चोभारमा सुक्खा बन्दरगाह तयार

समाधान संवाददाता २०७८ भदौ १९ गते १२:२९

समाधान संवाददाता
काठमाडौं- काठमाडौंको चोभारमा निर्माण भएको आधुनिक सुक्खा बन्दरगाह सञ्चालनको तयारीमा छ । २०७५ साल माघ ३ मा शिलान्यास भएको बन्दरगाह करिब साढे २ वर्षमा निर्माण सम्पन्न भएको हो ।

Advertisement


करिब १ अर्ब ६० करोड रुपैयाँमा लगानीको बन्दरगाह निर्माणको ठेक्का आशीष–जोइन्ट भेन्चरले कम्पनीले पाएको थियो । चोभारस्थित हिमाल सिमेन्टको नाममा रहेको १ हजार ८० रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो ।
सुक्खा बन्दरगाह निर्माण पूरा भएर सञ्चालन हुन बाँकी रहेको नेपाल इन्टरमोडल यतायात विकास समितिका सीइओ आशीष गजुरेलले बताए । ‘मुख्य मुख्य संरचनाहरु तयार भएको छ । उद्योग वाणिज्य, भन्सार इन्टरमोडेलले प्रक्रिया मिलाएर चाँडै नै बन्दरगाह सञ्चालनमा आउनेछ,’ उनले भने।


१८ महिनामा बनाउने सम्झौता गरे पनि कोभिडका कारण समय लम्बिएको हो । कोभिडले १४ महिना बढी समय लागेको थियो । पछि बिभिन्न समस्या भए पनि कोभिडको समयमा पनि निर्माणकार्यलाई निरन्तरता दिएकाले ७ महिनामा काम सम्पन्न भएको उनको भनाइ छ ।


उक्त बन्दरगाहमा ४१ रोपनीमा भवन तथा गोदाम बनाइएको छ । ५ सय कन्टेनर र ५ सय सावरी साधन पार्किङ गर्ने क्षमतामा निर्माण गरिएको छ । सवारी साधनका लागि ३ वटा गेट बनाइएको छ । क्वारेन्टिन गोदाम ३ वटा, प्रशासनिक भवन ३ वटा, सवारी साधन चेकजाचँ गर्ने ३ वटा संरचना निर्माण भएको समितिले जनाएको छ ।

बन्दरगाहमा आन्तरिक र बाह्य सामान तथा कन्टेनरको लागि ठाउँ छुट्याइएको छ ।
बन्दरगाहमा आएका सवारी साधनबाट सर्वसाधारण तथा त्यस वरपरका समुदायलाइ कुनै पनि बाधा नहुने गरी बनाइएको बताइएको छ । बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यात थप सहज हुने भएको छ । वीरगञ्ज भैरहवा बिराटनगर तातोपानी रसुवा भन्सार हुँदै आउने सवारीसाधन सिधै चोभार आएर जाचँपास गर्न सक्ने भएका छन् ।
अबका दिनमा मालवाहक सवारी साधनले भन्सारमा सानो प्रकिया गरेर सिधै चोभारमा आएरमात्र जाचँपास गर्न सक्ने व्यवस्था छ । भन्सारमा लामो समयसम्म लाइन लाएर बस्नु पर्ने समस्या हट्नेछ । समयको बचतसँगै कष्ट पनि कम हुने समितिले जनाएको छ ।

Advertisement


बन्दरगाहमा सातै प्रदेशबाट वस्तु संकलन गरी निर्यात गर्ने सकिन्छ । आयात गर्दा पनि व्यवसायीले सहज रुपमा आफूलाई पायक पर्ने गरी भन्सार प्रयोग गर्न सक्छन् । मालवाहक सवारीसाध सुख्खा बन्दरगाहसम्म आउँदा हुन सक्ने हानी नोक्सानी र चुहावट कम गर्न त्यसै अनुरुपमा काम गर्ने भएको छ ।
समितिका अनुसार आधुनिक सुक्खा बन्दरगाह फास्ट ट्रयाकका लागि लक्षित गरिएको छ । यसले व्यापार सहजीकरण, व्यापार घाटा न्यूनीकरण र निर्यात सहज हुने भएको छ भने दुरी कम भएर चाँडै सामान हात पर्ने अवस्था बन्नेछ । काठमाडौं तराइ फास्ट ट्रयाक बनेपछि ४ देखि ५ घण्टामा वस्तुहरु सुख्खा बन्दरगाहमा आइपुग्ने सिइओ गजुरेलले बताए ।


समितिले करिडोरमा १० हजार वटा विरुवा रोप्ने भएको छ । आधुनिक हरियालीमय सुख्खा बन्दरगाह बनाइनेछ । यति बेला करिडोरमा बिरुवा रोप्ने काम सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया