एक्यापमा ५० वर्षपछि देखियो जंगली बँदेल

समाधान संवाददाता २०७८ भदौ २५ गते ११:४७

समाधान संवाददाता
पोखरा- लोप भएको अनुमान गरिएको जंगली बँदेल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को मादी गाउँपालिकामा क्यामेरा ट्र्यापिङमा तस्बिर कैद भएको छ । यस क्षेत्रमा पहिले अभिलेख भएर पनि करिब ५० वर्षसम्म नदेखिएको जंगली बँदेल स्वचालित क्यामेरामा कैद भएको हो ।


स्थानीय गेहेन्द्र गुरुङले आफू सानै छँदा वन क्षेत्रमा निकै देखिने जंगली बँदेल हराइसक्यो भन्ने भइरहेको अवस्थामा पुन देखिएको सुनाए ।
‘वर्षांै भयो बँदेल नदेखिएको । कहिँ कतै पनि बँदेल देखिएको भन्ने सुनिएको थिएन,’ उनले भने,‘गाउँले सबैलाई अब हरायो होला भन्ने लागिरहेको थियो ।’


‘प्रकृतिका साथीहरू’ संस्थाले वन्यजन्तु अन्सन्धानकालागि राखेको क्यामेरा ट्र्यापिङमा जंगली बँदेलको तस्बिर कैद भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको अनुमतिमा सञ्चालित सो क्यामेरा ट्र्यापिङको नेतृत्व ‘प्रकृतिका साथीहरू’ संस्थाबाट यादव घिमिरे, विकास घिमिरे, सुमन सापकोटा र राजु आचार्यसहितले गरेका थिए ।

Advertisement


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय सिक्लेसका प्रमुख उत्सव न्यौपानेले जंगली बँदेल भेटिनु निकै खुसीको समाचार भएको बताए । लोप भएको अनुमान गरिएको बँदेल पुन देखिएकाले अब यसलाई संरक्षण गर्न र लोप हुने अवस्था आउन नदिन आयोजना र स्थानीय समुदायको पहलमा थप प्रभावकारी संरक्षणका कार्यक्रम ल्याएर अघि बढ्ने उनले सुनाए ।


वरिष्ठ वन्यजन्तुविज्ञ प्राध्यापक करणबहादुर शाहले बँदेल अन्नपूर्ण संरक्षण क्षेत्रकै कुनै भागमा सानो संख्यामा भएकाले लामो सयमसम्म नदेखिएको हुनसक्ने बताए । ‘यस क्षेत्रमा सिकार निकै घट्यो र समुदायले संरक्षण राम्रोसँग ग¥यो । सोही कारणले नजिकका सामुदायिक वन र अन्य क्षेत्रबाट यो क्षेत्रमा आउन थालेको हुन सक्छ,’ उनले भने ।

Advertisement


२ दशकदेखि सो क्षेत्रमा अनुसन्धान र संरक्षणमा सहभागी अनुसन्धानकर्मी यादव घिमिरे वन कुकुरको मुख्य आहारामा बँदेल पनि पर्छ । बँदेल वर्षमा २ चोटि ब्याउँछ ।बँदुल भेटिनु कुकुरको खाना सुनिश्चित हुनु भएको घिमिरे बताउँछन् । ‘यो दुईमध्ये कुनै एकको संख्यामात्र तलमाथि प¥यो भने स्थानीय समुदायमा द्वन्द्व निम्तन्छ,’ उनले भने,‘केही वर्षदेखि यो क्षेत्रलाई वन कुकुरले लिन खोज्नु र भर्खर बँदेल पनि देखिनुले, मांसाहारी जीवहरूका लागि प्रशस्त खाना उपलब्ध छ भन्ने प्रस्ट देखिन्छ ।’रतुवा, घोरल, थार, बाँदर, लंगुरको पनि राम्रै उपस्थिति थियो । बँदेलको माध्यमबाट आहारा थप हुँदा, वनका हिंस्रक जीवहरू गाउँतिर आउने सम्भावना न्यून हुन्छ ।


अनुसन्धानकर्मी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमका संरक्षण अधिकृत ऋषि बरालले बँदेल र वन कुकुर जस्ता जीवहरूकोसंरक्षण महत्वपूर्ण हुने बताए ।

तपाईको प्रतिक्रिया