पोखरामा बिजुलीका तार भूमिगत बनाउँदै प्राधिकरण

समाधान संवाददाता २०७८ भदौ २२ गते १६:२३

पोखरा- नेपाल विद्युत प्राधिकरणले पोखरामा बिजुलीका तार भूमिगत गर्न प्रक्रिया थालेको छ । प्राधिकरणले चितवनको भरतपुरमा समेत पोखरासहित बिजुलीका तार भूमिगत गर्न लागेको हो ।


प्राधिकरणले उक्त कार्यका लागि केही समयअघि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र हालेका मध्ये भारतको टाटा प्रोजेक्ट लिमिटेडले सबैभन्दा कम मूल्य र जिम्मेवारपूर्ण कामको पत्र हालेको हुँदा त्यसविरद्ध कुनै दाबीविरोध भए ७ दिनभित्र उजुरबाजुर गर्न प्राधिकरणले सोमबार सूचना निकालेको छ ।


पोखरा—भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत उक्त काम हुन लागेको छ । आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाका अनुसार ७ दिनभित्र अरु कसैको दाबीविरोध नपरेर टाटा प्रोजेक्ट लिमिटेडलाई सम्झौता गर्न आऊ भनेर २८ दिनको समय दिइने जाकारी दिए । ‘७ दिनमा अरु कसैको क्लेम आएन भने उसलाई लेटर अफ एसेप्टेन्स दिन्छौं,’ झाले समाधानसँग भने, ‘उसले पर्फमेन्ट सेक्युरिटी लिएर आएपछि मात्रै ठेक्का सम्झौता हुन्छ ।’

Advertisement


भारतीय कम्पनी टाटाले ठेक्का पाएको खण्डमा पहिला सर्भेको काम र त्यसपछि डिजाइन गर्ने अनि बल्ल फिल्डमा काम थाल्ने जानकारी झाले दिए । उनकै भनाइमा ठेकेदारसँग सम्झौता भएपछि आयोजनाले पोखरा र भरतपुरमा एकैपटक कार्यालय स्थापना गरी इन्जिनियरहरु खटाउने छ ।


झाले पोखराको जिरोकिलोमिटर हुँदै हल्लनचोक र लेकसाइडका बिजुलीका तार भूमिगत गर्ने योजना छ । ‘पर्यटकीस्थलको एस्थेटिक लुक राम्रो होस् भन्ने हो,’ उनले भने । प्राधिकरणले सहरी सौन्दर्यलाई ख्याल गर्दै ‘उज्यालो र सहर सफाइ अभियान’ चलाउन थालेको छ । राजधानी काठमाडौंका केही ठाउँमा उक्त अभियान अन्तर्गत तार भूमिगत गर्न सुरु भइसकेको छ ।
झाका अनुसार पोखरामा तारहरु भूमिगत गर्दा बिजुलीबाहेक अप्टिकल फाइबर पनि बिच्छ्याइने जानकारी दिए । केबुल र इन्टरनेटका तार पनि भूमिगत बनाउन अप्टिल फाइबर बिच्छ्याइने उनको भनाइ छ । बिजुलीका तारहरु भूमिगत बनाउन एकातिर सहर कुरुप नहुने र अर्काेतिर सुरक्षित पनि हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार बरनवालका अनुसार प्राधिकरणले अमरसिंहचोकतिरका तारहरुलाई पनि भूमिगत बनाउने योजना राखेको छ ।

Advertisement


तार भूमिगत भइसकेपछि त्यसको नियन्त्रण तथा अनुगमन नियन्त्रण कक्षबाट हुन्छ । वितरण लाइनमा कहाँ कस्तो समस्या आयो त्यसको जानकारी नियन्त्रण कक्षमा कम्प्युटरबाट थाहा पाइने छ । वितरण प्रणालीमा कतै केही समस्या आयो भने नियन्त्रण कक्षमा संकेत जाने (बत्ती बल्ने, घण्टी बज्ने) भएकाले समयमा नै समस्याको समाधान गरिने तथा नियन्त्रण कक्षबाट नै ‘मेन्टिनेन्स टिम’ परिचालन हुने भएकाले जनशक्ति र लागतमा समेत उल्लेखनीय कमी आउने विश्वास प्राधिकरणको छ ।


प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जिपिएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत संकलन गर्नेछ । त्यसैगरी ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युतको परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ ।

तपाईको प्रतिक्रिया