फेरि सेतो पुतली आतंक, पाेखरा सराङकोटका आर्यनलाई थप उपचार गर्न काठमाडाैं लगियाे ।

सञ्जय रानाभाट २०७८ भदौ २३ गते १३:१४

सुरुमा दुखाइ हुँदैन । समयमा उपचार नभए आँखाको दृष्टिसमेत गुम्छ :
डा इलिया श्रेष्ठ


सञ्जय रानाभाट
पोखरा- पोखरा सराङकोटका आर्यन अहिले बिरामी छन् । उनको आँखामा समस्या देखिएको छ । थप उपचारका लागि उनलाई २ दिनअघि काठमाडौंमा लगिएको छ ।


१५ दिनअघि आर्यन घरमा खेलिरहेका थिए । ३ वर्षीय आर्यन बेलुकी ८ बजेतिर आमाको मोबाइलमा गेम खेल्न मस्त थिए । उनीसँगै दाइ, बुवा कोठामै थिए । आमा भने भान्सामा थिइन् । अचानक कतैबाट १ सेतो पुतली कोठामा आयो । पुतली देखेर मोबाइल खेल्दै गरेका आर्यनको ध्यान त्यतै गयो ।

Advertisement


आर्यन पहिलेदेखि नै कीरा, फट्यांग्रा मन पराउँथे । अरु बेला पनि कोठामा जूनकीरी, फट्याङ आउथे । आर्यन ती हेर्दै मख्ख पर्थे । त्यो दिन पुतली कोठामा घुम्दै आयो । केही बेरमा नजिकै आएर भित्तामा बस्यो । ‘आर्यनले च्याप्प समात्यो । एकै छिनमा समातेको पुतली उडायो,’ उनका बुवा हरिचन्द्र चपाईंले सुनाए । पुतली उडाएको एकै छिनमा आर्यन रुन थाले, उनको आँखा सुन्नियो । आर्यनको बाल सुलभ क्रियाकलाप हेरिरहेका बुवालाई यस्तो होला भन्ने लागेकै थिएन ।


आँखामा समस्या आएपछि साबुन पानीले धोएको र आइड्रपसमेत हालेको आर्यनकी आमा जमुना बताउँछिन् । ‘२÷३ दिनसम्म ठीकै थियो । एक्कासि ४ दिनपछि त आर्यनको आँखा रातो हुन थाल्यो । कालो नानी पूरै सेतो देखियो । हामीले पोखराको हिमालयन आँखा अस्पताल लग्यौं,’ जमुना भन्छिन्, ‘सेतो पुतलीको झुस आँखामा पसेको डक्टरले बताए ।’ त्यसको भोलिपल्टै आँखाको शल्यक्रिया गरियो ।

Advertisement


अझै १ हप्तासम्म पनि छोराको आँखा सञ्चो नभएको जमुनाले सुनाइन् । ‘आँखामा पीप जमेजस्तो सेतो झनै बढ्दै गयो,’ उनले भनिन् । आँखा अस्पतालमा भिडियो एक्सरे बिग्रिएको जानकारी पाएकी उनलाई डक्टरले काठमाडौं लगेर उपचार गर्न सुझाए । ‘हामी उपचारका लागि काठमाडौं छौं । यस्तो बेला पोखरामा १८ हजार सकियो । काठमाडौंमा अप्रेसनका लागि ६३ हजार मागेका छ । तर पैसाको संकट छ,’ उनले समाधानसँग भनिन् ।


आँखामा पीप जमेपछि उनलाई छोराले आँखा देख्न सक्छ कि सक्दैन भन्ने पिरलो छ । भन्छिन्, ‘काठमाडौंको अस्पतालमा बुधबार अप्रेसन हुँदै छ । अस्पताले भर्ना नलिँदो रहेछ । अहिले होटेलमै बसेका छौं ।’


