दुःख भुलाउने हिजोको तीज

समाधान संवाददाता २०७८ भदौ २५ गते १२:३१
Women sing and dance at Pashupatinath Temple during the Teej festival in Kathmandu September 8, 2013. The three-day festival, commemorating the union of Goddess Parvati and Lord Shiva, involves sumptuous feasts and rigid fasting. Hindu women pray for marital bliss, the well-being of their spouses and children, and the purification of their own bodies and souls during this period of religious fasting. REUTERS/Navesh Chitrakar (NEPALS - Tags: RELIGION SOCIETY) ORG XMIT: NEP01


जमुना वर्षा शर्मा
पोखरा – ‘ओहो ! तीज आउनुभन्दा महिना दिन अघिदेखि माइत जाने हुटहुटी हुन्थ्यो । माइतीबाट लिन को आउनुहोला भनेर मनमा बेग्लै उत्साह हुन्थ्यो । घरको काम पनि कति छिटो–छिटो गरिन्थ्यो त्यति बेला’, पोखरा ६ की ७३ वर्षीया जसोदा पराजुली सम्झिन्छिन् । पराजुली ११ वर्षको उमेरमा ४५ वर्षका पुरुषसँग विवाह भयो ।


उनको उमेर २५ वर्ष हुँदै श्रीमान्को निधन भयो । उतिबेला उमेरभन्दा पनि सम्पत्ति र इज्जत हेरेर विवाह गर्ने चलन थियो । उनको माइती स्याङ्जा सेतीखोला । ७दिदीबहिनी, २ दाजुभाइमध्ये साइली पराजुली थप्छिन्, ‘धेरै दिदीबहिनी थियौँ, दाजुभाइ विदेश थिए, बाबाले लिन आउन सबैलाई भ्याउनु हुँदैनथ्यो अनि मान्छे खोजेर कृष्णाष्टमीदेखि पालैपालै सबै लिन पठाउनुहुन्थ्यो । फेरि उबेला तीजमा लिन नआई माइत जाने चलन पनि थिएन ।’


दरमा तामा गाभा, घिरौँला, चिचिन्डा काँक्राको अचार हुने उनी बताउँछिन् ।‘आरीमा चामल भिजाएर, कसौडीमा घिउ राखेर चामल ओइरिएर फरक्क–फरक्क भुटेर छोप्दै पकाउँदै गरी तयार पारेको भातको स्वाद आजभोलि कहाँ पाउनु ?’, उनले भनिन् । त्यसरी पकाएको खानेकुरा पिँढीमा सबै जम्मा भएर खाँदै नाच्दै गरेको झझल्को उनलाई छँदै छ । ‘रातिको १२ बजेसम्म पनि दर भनेर खीर खाइन्थ्यो र भोलिपल्ट हरितालिका पूजा गर्ने भएकाले पूरा निराहार बसिन्थ्यो ।’

Advertisement


व्रतको भोलिपल्ट बिहान पार्वतीको पूजा गरेर हलोले जोतेको खाने भनेर एक छाक चोखो खान खाने चलन थियो । खोला, पँधेरामा बिहानै पञ्चमी स्नान गरेर पूजा गर्दाका बिर्सन नसक्ने क्षण पनि उहाँसँग छन् । उनी भन्छिन्, ‘छोरीको कर्म यस्तै हो भन्दै मन बुझाउँदै नाचगान गथ्र्याँै, दुःख भुल्थ्याँै ।’ उहाँले अहिलेजस्तो आमा औँसी, बा औँसी भन्ने त्यस समयमा चलन नभएको सुनाइन् ।

Advertisement

त्यस समयमा खोलामा पुल नहुँदा, यातायातको सुविधा नहुँदा, खोला तरेर आउनुपर्दा र लगातार पर्ने झरीले मन अमिलो बनाउने गरेका अनुभव पनि छन् । पञ्चमीको भोलिपल्ट माइतबाट घर आउँदा कोसेली लिएर आउनुपथ्र्यो, कुराउनी र रोटी बोकेर सबैलाई दिँदै ढोग्नुपर्ने चलन थियो । विवाहपछि लेकसाइडवासी बनेकी पराजुली उ बेलाको गीत सम्झिन्छिन्

झिनुवा खाजा दुनामा राखी, ढिकुर चरीले खाला भनेर
तालपारिको पाइमा दिनुभयो बाबा, बैदामे तालले लाला भनेर
ढलाकी आमे कतले माछा, सुलुक्क आउने चुचे बाम
बैदामे तालको ढलफलाउँदा ङुङ्गा, ढलक्कै ढल्के मोरिजाम


बागलुङ नगरापालिका ३ की ६५ वर्षीया बालकुमारी पौडेल तत्कालीन समयमा सानै उमेरमा विवाह हुने र माइतीसँग भेट हुने पर्वको रूपमा तीज महत्वपूर्ण चाड भएको बताउँछिन् । सानैमा आमाबुवाको ममताबाट टाढिनुपर्दा र दाजु लिन आउँदा दाजुको बुइँ चढेर माइत आएका क्षण अहिले पनि उनलाई झल्झली याद आउँछ । ‘म आफू सानो हुँदा मीठो खाने पर्वको रूपमा र उमेर बढ्दै जाँदा दुःख बिसाउने पर्वको रूपमा बुझ्न थालेँ, कति तीजमा माइत जान पाइएन सासूले चाम्रे पकाएर खुवाएको याद छ ।’ खुला चौरमा रातो पहिरन लगाएर नाच्ने उ बेलाको भाका उनले सुनाइन्


शिर लाउने शिरफूल कालिकालाई चढाउँला
रक्षे गर कालिका तिम्रो सेवा हाम्ले गराउँला
बाबाजिका दैलामुनि गुर्दौली फूल फुल्यो
टिपौँ केरे बरिलै सुनको थालीमा
धर्मकर्म गरदियौँ त स्वर्ग लोक तर्दियौ
भूल्यौ केरे संसार मयाजालैमा


तनुहँको ढोरफिर्दिकी जमुना भुजेलेको पनि १७ वर्षको उमेरमा पोखरा ६ गौरीघाटका भीमसेन भुजेलसँग विवाह भयो । अहिले ५७ वर्षीया भुजेल आफ्नो पालाको तीजको रौनक र महत्व बेग्लै भएको सुनाउछिन् । ‘तीजको बेला काम गर्दा कत्ति पनि अल्छि लाग्दैनथ्यो । जिन्दगी बिताउने घरभन्दा २ दिन जाने माइती घर कति प्यारो लाग्थ्यो’, भुजेल भन्छिन्, ‘माइत जाने भनेपछि मन त्यसै फुरुक्क हुन्थ्यो, सगरमाथा चढेजस्तै खुसी मिल्थ्यो ।’


आँगनमा दुःख, वेदनाको गीत गाउँदै रमाइलो गर्दाका पल उनलाई निकै रमाइलो लग्छ । ‘आमाले घरमा दुःख गरेका छोरीहरू, चिसो लागेको हुन्छ भन्दै, पाखुराबाट घिउ चुहिने गरी खाजा पकाएर खुवाउनुहुन्थ्यो । साथीसंगी जम्मा हुन्थ्यौँ, नाच्थ्याँै, दुःखसुखका कुरा साटासाट गथ्र्यौँ ।’


तत्कालीन समयमा सासू, ससुरा, नन्द, अमाजु, श्रीमान्ले गर्ने व्यवहारलाई गीतको माध्यमबाट पोख्ने चलन थियो । यससँगै देशको राजनीतिक अवस्था, हत्या, हिंसा, अपराधका घटनालाई पनि गीतको माध्यमबाट प्रस्तुत गर्ने गरिन्थ्यो ।
क को अक्षर नचिन्नेले मन्त्रीको सिट खाए, यिनै अत्याचारीले जनता पिटाए
हेटौँडा मान्छे मारे गाड्न लगे चितवन, कठै तिनले पाएनन् जीवन बिताउन ।

त्यो बेला विभिन्न ठाउँका तीज गीत गाएर रातो अबिर र पुरस्कार पाएको पल पनि उनी सम्झिन्छिन् ।उनी थप्छिन्, ‘अहिले त्यस्तो समय छैन, दर पनि टिकट काटेर पार्टी प्यालेसमा मनाउन थालिएको छ, तीजका गीत पनि सुन्नै नसकिने आउन थाले ।’

२०४५ देखि निरन्तर लोकगीत संगीतको संरक्षणमा सक्रियलोकगायिका हरिदेवी कोइराला तत्कालीन समयमा महिलाले घर, परिवारबाट भोग्नुपरेका दुःखपीडालाई माइतीको आँगनमा पुगेर गीतको माध्यमबाट पोख्ने गरेको बताउँछिन् । त्यो बेला सञ्चारमा पहुँच कम हुँदा तीजका गीतले सन्देश बाहकको काम गर्ने, सामाजिक विकृति र विसंगति, राजनीतिक अवस्थालाई पनि तीज गीतबाट प्रस्तुत गर्ने चलन रहेको उनी बताउँछिन् । पछिल्लो समय गीत संगीतमा केही फेरबदल आए पनि पर्व गीतको मौलिकतामा रहेर निस्केका धेरै गीत ओझेलमा परेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।

अधिकारकर्मी विना सिलवाल परिवर्तित समयले तीजको महत्व र महिमामा केही फेरबदल आए पनि यसलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वको रूपमा मनाउनुपर्ने विचार राख्छिन् ।‘हिजो स्रोत साधन र प्रविधिको अभावमा एउटा महत्व बोकेर तीज पर्व मनाइन्थ्यो । अब अहिले स्रोत, साधन र प्रविधिले धेरैलाई नजिक बनाएको छ । यसका सकारात्मक कुरालाई अवलम्बन गर्दै र महिलामाथिको विभेद र हिंसालाई प्रश्रय दिने कुरालाई हटाउँदै जानुपर्छ,’ उनले भनिन् ।


यो पर्वको सुरुआत हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेपछि उनको व्रत पूर्ण भएर महादेव श्रीमान् पाएको किंवदन्तीसँग जोडिन्छ । भाद्र शुक्ला तृतीयाका दिन भगवान शिवको आराधाना गरी नाचगान गरेर यो पर्व मनाइन्छ ।

तपाईको प्रतिक्रिया