
खोपका कारण संक्रमण र गम्भीर बिरामी घटेपछि चाडपर्व सुरु भएकाले फेरि बढ्न सक्ने जोखिम
सञ्जय रानाभाट
पोखरा-पछिल्लो साता पोखरामा कोभिठ १९ संक्रमण दर निकै कम भएको छ । अस्पतालका बेड आधा खाली छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि भरिभराउ भएका यहाँका अस्पतालमा अहिले निकै कम संक्रमित छन् ।
गण्डकी प्रदेशमा कोरोनाको खोप अभियान जारी छ । ४ लाख ३२ हजारले कोरोना विरुद्धको दोस्रो खोप लगाइसकेका छन् । २४ लाख जनसंख्या भएको गण्डकी प्रदेशमा ५ लाख ९२ हजार १ सय ४५ जनाले पहिलो डोज खोप लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खिम खड्काले बताए । खोप लागएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा दोस्रो डोजको खोप ३७ हजार ४ सय ४४ जनाले लगाइसकेका छन् भने पहिलो डोजको खोप १ लाख १ हजार ८ सय ५१ जनाले पाएका छन् ।
खड्काका अनुसार ५० वर्षभन्दा माथिको उमेर समूहकाले खोप लगाइसकेका छन् । यसमध्ये अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कर्मचारी, शिक्षक, पत्रकार, बैंक, सहकारीका कर्मचारी र उमेर समूहलाई प्रदेशमा खोप दिइसकेको उनले बताए । ‘खोप अभियान जारी छ । विस्तारै संक्रमण दर पनि घट्दै जान्छ,’ खड्काले भने ।
संक्रमण घटे पनि कास्कीमा निषेधाज्ञा कायमै छ । अत्यावश्यक बाहेकका केही काम गर्न प्रशासनले अझै रोक लगाएको छ । कोरोनाको उपचार हुने पोखरामा रहेका सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामण रोग अस्पताल मोहरियामा अहिले आधा बेड खाली छन् । क्षेत्रीय अस्पतालमा कुनै बेला ९० जनासम्म कोरोना संक्रमितलाई उपचार गरिएकोमा अहिले भने ४४ बेडमा मात्र संक्रमित रहेको निर्देशक भरतबहादुर खत्रीले जानकारी दिए ।
‘जेठदेखि भदौ पहिलो सातासम्म आउँदा अस्पतालमा बेड भरिभराउ थिए । धेरैलाई इमर्जेन्सीमा राखेर उपचार गराइयो । अहिले विस्तारै कम हुँदै गएको छ,’ उनले भने । अस्पतालमा थपिने संक्रमितभन्दा सञ्चो भएर घर फर्किने बढी छन् । खोप अभियानका कारण जटिल प्रकारका बिरामी पनि कम भएको डा खत्री बताउँछन् ।
संक्रामण रोग अस्पतालमा भने अहिले १९ संक्रमितको उपचार भइरहेको छ । ३५ बेड क्षमताको यो अस्पतालमा पछिल्ला २ सातादेखि संक्रमित घटेका हुन् । अहिले अस्पतालमा पहिलाको तुलनामा आधामात्र संक्रमित उपचाररत रहेको नर्स नम्रता बास्तोलाले बताइन् ।
पोखराका अस्पताल वैशाखदेखि साउन अन्तिम सातासम्म भरिभराउ थिए । बेड पाउनै मुस्किल थियो । अक्सिजनको हाहाकार नै थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावकै कारण जेठ १३ र १४ गते ८ संक्रमितले ज्यान गुमाएका थिए ।
कोरोना संक्रमणको दोस्रो लहर अझै रोकिएको छैन । गएको वैशाख ६ मा ६६ कोरोना संक्रमिण थपिएकोमा असार १ गते ३ सय ८० जना थपिए । एकाएक संक्रमण बढेपछि पोखरेली त्रासित बनेका थिए । जटिल बिरामीमात्र अस्पताल आउथे । साउन १ गतेसम्म ६० हजार ९ सय संक्रमित थिए । १ गते नै ३ जनाले ज्यान गुमाएका थिए ।
अहिले अस्पतालमा भन्दा धेरै बिरामी होम आइसोलेसनमै निको भएका छन् ।
प्रदेशमा धेरैले खोप लगाइसके पनि जोखिम भने अझै रहेको डाक्टरहरु बताउँछन् । भन्छन्, ‘बजारमा भीडभाड कायमै छ । कुनै सामाजिक दूरी पालना भएको छैन ।’ चाडपर्वमा जमघट हुने हुँदा संक्रमण बढ्न सक्ने जोखिम छ ।
दोस्रो लहर सुरुवात भएपछि सरकारले संक्रमण रोक्न १५ वेशाखदेखि फेरि लकडाउन गरेको थियो । भदौसम्म आइपुग्दा बीचमा संक्रमण बढ्ने र घट्ने भइरहेको छ । धेरैले खोप लगाएका कारण संक्रमण दर घटेको पोखरा स्वास्थ्य प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् । उनले चार्डपर्व नजिकिएका बेला संक्रमण दर उच्च हुने हुँदा सर्तक रहनसमेत अनुरोध गरे । ‘निषेधाज्ञा खुकुलो भए पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने र हिँडडुल गर्ने गरौँ,’ उनले भने, ‘संक्रमण गत महिना पनि घटेको थियो, अहिले यस्तो अवस्था आउला भन्ने सोचेका थिएनौं, त्यसैले अझै पनि जोखिम छैन भन्न सकिँदैन ।’
भदौ २४ सम्म आइपुग्दा पहिलो लहर र दास्रो लहरमा गरी प्रदेशभरी ८३ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ७९ हजार ७ सय ६१ संक्रमित निको भइसकेका छन् । अब सक्रिय संक्रमित २ हजार छन् । कोरोनाका कारण १ हजार ३ सय २३ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४४ जनाको परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया