मेरो कान्छो, मेरो कान्छो भन्दाभन्दै…

समाधान संवाददाता २०७८ भदौ १८ गते १२:५७

आमाबाबुको मृत्यु, एक छोरा घाइते, अर्काे वेपत्ता

अनिष भट्टराई
पोखरा- पोखरा २० भलामको महेन्द्र माविका सुरक्षागार्ड चन्द्रकान्त बास्तोला बुधबार राति मोबाइल हेर्दै थिए । बाहिर भीषण पानी परिरहेको थियो । निद्रा परेनमोबाइल चलाइरहे । रातको साढे १२ बजेको हुँदो हो । विद्यालयमाथिबाट ठूलो आवाज आयो । बाहिर निस्किएर हेर्दा खुरखुरे डाँडाबाट रुखका हाँगाबिँगा सोहोरेर भलपानी बग्दै आएको देखे । खुरखुरे खोला पनि बढेको थियो । भेल आएको बाटोमा उनका छिमेकी निर्मलको कुखुरा फार्म थियो । उनी बत्ती लिएर त्यसतिर लागे ।
विद्यालयमाथिको बारीमा कोही कराइरहेको आवाज बास्तोलाको कानमा प¥यो । बत्ती बालेर हेर्दा त्यहाँ एक हलगोरु भेटिए । केही छेउमा एक पुरुष रोइकराइ गर्दै थिए । बारीमा पनि पूरै हिलो र रुखका हाँगा, ढुंगा भरिएको थियो । छिमेकीहरुलाई बास्तोलाले खबर गरे । हिलोले पुरिएकाले मान्छे को हो भनेर बास्तोलाले ठम्याउन सकेनन् । ‘आवाजले चिनें कृष्ण भनेर, मैले भेट्दा अनुहार, टाउकोबाट रगत बगिरहेको थियो, मेरो कान्छो, मेरो कान्छो भनिरहेका थिए,’बास्तोलाले भने ।
तनहुँ दमौली घर भई भलाम बस्दै आएका ४५ वर्षीय कृष्णबहादुर श्रेष्ठले बुधबार राति अन्तिम सास फेरे । पहिरोमा परी उनकी श्रीमतीको पनि मृत्यु भयो भने १ छोराको उपचार भइरहेको छ । कान्छा छोरा बेपत्ता छन् ।
कृष्णलाई पहिरोले पुरिएका बेला भेटेपछि स्थानीयले उनकी श्रीमती र २ छोरा पनि खोज्न थाले । पानी परिरहेकै थियो, खोज्न गाह्रो भयो । श्रीमती र जेठा छोरा राजकुमार भने बुबा कृष्ण भेटिएभन्दा केही माथि नै भेटिए । उनीहरुलाई फेला पार्दा श्रीमती सुनमाया लामा तामाङको ज्यान गइसकेको थियो । राजकुमार अचेत थिए । राजकुमारको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट छ ।
कान्छा छोरा सन्तोष भने बेपत्ता छन् । बिहीबार दिउँसो भलाम पुग्दा केही स्थानीय महिला सुँकसुँकाउँदै बोल्दै थिए । कोही कठै भनिरहेका थिए, कोही टाउकोमा हात राखेर पहिरो गएको ठाउँ हेरिरहेका थिए । ‘सुख खोज्न सरेका थिए बिचरा, यहाँ आएर यस्तो पहिरोमा पर्न लेखेको रहेछ,’ एक महिलाले भनिन् ।
कृष्णको सपरिवार ८ वर्षअघि तनहुँबाट भलाम आएका थिए । भलाम आएर कृष्णले किसानी गर्न थाले । एक हलगोरु उनीसँग कहिल्यै छुटेन । तनहुँबाट आएको ६ वर्षसम्म कृष्णको परिवार महेन्द्र माविको पल्लो डाँडामा बसे । त्यहाँ बाटो पुगेको थिएन, खेती किसानी गर्न पनि सजिलो थिएन । पछि उनी खुरखुरेमा सरे । उनले त्यहाँ बन्धकीमा जग्गा लिएर २ कोठे घर उठाए । छोराहरुलाई स्कुल पनि नजिक हुने र बाटोको समस्या पनि नहुने सोचले आएका कृष्णले त्यही घरमा ज्यान गुमाउनु प¥यो । ‘पल्लो डाँडामै बसेको भए बरु केही नहुने रहेछ, बाटो, स्कुल नजिक भएकाले आए, अहिले आँखै अघि यस्तो देख्नुप¥यो,’ चन्द्रकान्तले भने ।
चन्द्रकान्तसँग कृष्णको सम्बन्ध राम्रो थियो । कृष्ण चन्द्रकान्तलाई आफ्ना सपना सुनाउँथे । कृष्णको धोको थियो, बन्दकी लिएको जग्गा किन्ने । पक्की घर बनाउने अनि छोराहरुलाई राम्रो पढाउने । तर उनको पक्की घर बनाउने, छोराहरुलाई राम्रो पढाउने सपना पहिरोमा बिलायो ।
भलाममै पहिरोका कारण अर्का आमा छोराले पनि ज्यान गुमाएका छन् । मुलाबारी देउरालीमा टिनले बनाएको १ तले घरमा पहिरो पस्दा २९ वर्षीया विष्णु सार्की र छोरा ८ वर्षीय सुजन सार्कीको मृत्यु भएको हो । म्याग्दी बेनी नगरपालिका २ ज्यामरुकोट घर भएका उनीहरु भलाम बस्दै आएका थिए ।
बल्लतल्ल बाँचेका चौधरी
बुधबारको पहिरोले भलाममा कृष्णबहादुर श्रेष्ठको घरमुनि कुखुरा फार्ममा काम गर्ने बजारु चौधरी मुस्किलले बाँचे । माथिबाट आएको पहिरोले उनी बसेको टहरा भत्काइदियो । टिन र बाँसले चौधरी चेपिए । मस्त निद्रामा एकाएक कताबाट पहिरो आएर आफूलाई पु¥यो, चौधरीले भेउ पाएनन् । ‘सुतिरहेको थिएँ, कताबाट के आयो, के भयो पत्तो पाइनँ, म पुरिएको थिएँ,’ चौधरीले भने । उनी चिच्याउन पनि सकेनन् । सकेको बल लगाएर घाँटीलाई थिचेको टिन हटाए । जसोतसो चौधरी त्यहाँबाट निस्कन सके । अनि भागे विद्यालयतिर । चौधरीको लत्ताकपडा, नागरिकताहरु सबै पहिरोले लगिदियो ।
एकाएक पुरिएपछि चौधरीलाई मरें भन्ने लाग्यो । उनलाई कुखुराको पनि याद आयो । चौधरी १५ सय कुखुराको जिम्मा लिएर त्यहाँ बसेका थिए । ‘पहिरोले किचेपछि म अब रहिनँ भन्ने सोचेको थिएँ, कुखुराको पनि याद आयो, सब कराइरहेका थिए,’ उनी भन्छन् ।
२ वर्षअघि भलाम आएका चौधरीले भलाममा यसरी पहिरो जान्छ भनेर सोचेका पनि थिएनन् । तर नसोचेको भइदियो । त्यो भन्दा पनि नसोचेको त उनको हृदयको साथी कृष्णको परिवारको मृत्यु भयो । ‘पहिरो त नसोचेकै भयो, त्योभन्दा पनि बढी त कृष्णको खबर नसोचेको भयो मलाई,’ चौधरीले भने ।

तपाईको प्रतिक्रिया