महाधिवेशनमा होमियो कास्की कांग्रेस, वडा अधिवेशन भदौं १८ मा

समाधान संवाददाता २०७८ भदौ १५ गते २०:१३

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेस कास्कीले भदौ १८ गते नै वडा इकाइ अधिवेशन गर्ने निर्णय गरेको छ । जिल्लासम्मको नेतृत्व र महाधिवेशनमा सहभागी हुन पाउने महासमिति सदस्य चयन गर्नका लागि वडा अधिवेशनको निकै महत्व हुन्छ ।

कास्कीका ७२ वटै इकाइको अधिवेशन १८ गते एकै पटक गर्ने अघि तयारी गरेको कास्की कांग्रेस सभापति कृष्ण केसीले समाधानलाई बताए । वडा अधिवेशनमा समितिमा रहेका सबै क्रियाशील सदस्यले प्रत्यक्ष मतदान गरी समिति र प्रतिनिधि चयन गर्ने विधानमा व्यवस्था रहेको सभापति कसीले बताए ।

Advertisement

वडा अधिवेशनले वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र नगर प्रतिनिधि चयन गर्नेछ । वडा समितिमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यहरु निर्वाचित हुनेछन् ।

कांग्रेसको विधान अनुसार १ सय ५० क्रियाशील सदस्य भएको वडा इकाइ समितिबाट १६ क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् । १ सय ५० माथि थप प्रत्येक १ सय क्रियाशील सदस्यबाट १० जनाका दरले क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुने विधानमा व्यवस्था छ ।

Advertisement

जसअनुसार २ सय ५० भन्दा धेरै क्रियाशील सदस्य भएको इकाइले २६ जना, ३ सय ५० भन्दा बढी सदस्य भएको इकाइले ३६ जना क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्ने छन् । जति धेरै क्रियाशील सदस्य रहे पनि १ इकाइबाट ७६ जनाभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन गर्न पाइने छैन ।

यही वडा अधिवेशनबाट १ महिलासहित ३ जना नगर वा पालिका कार्यसमिति सदस्य निर्वाचित हुने छन् । वडा अधिवेशनपछि पालिकाको इकाइ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । पालिका समितिका लागि वडा समितिका सभापति, पालिका भित्रका वडा इकाइबाट चयन भएका क्षेत्रीय प्रतिनिधि र वडाबाट निर्वाचित पालिका कार्यसमितिका सदस्यले मतदान गर्ने छन् ।

पालिका अधिवेशनबाट २ जना अपांग क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् भने पालिका इकाई समितिका सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् । यसपछि प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । यो अधिवेशनले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्नेछ । यो अधिवेशनमा वडा र पालिकाबाट चयन भएका क्षेत्रीय अधिवेशन प्रतिनिधिमात्र सहभागी हुन पाउनेछन् ।

प्रदेश सभा क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट हुनेछन् । प्रदेश अधिवेशनमा प्रत्येक प्रदेश सभाबाट प्रदेश सभापति र १६ जना प्रतिनिधि गरी १७ जना सहभागी हुनेछन् ।

त्यसपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि यही प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चयन हुने भएकाले यसले धेरै नेताको ध्यान तान्छ ।

क्षेत्रीय कार्यसमितिका साथै प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि यही अधिवेशनबाट चयन हुने भएकाले केन्द्रीय राजनीतिमा जान खोज्ने कांग्रेस नेताका लागि यो दिन विशेष हुनेछ । यिनै २५ जना केन्द्रीय महाधिवेशनका सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया