डिजाइन फेरेर लेते—कुञ्जो पुल

समाधान संवाददाता २०७८ भदौ १८ गते १३:१९

सुन्दरकुमार थकाली
जोमसोम-मुस्ताङको थासाङ गाउँपालिका ३ र ५ जोड्ने लेते—कुञ्जो मोटरेबल पुल प्राविधिकले गरेको डिजाइन फेल हुँदा ३ वर्षदेखि अलपत्र छ । २०७५ सालको कालिगण्डकी नदीले पुलको फाउन्डेसन बिममा क्षति पु¥याएपछि निर्माणधीन पुलको संरचना जोखिममा परेको थियो ।


मुस्ताङको थासाङ गाउँपालिका ५ को छयो, कुञ्जो, ताक्लुङ, झिप्रा देउराली र टिटी गाउँका बासिन्दा यो पुलबाट लाभान्वित हुन्थे । साबिक जिल्ला विकास समितिले स्वच्छन्द निर्माण सेवा काठमाडौंसँग पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
२०७४ फागुनमा पुल निर्माणको कामअघि बढाइएको थियो । १ सय मिटर लम्बाइ र ७ दशमलव २० मिटर चौडाइ हुने पुलको लागत ११ करोड ३० लाख थियो । पुलको सम्झौता अवधि १८ महिना भए पनि पुलको डिजाइन र अन्य कारणले ३ वर्षदेखि पुल अलपत्र छ ।


कालिगण्डकी नदीको असरले रोकिएको निर्माणाधीन पुलको १५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । निर्माण कम्पनीले पुलको दायाँ बायाँ २ एबुमेन्ट (साइड पिल्लर)को ५० प्रतिशत काम सक्दा २३ प्रतिशत रकम भुक्तानी लिइसकेको छ ।

Advertisement


संघीय सरकार अन्तर्गत साबिक जिल्ला विकास समितिले निर्माण सुरु गरेको लेते—कुञ्जो पुलको संरचनामा कालिगण्डकी नदी कटानले क्षति पुग्ने देखिएपछि पुल निर्माणको विभिन्न विकल्प खोजिएको थियो । निर्माणाधीन अवस्थामा रहँदा भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ भदौमा उक्त पुल निर्माणको अख्तियारी प्रदेश सरकारअन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिएको थियो ।


सन् २०१९ मा पुल हेर्ने स्विजरल्यान्डका प्रतिनिधि बेनाम ढलिली र पुल डिजाइन इन्जिनियर राजन मानन्धरसहितको ४ सदस्यीय टोलीले मुस्ताङको लेते—कुज्जो मोटरबल पुलको स्थलगत अनुमगन गरी लोकल रोड ब्रिज प्रोग्रामलाई प्रतिवेदन बुझाएको थियो । टोलीले पेस गरेको प्रतिवेदनमा साविब अनुसार पुल निर्माण गर्दा दीर्घकालीन नहुने निष्कर्ष निकाल्दै पुलको प्रि—डिजाइनको प्रतिवेदन पेस गरेको थियो । प्रतिवदेनमा पुलको स्पान परिवर्तन गरी प्रि—डिजाइन गर्नुपर्ने जनाइएको थियो ।

Advertisement


डिजाइन परिवर्तन गर्नुपर्ने भएपछि पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण कम्पनीलाई पुलको काम रोक्न लगाएको थियो । सार्वजनिक खरिद नियमावली अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ साल चैत्रसम्म म्याद कायम गरेको थियो । लोकल रोड ब्रिज प्रोग्रामको पत्र २०२१ मार्चबाट रिसिभ डिजाइन र रिसिभ स्टमेटको आधारमा निर्माण व्यवसायीलाई भेरियसन पेस गर्न लगाइएको थियो ।
पुलको म्याद थप गरिए पनि कोरोना कहरका कारण निर्माणको कामअघि बढ्न सकेको थिएन । अर्थ मन्त्रालयले २०७७ असार ३ गतेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले दोस्रो पटक २०७८ भदौ १३ गतेसम्मको म्याद तोकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । पुलको संरचना दीर्घकालीन बनाउन निर्माण कम्पनीले पेस गरेको भेरियनस (भिओ) गण्डकी प्रदेशको मन्त्रिपरिषदले हालै अनुमोदन गरेको छ ।


पुलको फाउन्डेन बिम जोगाउन वाल निर्माण लगायतका कार्य गर्न प्रदेश मन्त्रिपरिषदले साबिकको सम्झौतामा २४.८१ प्रतिशत वृद्धि हुने गरी भिओ स्वीकृत गरेको कार्यालयले उल्लेख गरेको छ । पुलको भिओको लागि १५ प्रतिशत भौतिक पूर्वाधार सहरी विकास तथा यातायाता व्यवस्था मन्त्रालय र ९ दशलव ८१ प्रतिशत प्रदेश क्याबिनेटले स्वीकृत गर्ने गरी भिओ अनुमोदन गरिएको हो ।


भिओ स्वीकृतसँगै लामो समयदेखि काम रोकिएको लेते—कुञ्जो मोटरेबल पुलको काम केही दिनमै सुरु हुने पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विष्णु पौडेलले जानकारी दिए । निर्माण कम्पनीको टोली कार्य क्षेत्रमा फर्किन लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया