कांग्रेसको साख फर्काउँछुः पराजुली

समाधान संवाददाता २०७८ भदौ २५ गते २०:४३


समाधान संवाददाता, पोखरा

Advertisement


नेपाली कांग्रेस पोखरा नगर सभापतिमा उम्मेदवारी दिएका गंगाधर पराजुलीले पोखरामा कांग्रेसको गुमेको साख फिर्ता गर्ने बताएका छन् । उनले कांग्रेसले विगतमा गरेको क्रान्ति र आन्दोलनमा योगदान पुर्‍याएका अग्रजहरुको राजनीतिक अभिलेख तयार गर्न पनि आफूले उम्मेदवारी दिएको बताए ।

तल्लो तहका कार्यकर्ताहरुलाई राजनीतिक रुपमा परिचित गर्दै वैचारिक जागरणको अभियान चलाउने आफ्नो उद्देश्य रहेको पराजुलीले शुक्रबार पत्रकारहरुमाझ सुनाए । ‘म कुनै गुटमा छैन, मेरो गुट कांग्रेस हो,’ उनले भने ।

Advertisement

अरु उम्मेदवारहरु यसअघिदेखि जिम्मेवारीमा रहेर गरेका कामको मूल्यांकन कांग्रेसका क्षेत्रीय प्रतिनिधिले गर्ने विश्वास पराजुलीले व्यक्त गरेका छन् । उनीसँग प्रतिस्पर्धामा पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छे र कास्की कांग्रेसको सचिव रहिसकेका पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने लगायत छन् । पराजुलीले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला प्रस्तावक र यसअघि कांग्रेस पोखरा नगर सभापतिमा पराजित विमल कार्की समर्थक राखेर शुक्रबार मनोनय दर्ता गराएका हुन् ।

वडा र महानगर लगायत स्थानीय एवं अन्य सरकारमा रहेकाहरुबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार विकृति विसंगतिहरु विरुद्ध बोल्न र उभिन सक्ने कांग्रेस बनाउने प्रतिबद्धता पनि पराजुलीले व्यक्त गरे । उनले आफू सभापतिमा जिते महानगर समितिको बैठक विभिन्न वडाहरुमा गर्ने पनि बताएका छन् ।

Advertisement

नेपाली कांग्रेसको संगठन तल्लो तहसम्म सुदृढ र संगठित गर्दै क्रियाशील बनाउने, भातृसंस्था र शुभेच्छुक संस्थाहरुको महानगर स्तरीय समिति गठन गरी सबैलाई जागरुक र सक्षम बनाउने, क्रियाशील सदस्यहरुका लागि समायानुकुल वैचारिक प्रशिक्षण आयोजना गर्ने, कार्यकर्तालाई संसदीय प्रणाली, बैठक सञ्चालन सम्बन्धी, संगठन सञ्चालन र नेतृत्व विकास तालिम सञ्चालन गर्ने पराजुलीका प्रतिबद्धता छन् ।

तपाईको प्रतिक्रिया