१० बुँदे कार्यान्वयन गर्दै एमाले गण्डकी, जिल्ला कमिटीहरुलाई परिपत्र

समाधान संवाददाता २०७८ भदौ १९ गते ११:३२


समाधान संवाददाता, पोखरा


एमाले गण्डकी प्रदेश संगठन कमिटी पार्टी एकता र सुदृढीकरणका लागि १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न अघि बढेको छ । कमिटीको शुक्रबार बसेको बैठकले मातहतका जिल्ला कमिटीहरुलाई पनि १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

१० बुँदे प्रस्ताव अनुसार एमालेका नेता कार्यकर्ताहरुको २०७५ जेठ २ को अवस्थाकै जिम्मेवारीमा हुन्छन् । प्रदेश संगठन कमिटीमा पनि सोही बेला संयोजक रहेका किरण गुरुङले जिम्मेवारी सम्हालेका छन् । शुक्रबारको बैठक उनकै अध्यक्षतामा बसेको थियो । १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलका संयोजक पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि थिए ।

Advertisement

‘पार्टीको पक्षमा रहेर क्रियाशील हुने प्रदेश कमिटी, जिल्ला कमिटी लगायत सबै स्थानीय तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारीहरु र सदस्यहरुलाई पार्टीको एकता र जीवन्ततालाई ध्यान दिँदै एकीकरणको महान् कार्य र भावनामा चोट नपर्ने गरी एकीकरण पूर्वको स्थिति अर्थात २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको यथार्थतालाई समेत ध्यानमा राखी काम गर्न निर्देशित गर्ने निर्णय भएको छ,’ प्रदेश संगठन कमिटीले जिल्ला कमिटीहरुलाई लेखेको परिपत्रमा उल्लेख छ, ‘२०७७ फागुन २३ गते सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमालेमा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा प्रदेश तथा मातहत कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ ।’

२०७७ जेठ २ सम्मका जिल्ला कमिटीका जिम्मेवारीहरुको विवरण प्रदेश कमिटीले जिल्लाहरुलाई पठाएको छ । फुट परस्त गतिविधिमा लागेको पर्याप्त प्रमाण भेटिएकाहरुलाई भने कारबाही प्रक्रिया अघि बढाइएको प्रदेश संगठन कमिटीले जनाएको छ ।

Advertisement

बैठकले गण्डकीका ११ वटै जिल्लाहरुमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसका लागि जिल्लाहरुका निम्ति मिति समेत तय गरेको छ । अभिमुखीकरणमा अतिथि हुने नेताहरुको नामसहितको विवरण जिल्ला कमिटीहरुलाई पनि प्रदेश संगठन कमिटीले पठाएको छ । १९ गतेदेखि असोज २ गतेसम्मका लागि कार्यक्रम तय गरिएको छ ।

जिल्ला भेलामा सहभागिताको प्रदेश कमिटीले मापदण्ड पनि तोकेको छ । ‘जिल्लामा रहेका पार्टी तथा जनसंगठनका केन्द्र/प्रदेश/जिल्ला कमिटी सदस्य, निकाय÷विभागका सदस्य, निर्वाचन क्षेत्रीय समन्वय/पार्टी महानगर/नगर/गाउँ/वडा कमिटीका सबै, निर्वाचित जनप्रतिनिधिहरु सबै, हाल नेकपा(एमाले) मा रहेका माओवादी वा अन्य पार्टीका पृष्ठभूमिका कमरेडहरु, जो अहिले नेकपा(एमाले)को कुनै औपचारिक जिम्मेवारीमा हुनुहुन्न, उहाँहरुलाई उहाँहरु साविकको पार्टीमा रहँदाको पार्टी तथा जनसंगठनको जिम्मेवारीको हैसियतलाई नै आधार मानी जिल्लास्तरको भेलामा सहभागिताको व्यवस्था मिलाउने,’ प्रदेश संगठन कमिटी संयोजक किरण गुरुङद्वारा हस्ताक्षर गरी पठाइएको परिपत्रमा भनिएको छ ।

