कहिले खुल्ला मुक्तिनाथ ?

समाधान संवाददाता २०७८ भदौ १५ गते १२:२५

एसके थकाली
जोमसोम-
कोरोना महामारी सुरु भएपछि धेरैजसो मुक्तिनाथ मन्दिर बन्दै छ । अढाइ वर्षको अवधिमा यो मन्दिर ३ महिनामात्र खुला भयो । २०७७ चैत्र ११ देखि बन्द मुक्तिनाथ गत वर्षको पुस २१ गते खुला गरिएको थियो ।


कोरोना माहामारीको पहिलो लहरपछि बिस्तारै लयमा आउन थालेको मुस्ताङको पर्यटन दोस्रो लहरसँगै बैशाखदेखि ठप्प बन्यो । पहिलो लहरका बेला मुस्ताङीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निकै होसियारी र उच्च सजगता समेत अपनाएका थिए । दोस्रोे लहर आएपछि स्थानीयको हेलचेक्र्याइ देखियो । दोस्रो लहर सुरु भएपछि मुस्ताङमा ५ सयभन्दा बढी नागरिक कोरोना संक्रमित बने । १५ जनाले ज्यानै गुमाए ।


मुस्ताङमा उपचार हुन नसकी २३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा लगिएको छ । वैशाखदेखि बन्द भएको मुक्तिनाथ मन्दिर अहिलेसम्म सुनसान छ । मुक्तिनाथ बन्द भएसँगै मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति पनि छैन ।

Advertisement


स्थानीय प्रशासनले गत वैशाख पहिलो हप्ता कोरोना रोकथाम तथा नियन्त्रण गर्नुपर्ने भन्दै निषेधाज्ञा जारी गरेको थियो । स्थानीय प्रशासनले कोरोना कहरकै कारण पटक पटक निषेधाज्ञा लम्ब्याइरहेको छ । धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा अनुसार मन्दिर, गुम्बा, चैत्य, विहार, चर्च, मस्जिद आदिमा लाग्ने मेला र अन्य भेला रोकिएको छ ।
अहिले मुस्ताङमा कोरोना संक्रमति घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ । संक्रमित घट्दै गएपछि मुक्तिनाथ मन्दिर खोल्नुपर्ने आवाज उठ्न थालेको छ । स्थानीय प्रशासन पनि मुक्तिनाथ खोल्ने तयारीमा छ ।

मुस्ताङमा निषेधाज्ञा जारी भए पनि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छन् भने जिल्लाका ५ वटै स्थानीय तहका विद्यालयले भौतिक रुपमै पठनपाठन सञ्चालन गरेका छन् ।

Advertisement


निषेधाज्ञा जारी भएको मुस्ताङमा स्थानीय प्रशासन यसमा मौन बसेको छ । कोरोनाको दोस्रो लहरमा मुस्ताङमा १५ जनाले ज्यान गुमाउँदा वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवाका ७ जना त्यसमै परे । सो गाउँका ८० बासिन्दा संक्रमित बने । कोरोनाले ज्यान गुमाएपछि अहिले मुक्तिनाथ रानीपौवाबासी सशंकित छन् ।


यहाँका होटल, रेस्टुरेन्ट सबै बन्द छन् । उनीहरु माहामारीका बेला सबै ब्यवसाय बन्द गर्ने तर यही अवस्थामा मुक्तिनाथ मन्दिर खोल्न हुन्न भन्ने अडानमा छन् । कोरोनाको पहिलो लहरका बेला बन्द भएको मुक्तिनाथ मन्दिर २१ पुसमा सर्वसाधारणका लागि दर्शन खुला गरिएको थियो ।


पुसमा जिल्लाका निर्वाचित सांसद, मुक्तिनाथ विकास समिति, स्थानीय प्रशासन, वारागुङ मुक्तिक्षेत्र गापा, वडा तह, स्थानीय मुक्तिनाथ संरक्षण समिति, पत्रकार, मन्दिरका पुजारी, आनीझुमा र सरोकारवालावालाको रोहबरमा मन्दिर खुला गरिएको थियोे । दोस्रो लहरअघि मन्दिर खुलाउँदा स्थानीय र सरोकारवालाबीच लिखित सम्झौतासमेत भएको मुक्तिनाथ पुराङ रानीपौवाका गाउँ मुखिया कर्मछिरिङ गुरुङले बताए ।