पर्वत अम्बोटका मिलन थापामगरको पनि आँखा रातो भएको ५ दिन भयो । पोखराको हिमालयन आँखा अस्पतालले उनलाई पनि सापुको लक्षण रहेको जानकारी दिएको छ । ३ दिनसम्म पोखरामा उपचार गरेपछि मिलन अब काठमाडौैं जाँदै छन् । मिलनको पनि आँखामा पीप जमेको छ । उन थप उपचारका लागि राजधानी लगिने मिलनकी बहिनी अमृता थापामगरले बताइन् ।


पर्वतकै मिस्ट्री सुनार २ हप्तादेखि बिरामी छन् । २ वर्षीय सुनारलाई कसरी सापु भयो परिवारलाई थाहा छैन । उनलाई पनि आमा देवीले काठमाडौं पु¥याएकी छन् । देवी भन्छिन्, ‘एक्कासि आँखा रातो भयो । पोखरा ल्याउँदा सेतो पुलतीको झुसले गर्दा यस्तो भएको अस्पतालले भन्यो ।’ उनको तिलगंगा आँखा अस्पताल उपचार हुँदै छ । सापु बिझेको छिट्टै थाहा नहुँदा सास्ती पाएको देवीले सुनाइन् ।


हिमालयन आँखा अस्पतालकी डा. इलिया श्रेष्ठले केही दिनदेखि सापुका बिरामी बढेको जानकारी दिइन् । अस्पतालकी कार्यवाहक मेडिकल निर्देशकसमेत रहेकी श्रेष्ठ पोखरा, बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाबाट सापुका बिरामी उपचारका लागि आएको बताइन् ।


यो साउनदेखि हिमालयन अस्पतालमा ११ जना सापुका बिरामी उपचारका लागि आएका छन् । पोखराका ७, बागलङका २ र पर्वतका २ जनामा सापु पुष्टि भएको छ । श्रेष्ठ भन्छिन्, ‘सापु एकदमै खतरा छ र यसबाट तपाइँ, हामी बाच्नुपर्छ ।’ अहिलेसम्म यसको उपचार पत्ता नलागेको उनी बताउँछिन् ।


सापु हुँदा आँखा रातो हुने, आँखा सुक्ने, उज्यालोमा हेर्न कठिन हुने हुन्छ । उनी भन्छिन्, ‘उपचारमा जति ढिला, उति समस्या बढ्ने हुन्छ । सुरुमा दुखाइ हुँदैन । उपचारका ढिला हुदा आँखामा पीप जम्ने अनि आँखा सुक्ने गर्छ । समयमा उपचार नभए आँखाको दृष्टिसमेत गुम्छ ।’


पाकाहरूको उपचार सजिलो हुने भए पनि केटाकेटीको उपचार कठिन हुने उनले बताइन् । आँखामा यस्तो समस्या भएको थाहा पाएको बढीमा ४८ घण्टाभित्र अस्पताल पुग्न उनले सुझाव दिइन् । सिधै आँखामा पुतली नबसे पनि पुतलीको झुस खसेको कपडाबाट वा हातले छोइएर आँखामा सापु लाग्न सक्छ । यो रोग मानिसको एउटा आँखामा मात्रै लाग्छ ।


४४ वर्षअघि पोखराबाटै भेटिएको रोग
सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पोखराबाटै उत्पति भएको चिकित्सकहरुको दाबी छ । नेपालमै पहिलो पटक २०३२ मा १६ वर्षमुनिका बालबालिकामा यो रोग देखिएको थियो ।


कसरी चिन्ने सापु फैलाउने पुतली ?
सेता पुतली ३ सयभन्दा बढी प्रजाति हुन्छन् । तीमध्ये एक प्रजातिको सेतो पुतलीमा शीरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ । यो पुतली उज्यालो वस्तु जस्तै बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने चिकित्सकहरु बताउँछन् । पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसका कारण लाग्ने विज्ञहरु बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया