पोखरा २ लाई गण्डकीको निम्तो

समाधान संवाददाता २०७८ भदौ १९ गते १२:१७

समाधान संवाददाता
पोखरा- बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवाई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम शुक्रबारदेखि सकिएको छ ।


प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलसहित पर्यटन सम्बद्ध संघ, संस्थाका प्रतिनिधिको टोलीले प्रदेश नं २ का विभिन्न स्थल अवलोकन भ्रमणसहित सरोकारवालासँग छलफल र अन्तक्र्रिया गरेको छ ।


टोलीले सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका स्थानमा छुट्टाछुट्टै छलफल एवं अन्तरक्रिया गर्नुका साथै सिमरास्थित विशेष औद्योगिक क्षेत्र आदिको अवलोकन गरेको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

Advertisement

३ दिने कार्यक्रमले आफूहरूमा उत्साह जगाएको बताउँदै उनले आगामी दिनमा प्रदेश नं २ सँग पर्यटकीय साझेदारी बढेर जाने विश्वास व्यक्त गरे ।
शुक्रबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा–सिमरा सिधा हवाइ उडानले आर्थिक नगरी र पर्यटकीय नगरीबीचको सम्बन्धलाई जोडेको बताए ।


पर्यटनको विकासका लागि सरकारका तर्फबाट नीतिगत व्यवस्थाका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए । पर्यटन व्यवसायी इच्छाबहादुर वाग्लेले निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै पोखरा–सिमरा सिधा उडानलाई सुलभका साथै दीगो बनाउनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement


पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई बचाउने गरी काम गर्न सरकारलाई आग्रह गर्दै सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सिमानाकाहरू पर्यटक आवागमन हुने गरी खोल्नुपर्ने विचार राखे । उनले थलिएको पर्यटनलाई बचाउनका लागि सरकारले ल्याउने राहत तथा प्याकेजका कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।


नाट्टा सेन्टर अध्यक्ष अच्युत गुरागाइँले आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई अधिकतम भित्राउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । भारतीय पर्यटकलाई तेस्रो मुलुकबाट आउने पर्यटकलाई जस्तै सम्मान गर्न पनि उनले आग्रह गरे । पर्यटकका लागि सिमानाहरू खोल्नुपर्ने बताउँदै उनले सरकारले माक्स लगाउन लगाएर तर्साउने प्रबृत्ति पनि अन्त्य गर्नुपर्ने बताए ।


अर्का पर्यटन व्यवसायी युवराज लामाले प्रदेश नं २ मा विभिन्न महत्वपूर्ण ४० वटा पर्यटकीय गन्तव्य रहेको बताउँदै तिनीहरूको प्रवद्र्धन आवश्यक भएको वनाए ।
पर्यटन मन्त्री कँडेलले प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रदेश नं २ का मुख्य मन्त्रीलाई गण्डकी प्रदेश भ्रमणका लागि पठाएको निम्तो नाट्टा प्रदेश नं २ मार्फत हस्तान्तरण गरे । त्यस्तै नाट्टा गण्डकी प्रदेशका तर्फबाट नाट्टा प्रदेश नं २ लाई पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधि सहित पोखरा भ्रमणका लागि निमन्त्रणा दिइयो ।


नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले ३ दिने अवलोकन भ्रमण एवं अन्तरक्रिया प्रभावकारी रुपमा सम्पन्न भएको बताउँदै आगामी दिनमा दुबै प्रदेशबीचको पर्यटकीय साझेदारी बढेर जाने विश्वास व्यक्त गरिन् । टोली शुक्रबारै सिमराबाट हवाइ उडानमार्फत पोखरा फर्किएको छ ।

तपाईको प्रतिक्रिया