मन्दिर खुला गर्दा सरोकारवालाबीत शर्तसहित सहमती भएको उनले दाबी गरे । मुक्तिनाथ क्षेत्र अन्तर्गतका गाउँहरु रानीपौवा, झारकोट, खिङ्गा र लुप्रा गाउँका बासिन्दालाई मुक्तिनाथ खुला गरिएपछि यदि गाउँका कसैलाई कोरोना संक्रमण देखिएमा उपचारको व्यवस्था मिलाउने, गम्भीर प्रकृतिका कोरोनाका बिरामीलाई पोखरा, काठमाडांै लगेर उपचारका गर्नु परेमा हेलिकोप्टरको व्यवस्था गरिनुपर्ने र कोरोना पीडित बिरामीको उपचार तथा हेलिकोप्टर चार्टरको खर्च मुक्तिनाथ विकास समितिको कोषबाट गर्ने सहमति भएको थियो ।


तर, सहमति कार्यान्वयन नभएको मुखिया गुरुङको दुखेसो छ । कोरोना कहरको बेला पीडित परिवारले उपचारका लागि लाखौं खर्च गर्नुपरेको र कतिपय परिवारले मानवीय क्षति व्यवहोर्नु परेको मुखिया गुरुङले सुनाए । ‘मुक्तिनाथ खोल्दा स्थानीयलाई आश्वासन मात्र दिइयो, दुःखको घडीमा कसैले साथ दिएन,’ उनले थपे, ‘कोरोना हट स्पट भइरहँदा न त प्रशासन आयो, न पालिका आयो । नेताहरु पनि महलम लाउन आएनन् । त्यसैले यसपल्ट पनि जोखिम मोलेर मन्दिर खोल्ने पक्षमा हामी छैनौं ।’


रानीपौवासहित ४ गाउँका बासिन्दा अहिले नै मन्दिर खोल्ने मुडमा छैनन् । उनीहरुले स्थानीय प्रशासन र केही व्यवसायीको स्वार्थका कारण जबरजस्ती मुक्तिनाथ खुलाउँदा पहिलेको जस्तै मानवीय जोखिम सृजना हुने बताउँछन् । अहिलकै अवस्थामा मुक्तिनाथ मन्दिर खोल्न गाह्रो पर्ने रानीपौवाका पर्यटन ब्यवसायी सुरज गुरुङको भनाइ छ । विगतमा कोरोना जोखिमकै बेला स्थानीयलाई आश्वासन दिएर मन्दिर खोल्दा कोरोना संक्रमण बढेको बताउँदै उनले जीवन जोखिमा राखेर मन्दिर नखोलिने जनाए ।


मुक्तिनाथ खुला गर्ने कुरा उठेमा ४ गाउँको बैठक बसी उचित निर्णय लिइने उनको भनाइ छ । यता, कोरोना संक्रमण क्रमशः घट्न थालेको उल्लेख गर्दै मुस्ताङ उद्योग बाणिज्य संघ निषेधाज्ञा अन्त्य र मुक्तिनाथ मन्दिर खोल्नुपर्ने पक्षमा उभिएको छ । संघ अध्यक्ष खगेन्द्र तुलाचनले मुक्तिनाथ मन्दिर खोल्न पहल भइरहेको जानकारी दिए ।
यसबारे स्थानीयसँग राय, सुझाव मागेको भए पनि त्यसमा सकारात्मक जवाफ नआएको जनाए । अध्यक्ष तुलाचनले मुक्तिनाथ मन्दिर खोल्न नसके पनि कमसेकम कागबेनीसम्मका धार्मिक तथा पर्यटकीय स्थल खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

तपाईको प्रतिक्रिया