२०७५ जेठ २ गतेसम्मका, एकीकरणका क्रममा आवद्ध भएका र २०७५ जेठ ३ गतेपछिका पार्टी सदस्यहरुको सदस्यतालाई आधार मानी सम्बन्धित जिल्ला कमिटीले सदस्यता नवीकरण गर्ने बैठकको निर्णय छ । नवीकरण गर्दा २०७७ चैत्रदेखि २०७८ चैत्रसम्मको १३ महिनाको सदस्यता शुल्क लिने भनिएको छ । ‘पार्टीको नवौँ महाधिवेशनपश्चात २०७५ साल जेठ ३ गतेसम्मको छुटेको भए छुटेको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने, २०७५ साल जेठ ३ गते देखि २०७७ साल फागुनसम्मको अवधिलाई शुन्य अवधि मानी नवीकरण गर्नु नपर्ने,’ परिपत्रमा भनिएको छ, ‘२०७५ साल जेठ ३ गते पहिलाको छुटेको नवीकराणकोे हकमा सदस्यताको १५ प्रतिशत अर्थात प्रति पार्टी सदस्य मासिक २ रुपैयाँ २५ पैसाका दरले प्रदेश कार्यालयलाई बुझाई बाँकी रकम पार्टी नियमावली अनुसार जिल्ला र पालिका कमिटीले राख्ने ।’

विधान संशोधनको प्रस्तावमा सुझाव पठाउने अवधि यही २०७८ भदौ मसान्तसम्म थप गरिएको पनि जिल्ला कमिटीहरुलाई प्रदेशले सूचित गरेको छ । ‘निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश गराउने कार्य गरिरहेको छ । मापदण्ड पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम समावेश गराउनका लागि योजनावद्ध अभियान संचालन गर्न मातहतका कमिटीलाई निर्देशन गर्ने निर्णय गरिएकोे छ,’ परिपत्रमा भनिएको छ, ‘२०७८ फागुनबाट सुरु हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका स्थानीय तहका अधिवेशनहरु यथाशिघ्र सम्पन्न गर्न र पार्टीलाई आधारभूत तहबाटै सुदृढ, व्यवस्थित र चुस्त बनाउनु आवश्यक छ । यसका लागि आगामी कार्तिक ६ गते गण्डकी प्रदेशका सबै वडाहरुमा र कात्तिक ९ गते सबै पालिकाहरुमा सम्बन्धित तहका अधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ । सो वमाजिम आवश्यक तयारी गर्न मातहत कमिटीलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।’

बैठकले निस्काशन तथा अभिलेखवाट नाम हटाउने सम्बन्धमा आवश्यक निर्णय लिन, सचिवालय विस्तार, प्रदेश कमिटीमा मनोनयन, प्रदेश कमिटीका निकाय र विभागलाई पूर्णता दिने सम्वन्धमा आवश्यक निर्णय लिन सचिवालयलाई अख्तियारी प्रदान गरेको छ ।

बैठकले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न गण्डकी प्रदेशका पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरुलाई आह्वान गरेको छ । कुनै हिसाबले विगतमा यस्तो गतिविधीमा संलग्न भएको भएपनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिन तयार हुनेहरुलाई विना भेदभाव पार्टीमा स्वागत गर्ने निर्णय पनि प्रदेश कमिटीले गरेको छ । ‘पार्टी विभाजनको दुरासयबाट हालै जारी भएको अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरुले समेत दल त्याग गर्न सक्ने गलत प्रावधान राखिएको छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावना विपरीत रहेको निष्कर्षसहित प्रदेश सभा सदस्यहरु तथा स्थानीय तहका जनप्रतिनिधिहरुले दल छनौट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र खराबी ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न गण्डकी प्रदेशमा हाम्रो पार्टीको तर्फबाट निर्वाचित सवै प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई बैठकले निर्देशित गरेको छ ।’

बैठकले कोभिड महामारीका कारण ज्यान गुमाएका पार्टीका नेता, कार्यकर्ता, पार्टी सदस्य, सुभचिन्तक लगायत सम्पूर्ण दाजुभाइ दिदीवहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, संक्रमित हुनुभएका सवैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कोभिड महामारीका विरुद्ध प्रभावकारी कदम चाल्न, सवै उमेर समूहका सवै नागरिकहरुलाई छिटो भन्दा छिटो खोप उपलव्ध गराएर कोभिड महामारीलाई निर्णायक रुपमा नियन्त्रण गर्न सरकारसँग जोडदार माग पनि गरेको छ ।

बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पीडितहरुको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गर्दै विस्थापितहरुलाई तत्काल सुरक्षित र दिगो पुनस्र्थापना गर्न सरकारसँग गम्भीर आग्रह गरेको छ । ‘पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख कमरेड मानबहादुर जिसी, पार्र्टीका प्रदेश कमिटीका सदस्यहरु कमरेड झकबहादुर थापा मगर, कमरेड चन्द्रा पुन र कमरेड सम्झना देवकोटा अस्वस्थ भई हाल उपचाररत भएकाले उनीहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया