सक ड्युटी मिलाएर कोभिड वार्डमा खटिएका छन् । अस्थायी अस्पतालमा अहिलेसम्म ७ संक्रमितले ज्यान गुमाइसकेका छन् । संक्रमण लागेर गम्भीर भएका बिरामीलाई तत्काल आइसियु र भेन्टिलेटरमा राख्नुपर्छ । तर, अस्पतालमा भएका यी सुविधा प्रयोग हुन सकेका छैनन् । कोभिड अस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाएको स्थानीयको आरोप छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया