कास्कीमा पहिलो पटक काठ जाँच

समाधान संवाददाता २०७८ भदौ २१ गते १२:१९

समाधान संवाददाता
पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय भवनको झ्याल, ढोकाको चौकोसमा प्रयोग गरिएको काठको नमुना परीक्षणको क्रममा साल प्रजातिको भएको प्राविधिक विशेषज्ञको पहिचान प्रतिवेदनले पुष्टि गरेको छ ।


राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरी ललितपुरको विशेषज्ञको प्रतिवेदनले भवनका प्रयोग भएको काठको स्थानीय नाम साल भएको पुष्टि गरेको हो । परीक्षणका क्रममा नमुना काठको वैज्ञानिक र पारिवारिक नामले समेतसालको भएको पुष्टि भएको छ ।प्रयोगशालाका अनुसन्धान अधिकृत प्रतिभा चालिसेका अनुसार भवनमा प्रयोग गरिएको साल प्रजातिको काठलाई फर्निचरको रुपमा प्रयोग गर्न सकिन्छ ।


काठको नमुनाका ल्याब परीक्षण गर्दा टिकाउ अवधि यकीन गर्न नसकिएको प्रतिवेदनले औंल्याएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले पालिकाको प्रशासकीय भवनमा प्रयोग भएको गरिएको झ्याल ढोकाको काठको प्रजाति र गुुणस्तरमा स्थानीय जनताले प्रश्न उठाएका कारण काठको टुक्रा नुमना गत साउन १७ गते परीक्षणको लागि काठमाडौं पठाएको जानकारी दिए ।

Advertisement


गाउँ पालिकाको वडा नम्बर ४ लाहाचोकको प्रशासकीय भवनमा आइतबार भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रमुख क्षेत्रीले भवनको स्टिमेटमा सालको काठको प्रयोग गर्ने उल्लेख भएकाले सो अनुरुप भए÷नभएको बारेमा परीक्षणका लागि पठाएको बताए । ‘सरकारी भवनको झ्याल, ढोकामा काठ कि कुकाठको प्रयोग भएको छ भन्नेबारे कास्कीमा पहिलो चोटिनमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको हो,’प्रमुख क्षेत्रीले भने, ‘प्रतिवेदनले काठ फर्निचरको रुपमा प्रयोग गर्न सकिने देखाएको छ ।’उनले भवनको ४ पटक अनुगमन गर्दा ७८ झ्यालका चौकोसमा शंका गरिएकाले परीक्षण गरिएको बताए ।


जिल्ला समन्वय अधिकारी नवराज बरालले प्रतिवेदन सार्वजनिक गर्दै जाइलेरियम भएको नमुनासँगको तुलनात्मक अध्ययन,आन्तरिक संरचना, केमिकल परीक्षण र सन्दर्भ सामाग्रीको अध्ययन गरी पहिचान प्रतिवेदन तयार पारिएको बताए । उनले नमुनाको मोरफोलोजिकल अध्ययन, केमिकल परीक्षण, आन्तरिक संरचनाको अध्ययन र प्रयोगशालामा भएको सन्दर्भ सामग्रीसँगको तुलनात्मक अध्ययनले सालको काठनै प्रयोग भएको देखाएको उल्लेख गरे ।

Advertisement


उनले प्रदेशमा काठको नमुना परीक्षणको व्यवस्था नभएकाले काठमाडौं पठाउनु परेको जानकारी दिए । उनले प्राविधिक परीक्षणका लागि पठाएका काठका टुक्रा के कुन प्रजाति, के कस्तो काममा प्रयोगमा ल्याउन सकिने र प्रयोग गरिएको विषयको आधार टिकाउ अवधि कति रहेको भनेर प्रयोगशालालाई पत्राचार गरेको बताए । समन्वय अधिकारी बरालले काठ सालकै भएता पनि टिकाउ अवधि एकिन हुन नसकेको उल्लेख गरे । परीक्षणका लागि पठाएका काठका टुक्रा फिर्ता पठाउन अनुरोध गरेको जानकारी दिँदै उनले पहिचानको लागि प्राप्त नमुना सानो भएकाले पहिचानको क्रममा सकिएको विवरण आएको जानकारी दिए ।


माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्ण गुरुङले पालिका तथा जिल्ला समन्वय समिति कास्कीले गरेको प्राविधिक परीक्षणमा चित्त नबुझे व्यक्तिगत तवरले समेत काठ पहिचानको लागि परीक्षण गर्न सकिने उल्लेख गरे । डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले काठको नमुना परीक्षण कास्कीको पहिलो र नौलो विषय भएको बताए । उनले पहिचान प्रतिवेदनले सालको काठ भनेर प्रमाणित गरे पनि प्रयोगशालाले टिकाउ अवधिको बारेमा रिपोर्ट दिन नसक्ने उल्लेख गरे ।


जिल्ला समन्वय समिति कास्कीको २ करोड ५० लाख, गण्डकी प्रदेश सरकारको ५० लाख र पालिकाको ३ करोड समेत गरी ६करोड ६२ लाख११ हजार ९ सय ६ रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन बन्दै छ । कास्कीका ५ पालिकामध्ये माछापुच्छे«ले प्रशासकीय भवन बनाउन लागेको हो ।


पालिकाका सब इन्जिनियर राजेन्द्र गौतमले नयाँ बाटो जिएस इन्जिनियरिङ जेबीले निर्माणको काम गरेको बताए ।निर्माण कम्पनीसँग २०७७ भदौ १५ गते सम्झौता भएकोमा २०७८ फागुन १६ गते सम्पन्न गर्नुपर्ने छ ।उनले लिफ्टसहितको अपांगमैत्री भवन बनाएको बताए ।
स्थानीय चन्दादाता शिव अधिकारीले प्रशासकीय भवनको झ्याल–ढोकामा प्रयोग गरिएको काठको सम्बन्धमा आएको प्रतिवेदन विश्वसनीय नभएको दाबी गरे । उनले व्यक्तिगत ढंगले काठको नमुना पठाएर पुन परीक्षण गर्ने बताए ।

तपाईको प्रतिक्रिया