क्युबा २ वर्षमाथिका बच्चालाई खोप लगाउने पहिलो देश

समाधान संवाददाता २०७८ भदौ २५ गते १२:२४

रोयटर्स
काठमाडौं- दुई वर्षमाथि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने क्युबा विश्वको पहिलो देश बनेको छ । क्युबा सरकारले सोमबारदेखि २ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई स्वदेशमै विकसित खोप लगाउन सुरु गरेको हो । बालबालिकालाई लगाएको ‘अब्डाला’ र ‘सोबर्ना’ नामक यी खोपहरु विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त भने होइनन् ।
१ करोड २० लाख जनसंख्या भएको कम्युनिस्ट टापु यो देशले स्कुलहरु पुनः सञ्चालन हुनुभन्दाअघि देशका सम्पूर्ण बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण क्युबाका विद्यालयहरु सन् २०२० को मार्चदेखि बन्द अवस्थामा छन् ।
यहाँको नयाँ शैक्षिकसत्र सोमबारदेखि सुरु भएको छ। तर क्युबाका अधिकांश जनतामा इन्टरनेटको पहुँच नभएका कारण बालबालिका टेलिभिजन कार्यक्रम हेरेर घरबाटै पढिरहेका छन् ।
क्युबाले गत शुक्रबारदेखि १२ वर्ष र १२ भन्दामाथि उमेरका बालबालिकाहरुलाई खोप लगाउन सुरु गरेको थियो । यो अभियानलाई निरन्तरता दिँदै सोमबारदेखि केन्द्रीय प्रान्त सिएनफुगोसका २ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउन सुरु गरिएको हो ।
विश्वका अन्य देशहरुले भने १२ वर्ष उमेरमाथिका बालबालिका खोप लगाइरहेका छन् । केहीले भने कम उमेरका बालबालिकामा पनि खोपको परीक्षण गरिरहेका छन् । चीन, यूएई र भेनेजुयला जस्ता देशहरुले कम उमेरका बालबालिकालाई खोप लगाउने योजना सार्वजनिक गरिसकेका छन् । तर यी सबै देशलाई उछिन्दै कम उमेरका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने क्युबा विश्वको पहिलो देश बनेको छ ।
यसैबीच चिलीले पनि ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई चीनको सिनोभ्याक भ्याक्सिन लगाउन अनुमति प्रदान गरेको छ । क्युबाले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन लेटिन अमेरिकाको पहिलो भ्याक्सिन हो । तर अन्तर्राष्ट्रियस्तरमा यो भ्याक्सिनको कुनै पनि वैज्ञानिक समीक्षा भने भएको छैन ।
क्युबा सरकारले सबै बालबालिकालाई खोप लगाइसकेपछि अक्टोबर र नोभेम्बरदेखि विस्तारै विद्यालयहरु पुनः सुचारु गरिने घोषणा गरेको छ । विद्यालयहरु बन्द गर्दा दीर्घकालीन खर्च धेरै हुने भन्दै युनिसेफले विश्वभरका देशहरुलाई विद्यालय पुनः सुचारु गर्न आग्रह गरेको छ ।
क्युबामा पछिल्ला केही महिनादेखि कोरोना संक्रमणमा वृद्धि भएको छ। जसले गर्दा यहाँको स्वास्थ्य प्रणालीमा दबाब परेको छ । कोरोना संक्रमणबाट क्युबामा हालसम्म ५ हजार ७०० जनाको मृत्यु भइसकेको छ। यीमध्ये करिब आधाजतिको मृत्यु गत महिनामात्रै भएको थियो ।

तपाईको प्रतिक्रिया